इञ्जिनियरिङ क्याम्पसमा तोडफोड, आगजनी र तालाबन्दी

धरान,साउन २९ । शिक्षकको लापरवाहीले बिइ सिभिल इञ्जिनियरिङ तेस्रो र चौथो बर्षको परीक्षाफल प्रकाशित हुन ढिलाई भएपछि धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा तोडफोड र आगजनी भएको छ । क्याम्पसका सिभिल चौथो बर्षका विद्यार्थीहरुले शुक्रबार क्याम्पस प्रमुख,सहायक क्याम्पस प्रमुख(शैक्षिक)मा तोडफोड गर्नुका साथै कुर्सी निकालेर क्याम्पस परिसरमा जलाएका छन् । तोडफोड र आगजनीपछि आक्रोशित विद्यार्थीहरुले परीक्षा शाखा, शैक्षिक शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् ।
विद्यार्थीहरुले सिभिल विभाग प्रमुखसँग पटक पटक कुरा राख्दा पनि वेवास्ता गरेर आफुहरुको भविष्यमाथि नै खेलवाड गरेकोले घटना हुनपुगेको आरोप लगाएको छ । विद्यार्थीहरुका अनुसार सिभिल तेस्रो बर्ष प्रथम खण्डको परीक्षाफल अन्य सम्पुर्ण क्याम्पसहरुको प्रकाशित भइसके पनि यहाँको भएको छैन । यस्तै, सिभिल चौथो बर्षको पहिलो खण्डको परीक्षाफल अन्य क्याम्पसहरुको ५ दिन प्रकाशन भएपनि यो क्याम्पसको भने प्रकाशित भएको छैन । इञ्जिनियरिङ अध्ययन संस्थानअन्र्तगत सबै क्याम्पसहरुको परीक्षाफल एकै पटक प्रकाशित हुनेगर्छ । विद्यार्थीहरुले क्याम्पस प्रशासन र सिभिल विभागको लापरवाहीले परीक्षा सकिएको महिनौ बितिसक्दा पनि आन्तरिक एसिस्मेन्टको नम्बर डिन कार्यालयमा नपठाएको कारण परीक्षाफल प्रकाशन हुन ढिलाई भएको भन्दै आक्रोश पोखिरहेका छन् ।
उता, क्याम्पस प्रशासन भने सिभिल विभागअन्र्तगतका बिषयगत शिक्षकहरुले नै एसिस्मेन्टको नम्बर समयमै उपलब्ध नगराउदा ढिलाई भएको जनाएको छ । क्याम्पसको परीक्षा र शैक्षिक शाखाका अनुसार सिभिल विभागको पनि सर्वे र प्रोजेक्ट बिषयको एसिस्मेन्ट नम्बर अझैसम्म पनि प्राप्त भएको छैन । त्यसको मारमा प्रशासन र विद्यार्थीहरु परेको ती शाखाको भनाई छ । ‘शिक्षकले पढाई सकेपछि इन्टरनल एसिस्मेन्ट लिनुपर्ने पनि कर्तव्य हो । त्यसमा विद्यार्थीले के कति नम्बर ल्याए भनेर समयमै परीक्षा शाखामा पनि बुझाउनुपर्छ । त्यसो नगर्दा आजको जस्तै घटना हुन्छ’–परीक्षा शाखा प्रमुख मानध्वज लिम्बुले भने–‘यो सब शिक्षकहरुको गैरजिम्मेवारपनले भएको हो ।’
क्याम्पसका शैक्षिक प्रमुख रोहित दंगालका अनुसार गत चैत १७ देखि बैशाख १९ सम्म चौथो बर्षको परीक्षा थियो । भुकम्पले प्रभावित भएको परीक्षा अगावै फागुन १० गतेदेखि नै सम्बधित विभाग र त्यसअन्र्तगतको बिषयगत शिक्षकहरुलाई एसिस्मेन्टको नम्बर माग गरेपनि समयमा नै प्राप्त भएन । विभागले फाइनल परीक्षा अगावै एसिस्मेन्ट नम्बर बुझाउनुपर्ने हुन्छ । सर्वे र प्रोजेक्ट बिषयको एसिस्मेन्ट नम्बर नै प्राप्त नभएपछि अन्यको परीक्षाफल आउदा यो क्याम्पसको नआएको उनले बताए । ‘समस्या उब्जिएपछि डिन कार्यालयले आइतबार रिजल्ट निकाल्ने भनेको थियो । विद्यार्थीलाई पनि त्यसै भनेर आग्रह गर्यौं तर विद्यार्थीले आजै निकाल्नु पर्यो भन्दै एक्कासी तोडफोड र आगजनी गरे’–शैक्षिक प्रमुख दंगालले भने–‘यस्तो अराजक र असुरक्षित अवस्थामा हामी काम गर्न सक्दैनौं ।’ उनका अनुसार क्याम्पस प्रमुख काठमाण्डौं गएकोको कार्यकक्ष बन्द थियो । तर, विद्यार्थीहरुले ताला फोडेर नै तोडफोड गरी कुर्सी निकालेर जलाए । विद्यार्थी र प्राध्यापक, शिक्षकहरुको गुटबन्दी र स्वार्थले क्याम्पस तहसनहस हुदै गएको भन्दै उनले बचाउन धरानबासी, नागरिक समाजले बिशेष चासो दिनुपर्ने आग्रहसमेत गरे ।
सिभिल तेस्रो बर्षका विद्यार्थी प्रकश खनालका अनुसार विभाग, शिक्षक र प्रशासनको लापरवाहीले हरेक बर्ष नै अन्य क्याम्पसको परीक्षाफल प्रकाशित भइसक्दा पनि यो क्याम्पसको भने प्रकाशन हुदैन । यसले विद्यार्थीलाई ठुलो नोक्सान पुर्याउछ । ‘हाम्रो भविष्यमाथि शिक्षक, क्याम्पस प्रशासनले खेलवाड गरिरहेको छ । एसिस्मेन्टको नम्बर बोर्डमा टास्ने भनेर पटक पटक सहमति भएर पनि कार्यान्वयन नै हुदैन’–उनले भने–‘डिपार्टमेन्टलाई भन्यो भने माक्र्स दिइसकेको भन्छ, शैक्षिक शाखालाई सोध्दा आएकै छैन भन्छ ।’ निमित्त क्याम्पस प्रमुख डाकबहादुर खड्काले केही बिषयगत शिक्षकको कारण परीक्षाफल प्रकाशनमा ढिलाई हुदा घटना हुनपुगेको स्वीकार गरे । एसिस्मेन्ट लिने तालिका प्रशासनले नभई बिषयत शिक्षककै अधिकारमा रहेकोले प्रशासनले केही गर्न नसकेको उनले बताए । ‘बिषयगत टिचरको लापरवाहीले समयमै एसिस्मेन्ट माक्स नदिएको कारण यो दुःखद घटना हुनपुग्यो । एसिस्मेन्टको मिति टिचरकै हातमा भएकोले हामी केही गर्न सक्दैनौं’–निमित्त क्याम्पस प्रमख खड्काले भने–‘प्राध्यपक तहका शिक्षकहरु हुने भएकोले कारबाही पनि हुन सक्दैन ।’ उनका अनुसार एक पटक परीक्षाफल प्रकाशित गर्न डिन तहको बैठक हुनपर्ने भएकोले भन्नुबित्तिकै परीक्षाफल प्रकाशित हुन सक्दैन ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे