दोस्रो नेवा च्यारिटी ८ के रन आयोजना हुदै


धरान । ‘स्वस्थ्य शरीर, स्वच्छ धरान’ भन्ने नाराका साथ आगामी फागुन १० गते धरानमा दोस्रो नेवा च्यारिटी ८ के रन एण्ड वाक हेल्प दृष्टि हेप्पि होम नामको दौड प्रतियोगिता आयोजना हुने भएको छ । स्वस्थ्य धरान बनाउने उद्देश्यले दुई बर्षअघि स्थापना भएको धरान रन नामक संस्थाको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो ।
संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै भानुचौकबाट शुरु भएर पुनः त्यही टुंगिने दौडमा प्रमुख अतिथिकोरुपमा चर्चित धावक बैकुण्ठ मानन्धर सहभागी हुने जानकारी दिएको छ । संस्थाका अध्यक्ष मनिष तामाङका अनुसार दोस्रो सँस्करणमा प्रथम पुरस्कार राशी बढाएर ३० हजार पुर्याइएको छ भने दोस्रो र तेस्रो हुनेलाई पनि बढाएर २० र १० हजार नगद पुरस्कार दिइनेछ ।  यसैगरि, प्रतियोगितामा सहभागी भेट्रान, कम उमेर समुहका पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई पनि क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार दिइने अध्यक्ष तामाङले बताए ।
‘स्वास्थ्य रहन दौडनुपर्छ भन्ने सन्देश दिन र दौडको महत्व बुझाउनको लागि प्रतियोगिता आयोजना गरिएको हो’–अध्यक्ष तामाङले भने–‘खर्च बचाउन सक्यौं भने महिला दुव्र्यसनीलाई सचेतना गर्ने संस्था दृष्टि नेपाललाई ह्यापि होमको लागि सहयोग गर्नेछौं ।’ उनका अनुसार ८ के रनको पहिलो सँस्करण अपांग साहित्यकार लक्ष्मी राईको सहयोगार्थ भएको थियो । त्यसबाट बचेको रकमले साहित्यकार राईको कृति एकान्तमा सुवासको दोस्रो सँस्करण एक हजार प्रति प्रकाशन गरिदिएको उनले बताए ।


फागुन ५ गतेसम्म दर्ता समय रहने दौडमा एक हजार जना सहभागी हुने आयोजकले अपेक्षा लिएको छ । दौडमा स्थानीयदेखि व्यावसायिक धावकहरु पनि सहभागी हुनेछन् । पहिलो सँस्करणमा ७ सय ५० जना सहभागी थिए । त्यतिबेला ५ बर्षका बालकले पनि ८ किलोमिटरको दौडमा सहभागी हुदै दुरी पुरा गरेका थिए । धरान रनले प्रत्येक शनिबार ३.४ किलोमिटरको दौड आयोजना गराउदै आएको छ । करिब १४ लाख ५ हजार खर्च हुने अनुमान गरिएको दौडको लागि हाल बेलायत निवासी संस्थाका संस्थापक सन्तोष राईले सहयोग जुटाइरहेको आयोजकले जनाएको छ । दर्ता शुल्क वापत धरान रनका सदस्यलाई एक सय पचास मात्रै तिर्नु पर्छ भने अरुलाई दुई सय रुपैया शुल्क लाग्नेछ । सहभागीले एक टिसर्ट पनि पाउनेछन् ।
विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई सहभागिताको लागि समन्वय गर्न एवं पत्राचार गर्न जादा भने सहयोग नपाएको संस्थाका कोषाध्यक्ष लोकबहादुर लिम्बूले असन्तुष्टि व्यक्त गरे । ‘स्वास्थ्य रहन दौडनुपर्ने सन्देशको लागि सहभागिता गराउन आग्रह गर्न गयौं, दौडदा पनि पैसा तिर्नु पर्ने भनेजस्तो गरियो’–उनले भने–‘हामीले नाफा कमाउनको लागि दौड आयोजना गरेका होइनौं, स्वस्थ्य धरान बनाउन हो ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे