तोडफोड र आगजनी गर्नेबाट नै क्षतिपुर्ति तिराउने


धरान । तीनकुनेस्थित पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पछिल्लो दुई साताभित्र तोडफोड र आगजनीबाट भएको क्षतिपुर्ति आन्दोलनकारी विद्यार्थीहरुबाट गराउने निर्णय गरेको छ । शुक्रबारको घटनापछि शिक्षक, कर्मचारी र क्याम्पस प्रशासनको आकस्मिक बैठकले तोडफोड र आगजनी गर्नेहरुबाट नै क्षतिपुर्ति गराउने निर्णय गरेको हो ।
गएको शुक्रबार क्याम्पसको इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले विभिन्न प्रशासनिक प्रमुखहरुको कुर्सी जलाउनुका साथै प्रशासनमा तालाबन्दी गरेका थिए । आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख, लाइब्रेरी प्रमुख, विभागीय प्रमुख र शैक्षिक प्रमुखकोसमेत कुर्सी निकालेर जलाएका थिए । क्याम्पस प्रमुख जितेन्द्र चौधरीले आगजनी र तोडफोडको घटनाले शैक्षिक वातावरण खलबलिएकोले त्यसलाई निरुत्साहित गर्न प्राध्यापक संघ, कर्मचारीहरुसँग छलफल गरेर नै यस्तो निर्णय गरेको बताए । ‘यो निर्णय क्याम्पस प्रशासनको मात्रै होइन, प्राध्यापक संघ, शिक्षक र कर्मचारीहरु सबैसँग छलफल गरेर लिइएको हो’–प्रमुख चौधरीले भने–‘भविष्यमा पनि यस्ता घटना नदोहोरियोस् भन्ने चाहन्छौं ।’
प्रमुख चौधरीका अनुसार प्रशासनको ताला खुलेलगत्तै एउटा समिति गठन गरेर क्षतिको विवरण संकलन गरिनेछ र आगजनी, तोडफोडमा संलग्नहरुबाटै क्षतिपुर्ति गराइनेछ । यसैगरि, यस्तो घटना र वातावरण भविष्यमा नहोस् भनेर सम्पुर्ण पक्षलाई सचेत गराउने पनि निर्णय गरेको  छ । सचेत गर्दा गर्दै पनि गतिविधि दोहोरिएमा क्याम्पस प्रशासनले कडा निर्णय लिनबाध्य हुने पनि जनाएको छ । ‘विद्यार्थीको भविष्य नबिग्रियोस भनेर नै अप्रिय खालको निर्णय गरेका छैनौं, हामीले अभिभावककोरुपमा भुमिका गरिरहेका छौं । तर, घटना दोहोरिरहेमा कडा निर्णय पनि लिनबाध्य हुनेछौं’–उनले भने ।
पुस्तकालयमा किताब नभएको, ल्याबमा प्राक्टिकल गर्न नपाएको, कक्षा कोठा नभएकोलगायत गुनासो गर्दै क्याम्युटर तेस्रो बर्ष र इलेक्ट्रीकल पहिलो बर्षका विद्यार्थीहरुको शुक्रबार कुर्सी जलाउनुका साथै क्याम्पस प्रशासनको मुख्य प्रवेशद्धारमा नै तालाबन्दी गरेका थिए । त्यसअघि, साउन ३० गते पनि शिक्षकको लापरवाहीले बिइ सिभिल इञ्जिनियरिङ तेस्रो र चौथो बर्षको परीक्षाफल प्रकाशित हुन ढिलाई भएको भन्दै क्याम्पसमा तोडफोड र आगजनी भएको थियो । आन्दोलित विद्यार्थीहरु भने प्रशासनले समयमै शैक्षिक मागको सुनुवाई नगरेपछि घटना भएको भन्दै अहिले विद्यार्थीलाई मात्रै दोष लगाउन नहुने बताउछन् । ‘हाम्रो शैक्षिक मागलाई समयमै सुनुवाई गरेको भए यस्तो घटना हुदैन थियो । दोषी हो भने प्रशासन र विद्यार्थी दुवै हो’–विद्यार्थी योगेश घिमिरेले भने–‘यस्तो घटना नहोस् भनेर पछिको घटनामा क्षतिपुर्ति भराउने निर्णय हो भने ठिकै हो, हामी पनि सहमति गरेर जान तयार छौं । तर, यो घटनाको पनि क्षतिपुर्ति गराउने कुरा हामी मान्दैनौं ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे