लठ्याउने खानेकुरा दिएर वृद्धालाई लुटपाट


 धरान । एउटै गाउँको वासिन्दा भएको भनेर नजिकिएकी अपरिचित युवतीबाट एक वृद्धा लुटिएकी छिन् ।
मोरङको लेटाङमा बसोबास गरिरहेकी ७० बर्षीय वृद्धा डिल्लीमाया लिम्बूको साथबाट ती युवतीले सुनको गरगहना र नगद १७ हजार लुटेर लगेका छन् । अचेत अवस्थामा पथरीमा भेटिएकी वृद्धाको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उपचारपछि उनको होस खुलिसकेको छ । ती युवतीले कोक र डोनोट खान दिएपछि होस गुमेको वृद्धाको भनाई छ । वृद्धाको साथबाट सुनको चुरा, औठी, कण्ठा, ढुंग्रीलगायत करिब ८ तोला सुनका गरगहना, मोवाइल र साथमा भएको नगद फेला नपरेको जेठा छोरा झलकबहादुरले बताए ।
घटना विवरणअनुसार वृद्धा सोमबार सुनसरीको चक्रघटीस्थित छोरीका घरबाट नातिनी सकुनको साथमा धरान आएका थिए । धरानबाट नातिनी धनकुटा जानुपर्ने थियो । वृद्धालाई लिन लेटाङबाट नाति विवेक आएका थिए । मध्यान्ह करिब बाह्र बजेतिर एक युवती आफु पनि लेटाङकै बासिन्दा भएको भन्दै वृद्धासँग नजिकिइन् । सकुन धनकुटा जानुपर्ने भएकोले बजु(वृद्धा)लाई बसपार्कको प्रतिक्षालयमा छोडेर दुवै जना पहाडी रुटमा चल्ने बसको टिकट काउण्टरतर्पm लागे । करिब १० मिनेटपछि विवेक फर्कदा बजु बस स्टेण्डमा भेटिएन ।

‘भाई बजुलाई लिन आइपुगेपछि म धनकुटा जान टिकट काउण्टरतर्फ गयौं, त्यसबेला बजु एक जना दिदीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । चिनजानकै होला भन्ने ठान्यौं’–नातिनी सकुनले भनिन्–‘भाई फर्कदा बजु भेटिएन, मोवइलमा फोन गर्दा पनि उठेन, अरु बेला पनि एक्लै आउजाउ गर्नुहुन्थ्यो, त्यसैले आफै जानु भयो कि भन्ने पनि लाग्यो ।’ वृद्धा एक्कासी हराएपछि प्रहरीमा खबर गरेर खोजी शुरु भयो । करिब साढे ४ घण्टा पनि मोरङको पथरीस्थित हस्पिटलमा होस गुमेको अवस्थामा उपचार भइरहेको भेटियो । आफन्तजन तत्काल पुगेर वृद्धालाई थप उपचारको लागि धरान ल्याए ।
‘शुरुमा नै युवतीले कोक र डोनट खान दिएर लठ्याएको रहेछ, त्यसपछि आमाको होस नै गुमेछ’–छोरा झलकबहादुरले भने–‘नाकको फुली र कानकोबाहेक अरु सबै सुनका गहना, पैसा र मोवाइल लगेछ, कान र नाकको गहना फुकाउदा अरुले देख्ने भएर छोडेको हुनुपर्छ ।’ पीडितका परिवारजनले मंगलबार इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी दिइसकेका छन् । प्रहरीले पनि घटनाबारे बुझने काम भइरहेको जनाएको छ । यसअघि पनि धरानमा दुई जना वृद्धालाई नशालु पदार्थ खुवाएर लठ्याएपछि लुटिएको थियो । ती घटनामा संलग्न पनि पक्राउ पर्न सकेको छैन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे