जनतालाई निषेध, बन्दकर्तालाई छुट


धरान । अरुण पुर्वको ९ जिल्लालाई पहिचानसहितको लिम्बुवान स्वायत्त राज्य निर्माण गर्नेबारे यसअघि राज्यसँग भएको सहमतिविपरीत ६ प्रदेशमा सहमति भएको विरोधमा बिहिबार संघीय लिम्बुवान पार्टीले पुर्व बन्द गरेको थियो । बन्द आयोजकले आकस्मिक सवारी साधान र मोटरसाइकल बाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधानलाई सडकमा चल्न पुर्णरुपमा बन्देज लगायो ।
बन्दले बजार, यातायात, शैक्षिक संस्था सबै ठप्प भए । लामो दुरीको यातायातको साधान नचल्दा सर्वसाधारणहरु मर्कामा पर्नु स्वाभाविकै हो । विगतका बन्दमा मोटरसाइकललाई सडकमा निर्वाध चल्न दिइने गरेपछि बिहिबार भने धरानको भानुचौक क्षेत्रमा यसलाई पुर्णरुपमा रोक लगाइयो । बन्दकर्ताहरुले भानुचौकको चारैतर्फको सडकमा डोरी टागेरै सर्वसाधारणको मोटरसाइकलसमेत जान रोकेका थिए । त्यसक्रममा बन्दकर्ता र मोटरसाइकल चालक सर्वसाधारणहरुबीच बेला बेला भनाभनसमेत हुन्थ्यो ।
भानुचौक हुदै गन्तव्य जान नपाएका सर्वसाधारणहरु अर्को सहायक सडक हुदै जान बाध्य हुन्थे । तर, सर्वसाधरणलाई आउजाउमा बन्देज लगाइएको त्यही भानुचौकमा क्षेत्रको सडकमा बन्दकर्ताहरु भने निर्वाधरुपमा मोटरसाइकलमा गुड्थे । यो दृष्य देखेका सर्वसाधारणहरु रिसले मुमुर्रिए पनि तत्कालै बन्दकर्ताप्रति कसैले पनि प्रतिक्रिया जनाउन सकेनन् । ‘उनीहरु(बन्दकर्ता)को मोटरसाइकल चै जान पाउने रे, अरुको चाहि नपाउने रे । यो त अति नै भयो’–बन्दकर्ताले भानुचौकबाट जान नदिएका एक मोटरसाइकल चालक युवाले नागरिकसँग प्रतिक्रिया दिदै भने–‘जसले जे गर्दा पनि हुने भो ।’
उता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इञ्चार्ज भुपेन्द्रसुन्दर लावतीले भने भानुचौक क्षेत्रमा जनतालाई मात्रै नभई नेता, कार्यकर्ताहरु सबैलाई निषेध गरिएको दाबी गरे । ‘हामीलाई पनि बन्देज नै थियो, डोरी टागेको ठाउँबाट बाहिरै मोटरसाइकल राखेर त्यसभित्र हिडेर जान्थ्यौं’–नेता लावतीले भने–‘हामीले त्यसो गरेकै छैनौं, यो आरोप मात्रै हो ।’ उनले अरुण पुर्वका ९ जिल्लालाई लिम्बूवान राज्य बनाउने यसअघि सरकारसँग ०६८ फागुन १८ र चैतमा भएको ५ बुँदे सहमति विपरीत ६ प्रदेशमा चार दलले सहमति गरेको भन्दै विरोध जनाए । अरुण पुर्वको ९ जिल्लालाई लिम्बुवान राज्य घोषणाको माग गर्दै पार्टीले साउन ३१ मा पनि बन्दको आयोजना गरेको उनले बताए । चार दलबीच भएको सहमतिअनुसार पुर्वको १ नम्बर प्रदेशमा लिम्बुवानले दाबी गरेको भन्दा बढी १४ जिल्ला राखिएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे