नेवा च्यारिटी ८ के रनमा हेमलाल र फुलमती प्रथम


धरान । दोस्रो खुल्ला नेवा च्यारिटी ८ के रन(दौड) प्रतियोगितामा नेपाली सेनाका हेमलाल श्रेष्ठ र सशस्त्र प्रहरीको एपिएफ क्लबकी फुलमती थारु राना प्रथम भएका छन् । शनिबार धरानमा आयोतिज प्रतियोगिताको निर्धारित ८ किलोमिटरको दुरी २७ मिनेट ४४ सेकेण्डमा पार गर्दै हेमलाल पुरुषतर्फको च्याम्पियन भएभने महिलातर्फ ३८ मिनेटमा दुरी पार गर्दै फुलमती विजेता भइन् ।
सेनाका ३४ बर्षिय हेमलाल प्रतियोगिताको पहिलो सँस्करणमा गत बर्ष तेस्रो भएका थिए । चार बर्षअघि सशस्त्रमा जागिर शुरु गरेकी २२ बर्षीय फुलमतिको भने यो पहिलो उपाधि हो । दुवैले च्याम्पियन ट्रफी, मेडलसहित नगद ३० हजार हात पारे । यसैगरि, प्रतियोगितामा पुरुषतर्फ २७ मिनेट ४९ सेकेण्डमा दुरी पार गर्दै सेनाका ज्ञानबहादुर भटराई दोस्रो भ एभने २७ मिनेट ५५ सेकेण्डमा दुरी पार गरेका एपिएफका लक्ष्मण मल्ल तेस्रो भए । महिलातर्फ भने अन्र्तराष्ट्रिय खेलाडी नारायणदेवी सिंहले ३९ मिनेटमा दुरी पार गर्दै दोस्रो र धरानकी सुष्मा राईले ३९ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । गत बर्षकी विजेता सुष्माले अन्तिम मिनेटमा पहिलो स्थान गुमाएकी थिइन् । पुरुष तथा महिला दुवैतर्फका दोस्रो र तेस्रो खेलाडीले क्रमशः मेडल तथा नगद २० हजार र १० हजार थापे ।

प्रतियोगिताका १६ बर्षमुनिको उमेर समुहमा पुरुषतर्फ १५ बर्षीय केशव लिम्बू प्रथम, १५ बर्षीय आशिष राई दोस्रो र १४ बर्षीय जोश राई तेस्रो भए । यही उमेर समुहमा महिलातर्फ १४ बर्षीय सृर्जना राई पहिलो, मिङ्मा तामाङ दोस्रो र मिना तामाङ तेस्रो भइन् । महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः मेडल तथा नगद ५ हजार, ३ हजार र २ हजार पाए । यसैगरि, ४० बर्ष माथिको उमेर समुहमा पुरुषतर्फ तिलक राई प्रथम, राजेन्द्र गुरुङ दोस्रो र प्रकाश राई तेस्रो भए । यही उमेर समुहमा महिलातर्फ शुभद्रा राई प्रथम र लिला श्रेष्ठ दोस्रो भइन् । उनीहरुले क्रमशः मेडल तथा नगद ५ हजार, ३ हजार र २ हजार थापे ।
प्रतियोगितामा ८ किलोमिटरको निर्धारित दुरी पार गरेका १० बर्ष मुनिका ५ बर्षीय निङवाहाङ फोम्बो, बिशेष राई, सुप्रिम राई, सुलभ मगर, विज्ञान राई, अस्मिता मगर, सुदेश श्रेष्ठ, सरोज जिमी राई, स्वर्णिमहाङ फोम्बो र सविन लिम्बूलाई प्रोत्साहन पुरस्कार दिइएको थियो भने सुस्त श्रवण शक्ति भएका महेन्द्र लिम्बूलाई प्रोत्साहन स्वरुप नगद एक हजार प्रदान गरिएको थियो । सबैभन्दा बढी विद्यार्थी सहभागी गराउने माउण्ट हार्मोन एकेडेमीलाई पनि बिशेष सम्मान गरिएको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष मनिष तामाङ, प्रमुख अतिथि एवं चर्चित धावक वैकुण्ठ मानन्धर, संस्थापक अध्यक्ष सन्तोष राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङ, प्रतियोगिताका सहयोगीहरुले पुरस्कार प्रदान गरेका थिए ।

दौड प्रतियोगिता ‘स्वस्थ्य शरीर, स्वच्छ धरान’ भन्ने नाराका साथ धरान रन नामक युवाहरुको संस्थाले आयोजना गरेको हो । प्रतियोगितामा एघार सय बढीले सहभागी भएको आयोजकले जनाएको छ । कुलतबाट छुटकारा चाहने युवती(महिला)हरुलाई सहयोग गर्दै आएको दृष्टि नेपालको धरानस्थित शाखा कार्यालयलाई सहयोगार्थ प्रतियोगिता आयोजना भएको हो । गत बर्ष भएको पहिलो सँस्करणमा धरान रनले अशक्त भएर पनि साहित्य सृर्जना गरिरहेकी पाँचकन्या गाविसकी लक्ष्मी राईलाई सहयोग गरेको थियो । स्वास्थ्य रहन दौडनुपर्छ भन्ने सन्देश मुलुकभरि पुर्याउनु पनि प्रतियोगिताको उद्देश्य भएको आयोजक संस्थाले जनाएको छ ।

               लक्ष्मी राईलाई सहयोग


दौड प्रतियोगिताको आयोजक एवं सहयोगी नेवा च्यारिटीले फरक क्षमता भएकी साहित्यकार लक्ष्मी राईलाई २ लाख ५० हजार सहयोग गरेको छ । हाल बेलायत निवासी संस्थापक सन्तोष राईले नेवा च्यारिटीले संकलन गरेको उक्त रकम शनिबार राईलाई हस्तान्तरण गरे । दाता राईका अनुसार सो रकमको ब्याज मात्रै चलाउन मिल्ने गरि बैंकमा खाता खोलिएको छ ।
यसैगरि, दोस्रो खुल्ला नेवा च्यारिटी ८ के रन(दौड) प्रतियोगितामा भेट्रानतर्फका विजेता तिलक राईले नगद पुरस्कार वापतको ५ हजार र दोस्रो भएका राजेन्द्र गुरुङले पनि नगद पुरस्कार ३ हजार लक्ष्मी राईलाई नै प्रदान गरेका थिए । साथै, भेट्रान महिलातर्फ दोस्रो भएकी लिला श्रेष्ठले नगद पुरस्कार वापत पाएको ३ हजार दृष्टि नेपाललाई सहयोगार्थ प्रदान गरेकी थिइन् ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे