संग्रहालयमा लिम्बुवानको इतिहास(फोटोफिचर)
धरान । वि.स.१८३१ साउनमा तत्कालीन शाह र लिम्बु शासकबीच सम्झौता हुनुअघिसम्म अरुण कोशी पुर्व स्वतन्त्र राज्य थियो । यसको प्रमाण लालमोहर भएको इतिहासका जानकारहरु बताउछन् । त्यही ऐतिहासिकताको आधारमा संघीय नेपालमा पुर्वका ९ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने आवाज राजनैतिक एवं सामाजिक संघसंगठनहरुले उठाएका हुन् । लिम्बुवानको राजनीतिलाई उठाउने आधार बनेको लालमोहर कस्तो होला ? सबैलाई चासो छ । तर, इतिहासका खोज एवं अनुसन्धानकर्ताहरुबाहेक अन्यले लालमोहर प्रत्यक्ष हेर्न र पढ्न पाएका छैनन् ।
छथरे समाजले शनिबारदेखि धरान १५ स्थित आफ्नै कार्यालयमा सञ्चालनमा ल्याएको संग्रहालयले भने ती लालमोहरलाई सर्वसाधारणले पनि अध्ययन गर्न सक्ने बनाइदिएको छ । छथरे समाजले छथर थुमबाट लोप हुदै गएको ऐतिहासिक एवं मौलिक सामग्रीहरुको संरक्षण गर्न ‘सानबहादुर कुमति पारघरी खजुम संग्रहालय’ स्थापना गरेको हो । समाजको १३ औं साधारणसभाको अवसरमा शनिबार उक्त संग्रहालयको उद्घाटन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाम्देनले रिबन काटेर गरेका थिए ।
समाजका वरिष्ठ सल्लाहकार एवं पुर्वगोर्खा मेजर झप्तमान खजुम पारघरी लिम्बुले १५ लाख रुपैयामा आफ्ना आमा बुबाको स्मृतिमा संग्रहालय निर्माण गरिदिएका हुन् । संग्रहालयलाई आवश्यक ऐतिहासिक, पुरात्तात्विक एवं मौलिक सामग्रीहरु भने मुन्धुमविद भरत तुङ्घङले प्रदान गरेका हुन् । उनका अनुसार आफ्ना १० औं पुस्ता अघिका पुर्खा लोक्सु राय(वि.स.१८४२) देखिका लालमोहर र छथर लिम्बुवानका ऐतिहासिक सामाग्रीहरु क्रमशः पुस्ताहस्तान्तरण हुदै उनको साथमा थियो । संग्रहालयमा शाह र लिम्बु राजाबीचको लालमोहर मात्रै होइन, वि.स.१७१९ मा विजयपुरका हरिशचन्द्र सेन बृष सेनको श्याम मोहर पनि छ । उनी विजयपुरको पहिलो सेनवंशी राजा मानिन्छ ।
यसैगरि, वंगालका सुल्तान घियासउद्दीन वलवनको ई.स.१२६४(ए.एच.६६४) को चादीको सिक्का, दानुज मर्दानाको ई.स.१३२१(ए.एच.७२१) को सिक्का, सन् १५५० को दिल्ली वादशाह शेरशाह सुरीको सिक्का पनि छन् । यी सिक्का भेटिनुले तत्कालीन समयमा लिम्बुवानमा मुगल पैसा चलनचल्तीमा रहेको अनुमान गर्न सकिने तुङघङ बताउछन् । संग्रहालयमा लालमोहरमा उल्लेख भएका खुडा, बन्दुक, धनु, पटारी र पर्साबाहेकका पनि विभिन्न मौलिक ऐतिहासिक हातहतियारहरु संग्रहित छन् । राष्ट्रिय संग्रहालयमा पनि नभएको लिम्बुको मौलिक हतियार चेप्सा यी देख्न पाइन्छ । सम्झौता हुदा गोर्खा राजाले दिएको एकपटी धार र टाउको ठुलो भएर नुहेको खुडा पनि छ । उहिल्यै सुब्बाले खाने हुक्का, गैडाको छालाबाट बनेको ढाल, गौरीगाईको सिंह, विभिन्न गरगहनाहरु पनि छन् । ‘लिम्बुहरुले आफै धागो कात्ने र तानबाट कपडा पनि बुन्थे । त्यही तान, चर्खा र अैटो पनि छन् । संग्रहालयले छथरसँगै समग्र लिम्बुवानको इतिहास अध्ययन थाले हुन्छ’–तुङघङले भने । सय बर्ष नाघेका सामानहरु पुरात्तात्विक महत्वका मानिन्छ ।
सरकारीस्तरबाट धनकुटामा क्षेत्रीय संग्रहालय छ । तर, सामाजिकस्तरमा स्थापना हुन लागेको यो पहिलो संग्रहालय हो । चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाम्देनले संग्रहालयलाई साँस्कृतिक पहिचानकोरुपमा व्याख्या गरे । राज्य पुर्नसंरचनाको आधारमा ऐतिहासिकता, साँस्कृतिक पहिचानालाई पनि मानिएकोले संग्रहालयले लिम्बुवानको साँस्कृतिक पहिचानलाई थप संस्थागत र स्थापित गराउन सहयोग पुगेको उनको भनाई छ । ‘लिम्बुवानमा उहिल्यै के थियो ? लिम्बुवान राज्य कस्तो थियो भनेर आम जनतालाई बुझाउनेछ । पहिचानको आन्दोलनलाई थप उर्जा पनि दिनेछ’–उनले भने । लिम्बुवान इतिहासका अनुसन्धाता कमल तिगेलाका अनुसार संग्रहित भएको लालमोहर, ऐतिहासिक तथा पुरात्तात्विक सामाग्रीहरुले लिम्बु जाति र लिम्बुवानको आफ्नो छुटै इतिहास भएको दाबीलाई सार्वजनिकरुपमा पुष्टि गर्ने बताए । ‘लालमोहर र हातहतियार,अन्य सामग्रीहरुले लिम्बुहरु शासन सत्ताको सञ्चालक थिए है भन्ने पुष्टि गर्छ’–उनले भने ।
लिम्बुहरुलाई सुब्बा–सुभांगी भन्ने गरिन्थ्यो । तिगेलका अनुसार सुब्बा शब्द अरबी भाषाबाट आएको हो । सुब्बा पद हो भने सुभांगी प्रचलन हो । मुगल सम्राज्यले चलाएको प्रशासनिक संरचनाको यो अंश भएको उनी बताउछन् । यसको अर्थ प्रान्तीय अथवा प्रदेशको प्रमुख भन्ने हुन्थ्यो । जसलाई कर संकलन गर्ने, न्यायिक प्रशासनिक काम सञ्चालन गर्ने जिम्मेवारी दिइएको हुन्थ्यो । शाहहरुले पनि यो संरचनालाई निरन्तरता दिए । तर, विस्तारै विकृत्तिकोरुपमा फैलिएको तिगेलाको भनाई छ । ‘शाह र राणाकालमामा सुब्बाको संख्या बढ्दै गयो र ८ हजारसम्म पुग्यो । यो विकृत्तिकोरुपमा बढ्यो । कति सम्मभने १० घर बराबर एक सुब्बा पनि भए’–तिगेलाले भने–‘सुब्बा पद थियो, तर शाहकालमा जुनरुपमा सुब्बाको संख्या बढाउदै लग्यो र प्रचलन भयो । त्यो चाहि सुभांगी हो ।’
समाजका निवर्तमान अध्यक्ष संखबहादुर थोक्लेनका अनुसार ६ महिनासम्म निःशुल्क अवलोकन गर्न सकिनेछ भने त्यसपछि संस्थाले निर्णय गरेर अघि बढ्नेछ । संग्रहालयमा लिम्बुको मात्रै नभएर छ थर क्षेत्रको लोपोन्मुख सामग्रीहरु सबै संकलन गरेर राखिने उनले बताए । उनका अनुसार संग्रहालयले लोपोन्मुख वस्तुहरुको संरक्षण, संर्वद्धनसँगै नयाँ पुस्तालाई ज्ञानको हस्तान्तरणसमेत हुनेछ । छथर थुममा बसोबास गर्नेहरुले ०५८ सालमा संस्था स्थापना गरेका थिए । तेह्रथुम र धनकुटा जिल्लाको विभिन्न २१ वटा गाविस छथर थुममा पर्छ ।
.........................................................
'लिम्बु जातिको अध्ययन थलो'
संखबहादुर थोक्लेन
निवर्तमान अध्यक्ष, छथरे समाज
हाम्रो संस्था पुर्वी पहाडी छथर थुममा बसोबास गर्ने छथरेहरुको साझा संस्था हो, छथरे समाज । ०५८ सालमा स्थापना भएको समाजले धरानमा रहेर धेरै सामाजिक कामहरु गर्दै आइरहेको छ । छथर थुममा रहेको ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेका क्षेत्र तथा पर्यटकीय स्थलहरुको संरक्षण, संवद्र्धन र प्रर्वद्धन गर्न दुई वटा छथर साँस्कृतिक महोत्सव पनि गरिसकेका छौं । एम्बुलेन्स सेवा चलाएका छौं, रक्तदान कार्यक्रम गछौं, स्वास्थ्य शिविर पनि चलाउछौं ।
यसैक्रममा हामीले मौलिक ऐतिहासिकता बोकेका सामग्रीहरु संकलन गरेर सानबहादुर कुमति खजुम पारघरी संग्रहालय सञ्चालन गरेका छौं । यो संग्रहालय पुर्वकै नमुना हुनेछ भन्ने विश्वास छ । यहाँ बिशेष गरी लिम्बु जातिको मौलिकता झल्काउने सामग्रीहरु छन् । यसले आदिबासी जनजाति लिम्बुहरुकोबारेमा अध्ययन गर्ने एउटा नयाँ आयाम थप्ने विश्वास छ । लोपोन्मुख बस्तुहरुको संरक्षण, संर्वद्धन र प्रर्वद्धन मात्रै हुनेछैन, नयाँ पुस्तामा ज्ञानको पुस्तान्तरण पनि हुनेछ । यो संग्रहालयले पर्यटनको आर्कषण बन्नसक्छ । धरानमा घुम्न आउने पर्यटकहरुको लागि यो एउटा आर्कषणको केन्द्रबिन्दु बन्नेछ ।
यहाँ छथर क्षेत्रको लिम्बुसँग सम्बन्धित सामग्रीहरु धेरै छ । तर, त्यस क्षेत्रका अन्य जातजातिको पनि सामग्रीहरु राख्छौं । त्यसैले छ थरको हराउददै गएको, लोप हुदै गएको सामग्रीहरु छन् भने हामीलाई दिनुहोस्, हामी संरक्षण गरेर राखिदिन्छौं । घरमा नष्ट भएर जानसक्छ, हराउन सक्छ । त्यसो भयो भने भावी पुस्ताले ती सामाग्रीहरु देख्नै पाउनेछैनन् ।
Comments
Post a Comment