दुई वटा यातायात प्रालिबीच कोशी बसको ट्रेडमार्क विवाद


धरान । राजधानी यात्राको लागि भरपर्दो यातायात सेवा मानिएको कोशी बस सेवाको सञ्चालक धरान न्यु कोशी सुपर यातायात प्रालिले वैधानिकरुपमा ट्रेडमार्क पेटेन्ट राइट्स लिएको छ । एउटा कम्पनीले ट्रेडमार्क पाएपछि कोशी बसको नाममा दुई कम्पनीबीच विवाद सृर्जना भएको छ ।
केही समययता दुई वटा कम्पनीले कोशी बस सेवाको नाममा धरान–काठमाण्डौ–धरान रुटमा रात्री र दिवा बस सेवा सञ्चालन गरिरहेको थियो । ती मध्ये धरान न्यु कोशी सुपर यातायात प्रालिले वैधानिकरुपमा न्यु कोशी डिलक्स र न्यु कोशी सुपर टेड्रमार्क लिएको दाबी गरेको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यु कोशी डिलक्स र न्यु कोशी सुपरको टे्रडमार्क प्रयोगको अधिकार आफुसँग मात्रै भएकोले अन्य व्यावसायीहरुले प्रयोग नगर्न पनि आग्रह गरेको छ । प्रालिको नाममा दर्ता भएको नाम र डिजाइन राखि अन्यले यातायात सञ्चालन गर्न नपाउने भएकोले कानुनको उल्लंघन गरेमा कडा कदम चालेर क्षतिपुर्तिसमेत लिने चेतावनीसमेत दिएको छ । धरानबाट न्यु कोशी डिलक्स यातायात प्रालिले पनि न्यु कोशी डिलक्सको नाममा धरान काठमाण्डौं रुटमा बस सेवा सञ्चालन गरिरहेको छ ।
‘दुई वटा कम्पनीले एउटै नाम राखेर यातायात सञ्चालन गदाए उपभोक्तामा भ्रम उत्पन्न हुने, उपभोक्ताहरु ठगिने, उपभोक्ताहरु तानातान हुने कार्यले प्रश्रय पाउछ । यसले यातायात क्षेत्र वदनाम हुने र व्यावसायी धरासायी हुने स्थिति बन्छ’–धरान न्यु कोशी सुपरका अध्यक्ष कुमार वरालले भने–‘न्यु कोशी डिलक्स, न्यु कोशी सुपरको नाम र डिजाइन हामीले मात्रै गर्न पाउने कानुनी अधिकार छ । कानुनको पालना र सम्मान हुनेछ भन्ने आशा पनि लिएका छौं ।’ उनका अनुसार ०६९ चैत ७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा प्रालि दर्ता गरेर चैत १८ गते न्यु कोशी डिलक्स र न्यु कोशी सुपरको ट्रेडमार्क दर्ता गरेको थियो । तर, अर्को न्यु कोशी डिलक्स यातायात प्रालि नामको कम्पनीले आफुहरुको नाममा भएको ट्रेडमार्कको दुरुपयोग गरेर यातायात चलाएपछि कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग मन्त्रालयअन्र्तगतको उद्योग विभागमा उजुरी दिइएको अध्यक्ष वरालले बताए ।
अर्कोतर्फ, न्यु कोशी डिलक्स यातायात प्रालिका अध्यक्ष हिरा उदासले आफुहरुले ०७० जेठ ७ गते नै प्रालि दर्ता गरेको र त्यसको झण्डै ९ महिनापछि मात्रै अर्को कम्पनीले ट्रेडमार्क दर्ता गरेको बताए । ‘हामीले कसैको ट्रेडमार्क प्रयोग गरेकै छैनौं, हाम्रो प्रालिको नाम नै न्यु कोशी डिलक्स हो । हामीले प्रालि दर्ता गरेको ९ महिनापछि त्यही नाममा अरुले ट्रेडमार्क लिएछ । हामीले कसरी उनीहरुको प्रयोग गरेको भयो?’–उनले भने ।
धरान न्यु कोशी सुपर प्रालिले ०७१ कार्तिक ३० मा १९ लाख २० हजार क्षतिपुर्तिसहित उजुरी गरेको थियो । उद्योग विभागले मंसिर ५ गते न्यु कोशी डिलक्स यातायात प्रालिको नाममा न्यु कोशी डिलक्स नामक ट्रेडमार्क प्रयोग गरेर यातायात सञ्चालन नगर्नुभनि आदेश दिएको थियो । उक्त आदेश विरुद्ध न्यु कोशी डिलक्सले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेपछि ०७२ बैशाख ७ गते विभागको आदेश वदर गरेर विभागलाई नै एक महिनाभित्र अन्तिम निर्णय गर्न आदेश दिएको थियो । सोही आदेश वमोजिम विभागले दुवै पक्षको वसह पेशी सुनेर ०७२ असार १० गते धरान न्यु कोशी सुपर यातायात प्रालिको नाममा ट्रेडमार्क दर्ता कायम रहेको निर्णय गर्दै अन्य कम्पनीले न्यु कोशी डिलक्स नाम राखेर यातायात सञ्चालन गर्न नपाउने निर्णयसमेत गरेको थियो ।
‘हामी नयाँ, नौलो र नियमसंगतरुपमा व्यावसाय गर्न खोजिरहेका छौं । कम्पनी ऐनअन्र्तगत कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेर उद्योग विभागबाट ट्रेडमार्क पनि लिएका छौं । हामीले नियमसंगतरुपमा लिएको ट्रेडमार्क अरुले प्रयोग गरेर आमउपभोक्तामा भ्रम छर्नु कसैले पाउदैन’–प्रालिका सञ्चालक विष्णु कोइरालाले भने । उनका अनुसार प्रालिको रुपमा दर्ता गरेर र ट्रेडमार्क लिएर यातायात व्यावसाय सञ्चालन ज्यादै न्युन मात्रै हुने गरेको छ । यसअघि, साझा यातायातले मात्रै टेड्रमार्क लिएको र भर्खर मात्रै मेट्रो यातायातले लिएको उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे