कोशी ब्यारेजको विकल्पमा चतरामा नयाँ पुल(फोटोफिचर)

धरान । पूर्वी नेपाललाई पश्चिम तथा राजधानीसँग जोड्ने एकमात्र कोशी ब्यारेज(पुल)को विकल्पमा सुनसरीको बराहक्षेत्रस्थित चतरामा बनेको कोशी पुल सोमबारदेखि सञ्चालनमा आएको छ । करिब चार बर्ष समय लगाएर निर्माण सम्पन्न भएको पुल सोमबार प्रधानमन्त्री सुशिल कोइरालाले उद्घाटन गरेपछि पुल विधिवतरुपमा सञ्चालनमा आएको छ ।
 नवनिर्मित पुल सुनसरीको चतराघाट र उदयपुरको मैनामैनीस्थित कोशीमाथि बनेको हो । यो चतरा बजारदेखि करिब ३ किलोमिटर उत्तरमा पर्छ । पुलको लम्बाई २६१.३ मिटर छ । पहिला २६९ मिटर लामो बनाइने भनिएपनि डिजाइन परिवर्तन गरिदा लम्बाई घटेको हो । शुरुमा ७९ करोड २२ लाख रुपैया लागत अनुमान गरिएपनि डिजाइन फेरिदा लागत पनि घटेर ६७ करोडमा निर्माण सकिएको निर्माण कम्पनी सिटिसि कालिका जेभीका प्रोजेक्ट मेनेजर छत्रबहादुर अर्यालले जानकारी दिए ।
पुल सञ्चालनमा आएपनि एक सातासम्म ह्याभी गाडी भने चल्न पाउनेछैन । साना जिप र मोटरसाइकल भने निर्वाध चल्न पाउनेछ । नयाँ अलाइन्मेन्ट गरेर पुलको डिजाइननै परिवर्तन गर्नुपरेपछि पुल तोकिएको समयभन्दा एक बर्ष ढिलो गरि निर्माण सम्पन्न भएको हो । कोशी पुल(चतरा) योजना नोभेम्बर २०११ देखि शुरु हुनुपर्ने भएपनि डिजाइन फेर्नुपर्दा एघार महिना ढिलो गरि मात्र निर्माण शुरु भएको थियो । पुल निर्माण सम्पन्न भएपछि बराहक्षेत्र(चतरा)बासी र उदपपुरका बासिन्दा सबैभन्दा धेरै खुशी छन् । सोमबार पुल उद्घाटनमा उपस्थित हजारौं सर्वसाधारण धुइरिए । सबैमा पुल निर्माण हुदाको खुशी वयान गरिसाध्यै थिएन ।
चतराबासीलाई पुल बनेपछि छ दशकदेखिको कच्ची धरान–चतरा सडक पक्की हुनेमा आशावादी छन् भने उदयपुर(मैनामैनी)बासी सुनसरीको धरान, विराटनगरसँगै पूर्वी जिल्लासँग छोटो दुरीको सम्पर्क हुन पाएकोमा हर्षित छन् । सरकारले चतराघाटमा पुल निर्माणसँगै धरान–चतरा–हेटौडा निस्कने वैकल्पिक मार्ग निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । कुनै समय पुर्वी पहाडको व्यापारीक केन्द्र चतराबजारमा पुनः आर्थिक, व्यापारिक गतिविधि बढ्नेमा पनि स्थानीय आशावादी छन् । ‘पहाडी भेगको सडक सञ्जाल यही पुलमा जोडिन्छ । वीपी राजमार्ग घुर्मी हुदै यहाँसम्म आउछ र मध्यपहाडी लोकमार्ग पनि धनकुटाको आहाले हुदै यही पुलमा जोडिन्छ’–सुनसरी उद्योग वाणिज्य संघ बराहक्षेत्र शाखाका अध्यक्ष रमेश विष्टले भने–‘अब यहाँ ठुला व्यापारी आउनेछन् र चतरा पुनः गुल्जार हुनेछ भन्ने आशा छ ।’ उनका अनुसार उदयपुरका वासिन्दा राम्रो स्वास्थ्य उपचार गराउन धरान, विराटनगर आउनुपर्दा धेरै घुमाउरो बाटोबाट जानुपर्ने बाध्यता पुल बनेपछि हटेको छ ।
०६५ भदौमा कोशी नदीले पूर्वी तटबन्ध भत्काएर दिशा परिवर्तन गर्दा महेन्द्र राजमार्ग पनि बगेपछि पुर्वी नेपालको पश्चिम र राजधानीसँग सम्बद्ध विच्छेद भएको थियो । पूर्वी नेपालका बासिन्दाहरुले भारतीय मार्ग हुदै राजधानी पुग्नुपर्ने बाध्यता भएपछि कोशी ब्यारेजको वैकल्पिक पुल निर्माण गरिनुपर्ने आवाज चर्कोरुपमा उठ्यो । केही समयपछि सरकारले चतराघाटमा फेरीमार्फत यातायात आवागमन सुचारु गरिएको थियो । सडक मर्मत भएपछि पुनः कोशी ब्यारेज हुदै सवारी चलेपनि चुरे भावरलाई जोड्ने वैकल्पिक मार्ग(धरान–चतरा–हेटौडा) को अवधारणा बनेपछि ब्यारेजको विकल्पमा कोशीमा पुल बनेको जानकारहरु बताउछन् । मधेश आन्दोलनको क्रममा महेन्द्र राजमार्ग ठप्प हुदा पनि वैकल्पिक मार्गको आवाज चर्कोरुपमा उठेको थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे