पूर्वी नेपालमा सुन्तला उत्पदानमा कमी, भाउ आकासियो

धरान । पोहोरको तुलनामा यसपाली पूर्वी क्षेत्रमा सुन्तलाको उत्पादन कम भएको छ । सिजन बाँकी रहेपनि बजारमा अभाव हुँदा सुन्तलाको भाउ भने आकासिएको छ । व्यापारीहरुका अनुसार यसपाली सिजन सकिनु अघि नै सुन्तलाको भाउ आश्चर्यजनकरुपमा बृद्धि भएको छ । यसको मुख्य कारण पहाडी जिल्लामा सुन्तलाको उत्पादनमा कमी हुनु हो । बजार माग अनुसार सुन्तला उत्पादन नभएपछि अहिले भारतीय सुन्तला भित्रिन थालेको छ । बजारमा स्वदेशी सुन्तलाको भाउ प्रतिकिलो डेढ सय रुपैया छ भने भारतीय सुन्तला सरदर सय रुपैयामा बिक्री भइरहेको छ । व्यापारीहरुका अनुसार गत बर्षको तुलनामा यसबर्ष ६० प्रतिशत मात्रै सुन्तला उत्पादन भएको छ । ‘गत बर्षको जस्तो सुन्तला छैन, भाउ त बढ्ने भइनै हाल्यो’–थोक व्याापारी ज्ञानबहादुर बस्नेतले भने–‘यसपाली पहाडमा सुन्तला नै कम फल्यो ।’
व्यापारीहरुका अनुसार सुन्तलाको सिजनको अन्त्य चैत महिना भएकोले त्यतिबेलो अभाव देखिनु पर्ने हो । तर, यसपाली माघ अन्तिम सातादेखि नै बजारमा सुन्तलाको अभाव छ । व्यापारीहरुका अनुसार गत बर्ष धनकुटाको पात्ले फारमको वगान ११ लाख ४० हजारमा बिक्री भएको थियो । तर, यसपाली सुन्तलाको उत्पदान कम हुदा एक लाख ९० हजारमा मात्रै बिक्री भएको अर्का व्यापारी हर्क बहादुर कटवालले बताए । ‘बजारको माग १०, १५ गाडीको छ, तर अहिले एक गाडी मात्रै सुन्तला आउछ’–कटवालले भने ।
धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार थोक मुल्य एक सय २० रुपैयामा सुन्तलाको कारोबार भइरहेको छ । यो गत बर्षको तुलनामा झण्डै दोब्बर हो । गत बर्ष फागुन पहिलो साता प्रतिकिलो ७०/७२  रुपैयामा कारोबार भएको बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले जानकारी दिए । उनका अनुसार खोटाङ, भोजपुर जिल्लामा सुन्तला कम फलेकोले ती जिल्लाबाट अपेक्षा गरेभन्दा थोरै मात्र सुन्तला आयो । मंसिर र पुष महिनामा भने धनकुटाको मौनाबुदुक, बोदे, बुढी मोरङ क्षेत्रबाट बजारको माग थेगेको उनले बताए । ‘चैतमा सकिनुपर्ने सुन्तला फागुनको शुरुमा नै सकेजस्तो भयो । यता अभाव भयो कि भारतबाट सुन्तला आइहाल्छ’–भटराईले भने ।
कृर्षि उपजका अनुसार गएको बर्ष मंसिरदेखि चैतसम्म ४ हजार २ सय ४५ मेट्रिक टन कारोबार भएको थियो । अब सुन्तला एकदमै कम आउने भएकोले यो बर्ष त्यतिको आंकडामा कारोबार नहुने व्यवस्थापक भटराईको भनाई छ । ‘अब एकदमै थोरै मात्र सुन्तला आउछ, त्यसैले पोहोर जति कारोबार हुदैन’–उनले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे