अस्तब्यस्त बन्दै इञ्जिनियरिङ क्याम्पस, फेरी तालाबन्दी


धरान । तालाबन्दी खुलेको दश दिन नबित्दै धरान ८ स्थित पुर्वाञ्चल इञ्जिनियर क्याम्पसमा फेरी विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसका इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका हुन् । कृर्षि इञ्जिनियरीङ पढाई हुने नेपालको एक मात्र सरकारी क्याम्पस आन्दोलन, तालाबन्दी र गुटबन्दीले अस्तब्यस्त बन्दै गएको भन्दै प्राध्यापकहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
क्याम्युटर तेस्रो बर्ष र इलेक्ट्रीकल पहिलो बर्षका विद्यार्थीहरुले पुस्तकालयमा किताब नभएको, ल्याबमा प्राक्टिकल गर्न नपाएको, कक्षा कोठा नभएको भन्दै नाराबाजीसहित प्रशासनको प्रवेश द्धारमा नै ताला लगाएका छन् । त्यसअघि उनीहरुले क्याम्पस प्रमुख, लाइब्रेरी प्रमुख, विभागीय प्रमुख, शैक्षिक प्रमुखकोसमेत कुर्सी निकालेर परिसरमा जलाएका थिए । टायरसमेत बालेर प्रर्दशन गर्न थालेपछि सशस्त्र प्रहरीको एक टोली क्याम्पसमा प्रवेश गर्यो । सशस्त्र पुगेपछि मध्याह्न केहीबेर क्याम्पस परिसर तनावग्रस्त बन्यो । विद्यार्थीहरुले विरोध जनाउदै नाराबाजी गरेपछि सशस्त्र बाहिरिएको थियो । घटनालगत्तै बसेको बैठकमा प्राध्यापक संघ र कर्मचारी संघले क्याम्पस अनिश्चितकालीन बन्द गर्न म्याण्डेट दिएको थियो । तर, असोज १ गतेदेखि फाइनल परीक्षा शुरु हुने भएकोले प्रशासनले ठोस निर्णय गरेको भने छैन ।
क्याम्पसका शैक्षिक प्रमुख रोहित दंगालले क्याम्पसका विद्यार्थी, प्राध्यापक एवं शिक्षकहरुको गुटबन्दी र स्वार्थले क्याम्पस धरासायी हुदै गएको भन्दै चिन्ता जताए । धरानबासीको अमुल्य सम्पत्ति भएर पनि क्याम्पसको अवस्थाप्रति कसैले चासो नदिएको उनको गुनासो छ । ‘क्याम्पस यो तरिकाले अब चल्नै सक्दैन, तहसनहस हुने अवस्था भइसक्यो’–उनले भने–‘सिस्टम बसाल्न क्याम्पसलाई हरेकरुपमा पुर्नसंरचना नगरी हुदैन ।’
विद्यार्थीहरुका अनुसार धेरै अघिदेखि नै लाइब्रेरीमा पुस्तक र ल्याब चाहियो भन्दै माग गरेपनि विभागीय प्रमुख, क्याम्पस प्रमुखले वास्ता नगरेको आरोप लगाउछन् । ‘लाइब्रेरीमा बुक चाहियो, ल्याब चाहियो भनेर धेरै अघिदेखि भन्यौं, तर हाम्रो माग पुरा नै भएन । टिचर छैन, पढाई पनि हुदैन’–विद्यार्थी योगेश घिमिरेले भने–‘विभागीय प्रमुखलाई भन्दा हुन्छ, हुन्छ भन्यो । क्याम्पस प्रमुखलाई भन्दा मलाई केही थाहै छैन भन्छन् ।’ उनका अनुसार हाल तेस्रो बर्षका विद्यार्थी इलेक्ट्रोनिक एण्ड कम्यपुटरको पहिलो इनटेक(ब्याच) हो । तीन बर्षअघिदेखि यो क्याम्पसले यो शैक्षिक कार्यक्रम शुरु गरेको थियो । पहिलो बर्षदेखि नै विद्यार्थीहरुले धेरै शैक्षिक समस्या र अभाव खेप्नु परेको घिमिरलेको भनाई छ । इलेक्ट्रीकलको भने पहिलो ब्याचका विद्यार्थीहरु हुन् । उनीहरुले कक्षा कोठासमेत नपाउदा भौतारिनुपरेको गुनासो छ ।
विभागीय प्रमुख विनयलाल श्रेष्ठले भुकम्प, राजनीतिक दलहरुको बन्द, हड्तालको कारण नियमित पढाई हुन नसकेको स्वीकार गर्दै फाइनल परीक्षा चाडै आउन लागेकोले विद्यार्थीहरु अत्तालिएर दुःखद घटना हुन पुगेको बताए । विद्यार्थीहरुको माग पुरा गर्न पहल गरिनै रहेको बताउदै उनले विभागको बैठक भईरहेको समयमा नै उक्त घटना हुनपुगेको उनले बताए । ‘माग पुरा गछौं भनेर पहल भइरहेको थियो । विभागको बैठक पनि चलिरहेको थियो । एकाएक यो दुःखद घटना भयो’–उनले भने–‘किताब एक, दुई वटा मात्रै आएको थिएन । ल्याब छ, तर भुकम्प, बन्द हडतालको कारण प्राक्टिकल ढिलाई भएको हो ।’ उनका अनुसार असोजमा फाइनल परीक्षा छ । पढाई नियमित नभएको कारण विद्यार्थीहरुमा मानसिक दबाब परेको र अत्तालिएर घटना गराएको उनको ठम्याई छ ।
विद्यार्थीहरुले पुस्तक नभएको, प्राक्टिकल गर्न नपाएको बताएपनि एक शिक्षकका अनुसार शुक्रबार कम्युटर विभागको प्रोजेक्ट डिफेन्स थियो । विद्यार्थीहरुले आफुले पाएको बिषयको प्रोजेक्ट(प्रस्तुती) गर्न नपरोस् भनेर यो घटना गराएको उनको दाबी छ । ‘उनीहरुले पाएको बिषयको प्रोजेक्ट डिफेन्स गर्नुपर्ने थियो, त्यो काम नगरेकै हुनाले डिफेन्स गर्न नपरोस् भनेर यो घटना गराएको हो’–एक शिक्षकले भने । सहायक क्याम्पस प्रमुख डाकबहादुर खड्काले भने सानो कुरामा विद्यार्थीहरुले ठुलो घटना गराएको बताए । उनका अनुसार विद्यार्थीले किताब नभएको, ल्याब गर्न नपाएको भनेपनि विभागबाट त्यसबारेमा प्रशासनमा जानकारी थिएन । ‘विद्यार्थीहरु विभागलाई जानकारी गराएको भन्छन्, तर विभागले हामीलाई भनेन्, यहाँ ग्याप भएको हुनुपर्छ’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे