वनले कार्ययोजना तयार नगर्दा जडिबुटी निकासी ठप्प


धरान । जिल्ला वन कार्यालय सुनसरीले समयमै आफ्नो कार्ययोजना तयार नगर्दा जिल्लाबाट निकासी हुने जडिबुटीजन्य वस्तुहरुको निकासी ठप्प बनेको छ । भारत निकासी हुनुपर्ने तेजपात, अम्रिसो, रिट्ठालगायत वस्तुहरु धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा महिनौंदेखि थुप्रिएको छ ।
निकासी गर्न नपाएपछि व्यापारीहरुले ती वस्तु खरीद गर्न छाडेका छन् । जसले गर्दा गाउँका किसानहरु मर्कामा परेका छन् । जिल्ला वन कार्यालयले कार्ययोजना नबनेको भन्दै राजश्व लिएर छुट पुर्जी नदिदा किसानबाट खरीद गरिएका तेजपात, रिट्ठा सुकेर खेर जानलागेको भन्दै व्यापारीहरु चिन्तित पनि छन् । ‘महिना दिनभन्दा बढी भइसक्यो, जिल्ला वनले छुट पूर्जी दिएको छैन, तेजपात सुकेर जान थालिसक्यो’–चिन्तित हुदै व्यापारी हर्कबहादुर कटवालले भने–‘निकासी गर्न नपाएपछि अहिले त किन्न पनि छाडिसक्यौं, किसानलाई पनि मर्का पर्यो ।’
व्यापारीहरुका अनुसार निकासी गर्न नपाउदा लगानी डुब्ने डरले किसानहरुबाट खरीद गर्न छाडिसकेका छन् । किसानहरुबाट खरीद गर्नै परेपनि ज्यादै सस्तो भाउमा मात्रै किनबेच भइरहेको अर्का व्यापारी ज्ञानबहादुर बस्नेतले बताए । ‘लगानी डुब्ला भनेर खरीद गर्नै छाडेका छौं, किन्नै परेपनि ८, ९ सय पर्ने तेजपातको भाउ घटेर एक भारीको ३, ४ सयमा झरिसक्यो’–बस्नेतले भने । किसान र व्यापारीलाई मर्का परिरहेकोले जडिबुटीजन्य वस्तुको निकासी सहज बनाउनुपर्ने उनीहरुको नेपाल सरकारसँग आग्रह छ ।


कृर्षि उपज बजारस्थलका अनुसार तेजपत्ता, अम्रिसो र रिट्ठा पूर्वी जिल्ला धनकुटाबाट अत्यधिक परिणाममा आउने गर्छ । त्यसबाहेक तेह्रथुम, संखुवासभा, भोजपुर जिल्ला र सुनसरीको विष्णुपादुका, पाँचकन्या गाविसबाट पनि ती बस्तुलाई किसानहरुले बजारस्थलमा बिक्री गर्न ल्याउछन् । यी वस्तुलाई वनपैदावरअन्र्तगत राखिएकोले व्यापारीहरुले जिल्ला वन कार्यालयबाट संकलन इजाजत लिएर खरीद गर्ने गर्छन् । त्यसपछि, नापतौल गरेर वन कार्यालयले राजश्व लिएर छुट पूर्जी दिएपछि मात्रै निकासी हुने प्रक्रिया छ । विभिन्न जिल्लाबाट संकलन भएको रिट्ठा सतप्रतिशत भारत निकासी हुने गर्छ भने तेजपात र अम्रिसो पनि ९० प्रतिशत भारतमा नै निर्यात हुने गरेको बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले बताउछन् । ‘वन पैदावरजन्य भनिएका यी उत्पादनको बजार भारत नै हो, व्यापारीहरुले निकासी गर्न नपाउदा यहाँ जाम भएर बसेको छ’–व्यावस्थापक भटराईले भने–‘सबैभन्दा ठुलो मर्का किसानलाई परेको छ ।’
कृर्षि उपजले कृर्षिजन्य उत्पादन एक रात राखेवापत प्रतिभारी सेवा शुल्कवापत व्यापारीहरुसँग ३ रुपैया लिने गरेको छ । महिनौंदेखि निकासी ठप्प भएर राखिएका ती वस्तुको सेवा शुल्क के गर्ने भनेर बजारस्थल अन्यौलमा छ । तेजपात, अम्रिसोलगायतले गोदाम भरिएकोले अन्य कृर्षिजन्य वस्तु राख्ने ठाउँ छैन । यसबारेमा बुधबार व्यावस्थापक भटराई र बजारस्थलका सञ्चालक समिति अध्यक्ष काजी गिरी जिल्ला वन अधिकृतलाई भटेर समस्याबारे जानकारी गराएपनि समाधान हुन सकेन । ‘कार्ययोजना नबनेसम्म केही गर्न सकिदैन भनेर जवाफ दिए, आफै कार्ययोजना बनाउन ढिलाई गर्ने अनि कुनै विकल्प पनि नदिने यो त अन्याय भयो’–व्यवस्थापक भटराईले भने । उनका अनुसार गत आर्थिक बर्षमा तेजपात २५ सय ३५ मेट्रिक टन, अम्रिसो ४ सय मेट्रिक टन र रिट्ठा एक सय ४० मेट्रिक टन त्यहाँबाट निकासी भएको थियो ।


जिल्ला वन कार्यालयले गत आर्थिक बर्षमा नै आफ्नो पञ्चबर्षीय कार्ययोजना तयार गरेर वन विभागबाट स्वीकृति गराउनु पर्ने भएपनि ढिलाई गरेपनि यो समस्या सृर्जना भएको हो । सामुदायिक वन क्षेत्रबाहेकको राष्ट्रिय वनको व्यवस्थापनको लागि वन कार्यालयले कार्ययोजना तयार गर्न गत बर्ष नै शुरु गरेपनि अहिलेसम्म तयार भएको छैन । जिल्ला वन अधिकृत राजबहादुर राउतका अनुसार कार्ययोजना बनाउने जिम्मा दिएका कर्मचारीको सरुवा भएकोले ढिलाई भएको बताए । ‘फागुनसम्म बनाउने लक्ष्य राखेका छौं, यही कामलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन पनि गरेको छुँ’–राउतले भने । कृर्षिउपज बजारस्थल निर्माणमा महत्वपुर्ण योगदान दिएका पूर्ववडाअध्यक्ष हरिहरप्यारा श्रेष्ठ कृर्षिजन्य वस्तुको टिप्ने, बिक्री हुने र प्रशोधन गरिसक्नुपर्ने निश्चित अवधि हुने भएकोले महिनौंसम्म स्टक रहदा गुणस्तर नाश हुदै जाने भएकोले तत्काल उचित निकास खोजिनुपर्ने बताउछन् । ‘दिर्घकालीन निकास भनेको चाहि यही प्रशोधन युनिट स्थापना गरिनुपर्छ, जसले गर्दा हरेक उत्पादनको बजार भारतमा नै निर्भर हुन नपरोस्’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे