क्षमताभन्दा बढी बोलबम तीर्थयात्रु बोकेको जीप सप्तकोशीमा खस्यो


धरान । क्षमताभन्दा बढी तीर्थयात्रु बाकेर चतराबाट बराहक्षेत्र जादै गरेको ल्याण्डरोभर आइतबार सप्तकोशी नदीमा खसेको छ । धरानस्थित पिण्डेश्वर मन्दिर चढाउन कोशी र कोका नदीको संगमस्थलको पवित्र जल लिन हिडेका बोलबम तीर्थयात्री बोकेको को १ ज १३९ नम्बरको जीप आइतबार दिउँसो सप्तकोशीमा खसेको हो ।
जीप नदीमा खसेपनि कोही हताहत भने भएन । दुर्घटनामा १९ जना यात्रु घाइते भए । ल्याण्ड रोभर झोलुङ्गे पुल रहेको स्थान पर्तिर १७ नम्बर भन्ने ठाउँमा सप्तकोशीमा खसेको हो । जीप नदीमा खसे पनि उद्दार गरिएका १९ जना तीथयात्री सबै सकुशल छन् । घाइतेहरु सबैको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बराहक्षेत्रबाट तीर्थयात्री बोकेर फर्कदै गरेको अर्को जीपका यात्रुले घाइतेहरुको उद्दार गरेर धरान ल्याएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी पोष्टका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ । घाइते मध्ये ५ महिला, ३ जना बालक र २ जना बालिका छन् । अधिकांशको टाउको, अनुहार र हातखुट्टामा चोट छ ।
घाइतेहरुका अनुसार उकालोमा तान्न नसकेपछि जीप पछाडि सर्दै भीरबाट नदीमा खसेको थियो । घटना दिउसो करिब साढे चार बजेको हो । कच्ची बाटोबाट जीप करिब डेढ सय मिटर तल नदीमा खसेको थियो । केही यात्रु जीप पछाडि सर्दैगर्दा हाम्फाले भने कोही जीपसँगै नदीमा खसेको घाइते इनरुवा ५ का प्रकाश परियारले बताए । उनका अनुसार जीपमा सबै बोलबम तीर्थयात्री थिए । ती मध्ये अधिकांश सुनसरी जिल्लाकै थिए । ‘बराहक्षेत्र गएर जल भर्ने र राती नै फर्केर धरानको पिण्डेश्वरमा भोली सोमबार जल चढाउने भनेर हिडेका थियौं, हामी ७ जना पुरुष र २ जना बच्चासँगै आएका थियौं । अरु पनि समुह थियो’–सामान्य घाइते मात्र रहेको उनले भने ।
घाइते परियारका अनुसार उनी ड्राइभरसँगै अगाडि थिए । काखमा काकाको नाती थियो । जीप पछाडि सर्नथालेपछि ढोका खोलेर नातीसँगै फालहानेर रुखको हागा समातेर बचेको उनले बताए । उनीसहित घाइतेहरुलाई बराहक्षेत्रबाट तीर्थयात्री बोकेर फर्कदै गरेको अर्को जीपले उद्दार गरेर बीपी प्रतिष्ठानमा ल्याएको हो । ‘हामी बराहक्षेत्रबाट फर्कदै थियो, गाडी भर्खरै खसेको रहेछ, रोकेर उद्दार गर्यौं र ५ जनालाई हामीसँगै ल्यायौं । अरुलाई पनि अरु गाडीबाट त्यसरी नै हालेर ल्याए’–बराहक्षेत्रबाट फर्कदै गरेकी हरिमाया चौधरीले भनिन् ।
दुर्घटनामा परी ५ बर्षीय सुनिल चौधरी र नाम, ठेगाना नखुलेकी महिला गम्भीर छन् । यस्तै, गाडी साहु चतरा ३ का ६० बर्षीय राजकुमार मगर र चालक बराहक्षेत्र ३ का युवराज नेपालको पनि घाइते अवस्थामा प्रतिष्ठानमा उपचार भइरहेको छ । यसैगरि, ३४ बर्षीय सन्तोष परियार, १२ बर्षीय साई परियार, १७ बर्षीय मनु खत्वे, ६० बर्षीय राजकुमार महतो, २० बर्षीय कुश्मी राजवंशी, ८ बर्षीय मोहन परियार, २२ बर्षीय विकी परियार, २६ बर्षीय सरस्वती सरदार, ३० बर्षीय धनप्रसाद राई, १८ बर्षीय विन्देश्वर शर्मा, १९ बर्षीय रामअवतार ठाकुर, १७ बर्षीय सन्दीपा बिक, १७ बर्षीय सागर परियार, १० बर्षीय मनिषा राईको उपचार भइरहेको छ ।
गाडी मालिक मगरले १५ जना मात्रै यात्रु भनेपनि संख्या यकिन भएको छैन । करिब दर्जन क्षमताको सिटमा चतरा बराहक्षेत्र सडक खण्डमा डेढ दर्जनसम्म यात्रु हालेर जीप गुड्ने गर्छन् । नियमनकारी निकाय ट्राफिक प्रहरीको उपस्थिति नहुदा धरान चतरा र चतरादेखि बराहक्षेत्रसम्मको रुटमा हुट माथिसमेत यात्रु हालेर जीप गुड्छन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे