कोशी पुल निर्माणमा ढिलाई, डेढ बर्ष म्याद थप्न प्रस्ताव
धरान । चतराघाटस्थित सप्तकोशी नदीमा निर्माणाधिन पुल तोकिएको समयमा पुरा नहुने भएको छ । पूर्वी नेपाललाई पश्चिम र राजधानीसँग जोड्ने एकमात्र कोशी ब्यारेज(पुल)को विकल्पमा निर्माणाधिन पुल सम्पन्न गर्नुपर्ने समय करिब तीन महिनामात्रै समय बाँकी रहदा काम भने २७ प्रतिशत मात्रै भएको छ ।
योजनाको डेढ बर्षको म्याद थप गर्न प्रस्ताव गरेपनि औपचारिक निर्णय भने भइसकेको छैन । कोशी पुल(चतरा) योजना नोभेम्बर २०११ देखि निर्माण शुरु भएको थियो । तीस महिना अवधि भएको योजनाले मार्च २०१४ भित्र कोशीमा पुल निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेछ । योजनामा नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान छ । ‘३० महिनाको अवधि सकिन लाग्यो, काम २७ प्रतिशत मात्रै भएको छ’–सुपरभिजन कन्सल्टेन्ट केसिसि÷टिएमएस÷इआरएमसि नेपालका अफिस मेनेजर राजेश भट्टले भने–‘त्यसैले योजनाको म्याद थपको प्रस्ताव भइसकेको छ ।’
मेनेजर भट्टका अनुसार काम निरन्तर हुनसक्यो भने मार्च २०१५ मा निर्माण कार्य सकिने अनुमान गरिएको छ । पुलको फाउण्डेशन बलियो बनाउन पूर्वपट्टीको ठाउँ सार्नुपर्दा काममा ढिलाइ भएको भट्टको भनाई छ । ‘ठाउँ सारिदा पनि ढिलाई भयो तर फाउण्डेशनको काम मुख्य हो, यो सकिएपछि त छिटै काम हुन्छ’–भट्टले भने । बर्षायाममा पानीको वहाब बढ्ने हुदा करिब ६ महिना काम गर्न नसकिएको र हिउदमा मात्रै काम हुने भएकोले पनि ढिलाई भएको हो । कोशी पुलकै लागि डिआर ४० मेशिन क्यानाडाबाट ल्याउने क्रममा कलकत्ता बन्दरगाहामा हडताल हुदा पनि निर्माण कार्य ढिलाई भएको हो । ‘६ महिना मात्रै काम हुन्छ, बाढीले बर्खायाममा कामै गर्न दिदैन’–नेपाल सरकारकोतर्फबाट योजना प्रमुख भुवनेश्वर देवले भने–‘क्यानाडाबाट मेशिन ल्याउदा पनि ढिलाई भयो ।’ देवका अनुसार डेढ बर्षको लागि समयसिमा थप गर्न भनिएपनि निर्णय हुन भने बाँकी नै छ । एडिबिले पनि म्याद थप गर्न स्वीकृति दिनुपर्ने भएकोले समय लागेको हो ।
उदयपुर जिल्लाको मैनामनी र सुनसरीको चतराघाटमा कोशीमाथि बनिदै गरेको पुलमा पाँच वटा पिलर रहनेछ । तीमध्ये ३ वटा पिलर बनिसक्न लागेको छ । कोशीमा पानीको सतह घटेकोले डाइभर्सन, कफर ड्याम बनाएर फाउण्डेशनको काम भइरहेकोछ । शुरुमा २६९.५ मिटर लम्बाईको पुल बन्ने भनिएपनि पूर्वतर्फको ठाउँ सारिदा २६१.३ मिटरको मात्रै पुल बन्नेछ । कोशी पुल(चतरा) को कुल लागत ७९ करोड २२ लाख रहेको छ । यसमा नेपाल सरकारको ४० प्रतिशत लगानी छ भने एडिबिको ६० प्रतिशत अनुदान छ । सिटिसिई कालिका कम्पनीले पुल निर्माणको काम गरिरहेको छ ।
०६४ मा कोशी नदीले पूर्वी तटबन्ध भत्काएर दिशा परिवर्तन गर्दा महेन्द्र राजमार्ग पनि बगेर यातायात ठप्प भएको थियो । पूर्वी नेपालका बासिन्दाहरुले भारतीय मार्ग हुदै राजधानी पुग्नुपर्ने भएपछि कोशी ब्यारेजको वैकल्पिक पुल निर्माण गरिनुपर्ने आवाज चर्कोरुपमा उठेको थियो । केही समयपछि सरकारले चतराघाटमा फेरि सञ्चालन गरेर यातायात आवागमन सुचारु गरेको थियो । सडक मर्मत भएपछि पुनः कोशी ब्यारेज हुदै सवारी चलेपनि चुरे भावरलाई जोड्ने वैकल्पिक मार्ग(धरान–चतरा–हेटौडा) को अवधारणा बनेपछि ब्यारेजको विकल्पमा कोशीमा पुल बनाउन थालिएको हो । मधेश आन्दोलनको क्रममा महेन्द्र राजमार्ग ठप्प हुदा पनि वैकल्पिक मार्गको आवाज चर्कोरुपमा उठेको थियो । हाल निर्माण भएको पुल फेरी सञ्चालन भएको स्थानबाट करिब दुई सय मिटर दक्षिणमा पर्छ ।
चतराबासीको आशा जिवितै
चतरा बजारदेखि करिब अढाई सय मिटर उत्तर चतराघाटस्थित सप्तकोशीमा पुल बन्न थालेपछि धरान–चतरा सडक पक्की हुनेमा बराहक्षेत्र(चतरा)बासी आशावादी बनेका छन् ।
कोशी ब्यारेजको विकल्पमा चतराघाटमा पुल निर्माणसँगै सरकारले धरान चतरा हेटौडा निस्कने वैकल्पिक मार्ग निर्माणलाई पनि प्राथमिकतामा राखेपछि चतराबासी बषौंदेखिको अधुरो सपना पुरा हुनेमा आशावादी बनेका हुन् । ‘कोशी पुलबाट वैकल्पिक राजमार्गको बाटो पनि बनाउने सरकारको अवधारणा रहेछ, त्यसैले सबैभन्दा बढी हामी बराहक्षेत्र, चतराबासी खुशी छौं’–पूर्व गाविस अध्यक्ष दलबहादुर पौडेलले भने ।
स्थानीयका अनुसार धरान चतरा सडकखण्डमा ००५ सालदेखि गाडी चल्न थाले पनि अहिलेसम्म यो सडक पक्की भएको छैन । ६ दशक बितिसक्दा पनि धरान–चतराको करिब १४ किलोमिटर कच्ची सडकमा कालोपत्रे नहुदा हिउँदमा धुलो उडाउदै गाडी गुड्छन् भने बर्षायाममा यातायात ठप्प हुन्छ । स्थानीयले पक्की सडक बनाउन पहल गरेपनि आश्वासनबाहेक केही नपाएको बताउछन् । तर, सप्तकोशी नदीमा पुल निर्माणसँगै धरान–चतरा–हेटौडा सडकलाई वैकल्पिक राजमार्ग बनाउने चर्चाले स्थानीय आफ्नो ठाउँको कायापलट हुनेमा आशावादी छन् ।
‘यो पुल बन्दा हाम्रो सडक पनि पक्की हुन्छ, सामाजिक, आर्थिक र विकासमा पनि प्रभाव पर्छ’–उद्योग वाणिज्य संघका चतरा शाखाका अध्यक्ष रमेश बिष्ट भन्छन् । उनका अनुसार कुनै समयमा धनकुटा, भोजपुर, उदयपुर र खोटाङ जिल्लाको प्रमुख व्यापारीक केन्द्र रहेको चतराबजार पुल र बाटोकै कारणले सुनसान बनेको छ । करिब डेढ दशकयता गाउँ गाउँमा सडक र खोला पुल बनेपनि कोशीमा पुल नबन्दा र सडक पक्की नहुदा कुनै समयको चल्तीको चतरा बजार सुक्दै गएको विष्टको भनाई छ । ‘कोशीको पुलले पक्कै पनि चतरा बजारलाई गुल्जार बनाउनेछ’–उनले भने ।
तस्बीर क्याप्सन: सुनसरीको चतराघाट र उदयपुरको मैनामनीमा कोशीलाई डाइभर्सन गरेर बनाइदै गरेको पुल ।
Comments
Post a Comment