धरान–चतरा, बाटो छ खतरा, छ दशकदेखि कलोपत्रे सडकको सपना अधुरै
धरान । गाडी भित्र गुन्द्रुक खादिए झै मान्छे छन्, छतमाथि पनि उस्तै गरि । गाडी घरि दाया पल्टिएला झै हुन्छ, घरी बाँयातिर खसिएला झै हुन्छ । धरानबाट छुटेपछि यी ‘डेट एक्सपायर’ गाडी चतरा नपुगेसम्म कच्ची बाटोमा यस्तरी नै धुलो उडाउदै गुडिरहन्छन् । जब बर्षायाम शुरु हुन्छ, ज्यान भगवान भरोसा । त्यही भएर जनजिब्रोमा एउटा भनाई चर्चित छ ः धरान–चतरा,बाटो छ खतरा ।
चतराबासीका अनुसार धरान–चतरा हुदै बराक्षेत्र मन्दिर पुग्ने सडकमा ००५ सालदेखि गाडी चल्न थालेको हो । त्यसयता यो कच्ची सडकखण्डको स्तर ग्राभेलसम्म मात्रै भएको छ । आँगन भएर गुड्ने बाटो कालोपत्रे पक्की बनेको हेर्न चाहने स्थानीयको सपना ६ दशक बितिसक्दा पनि अधुरै छ । धरानदेखि चतरासम्मको करिब १४ किलोमिटर कच्ची सडकमा दशकौंदेखि छतमाथि जोखिमपुर्ण यात्र गर्न बाध्य छन् । चतरादेखि बराक्षेत्र मन्दिरसम्म पुग्ने सडक पनि दुरावस्थामा छ । ‘धरान चतरा, बाटो खतरा त्यसै भनिएको होइन, यो बाटो खुलेको साठी बर्षभन्दा बढी भइसक्यो’–बराहक्षेत्र ४, बयरवनका दलबहादुर पौडेल भन्छन्–‘विकट पहाडी जिल्ला, गाउँतिर पिच सडक पुगिसक्यो, तर यो बाटोको हालत उस्तै छ ।’
हिउँदमा धुलो उडाउदै गुड्ने सवारीसाधानहरुको बर्षायाममा भने यो सडक खण्डमा झनै विजोग हुनेगर्छ । मात्र १४ किमि लामो यो सडकखण्डमा सर्दु, पटनाली, बगुवा, बाघ खोला, हाट खोला, छाउरी खोला, हरिने खोलालगायत ठुलो सानो आधा दर्जन बढी खोलाहरु छन् । पुलसमेत बन्न नसकेको यी खोलाले बर्षायाममा बाटो बगाउने, खाल्डाखुल्डी पारी दिने भएकोले यातायात ठप्प हुन्छ । यसको असर चतराबासीको दैनिक जनजीवनमा पर्छ । ‘बर्षा लागेपछि गाडी नै चलाउन सक्दैनौं, खोलाले बाटो बिगारीदिन्छ, जहीत्यही खाल्डाखुल्डी भएर पानी जमिन्छ’–सुनसरी यातायात व्यावसायी संघका अध्यक्ष रामबहादुर परियारले भने–‘जोखिम मोलेर खाल्डाखुल्डीमा अनुमानको भरमा गाडी चलाउन सक्दैनौं ।’ सडकको अवस्थाले गर्दा नै व्यावसायीहरु ब्रिटिशले छाडेर गएको ज्यादै पुरानो ल्याण्डरोभर गाडी चलाउन बाध्य भएको उनको भनाई छ ।
चतराबासीहरुको शिक्षा, स्वास्थ्य, व्यापार, यातायातलगायत दैनिक जीवनको हरेक पाटा नजिकैको शहर धरानसँग जोडिएको छ । तर, धरान–चतरा सडकखण्डको खोलामा पुल नबन्दा र बाटोको स्तरोन्नती नहुदा चतराबासीलाई सामाजिक, आर्थिकरुपमा ठुलो समस्या पार्ने उद्योग वाणिज्य संघका चतरा शाखाका अध्यक्ष रमेश बिष्ट बताउछन् । उनका अनुसार कुनै समयमा धनकुटा, भोजपुर, उदयपुर र खोटाङ जिल्लाको प्रमुख व्यापारीक केन्द्र रहेको चतराबजार बाटोकै कारणले हिजोआज त्यति गुल्जार छैन । ती जिल्लाका व्यापारीहरुले चतराबजारबाटै ढाकरमा उपभोग्य बस्तु बोकाएर लैजाने गर्थे । ‘डेढ दशकयता ति जिल्लाको गाउँ गाउँमा ट््रयाक खुल्यो, पिच बन्यो । यो सडकमा पर्ने खोलामा न पुल बन्यो, न पक्की भयो, कुनै समयको चल्तीको बजार सुक्दै गयो’–विष्टले भने । बर्षायाममा यातायात ठप्प हुदा विरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन घण्टौं लाग्ने घुमाउरो बाटो हुदै पुर्याउनुपर्छ भने विद्यार्थीहरु कलेज जान पाउदैनन् ।
स्थानीयबासीले सडकलाई कालोपत्रे गर्न करिब १५ बर्षअघिदेखि नै पहल शुरु गरेका थिए । तर, अहिलेसम्म सफल हुनसकेका छैनन् । राजनीतिक दलका नेता, मन्त्रीहरुले आश्वासन दिनेबाहेक ठोस काम गरेर देखाउन सकेको छैन । पछिल्लो समयमा ०६९ पुषमा उपभोक्ता समिति नै गठन गरेर स्थानीयबासी विभिन्न मन्त्रालयमा पटक पटक धाइसकेका छन् । त्यसो त सप्तकोशी बाँध फुटेर महेन्द्र राजमार्गमा यातायात ठप्प हँुदा चतराको केही मास्तिर फेरी सञ्चालन भएपछि चतरा हुदै पूर्व पश्चिम जोडिएको थियो । त्यसबेला यो सडकखण्डलाई वैकल्पिक राजमार्गकोरुपमा अघि बढाउने कुरा चर्चामा आएपनि पुनः महेन्द्र राजमार्ग खुलेपछि भने सेलाउन पुग्यो । हाल सप्तकोशी नदीमा पुल निर्माण भइरहेको र पुन ः धरान–चतरा–हेटौडा सडकलाई वैकल्पिक राजमार्ग बनाउने चर्चाले स्थानीयबासीमा पक्की सडक बन्ने आशा भने ज्यूँदो नै छ ।
गत मंसिर दोस्रो साता बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका अर्थमन्त्री शंकर कोइरालाले चतराधामस्थित जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको आश्रम पसेका थिए । चैतमा १२ बर्षे महाकुम्भमेला लगाउने तयारीमा रहेका वालसन्तसहित स्थानीयले सडकको दुरावस्थाबारे अवगत गराएपछि अर्थमन्त्री कोइरालाले बजेट निकासा गरिदिने आश्वासन दिदै तत्काल सम्बन्धित मन्त्रालयका सचिव र सडक विभागलाई लागतस्टिमेट तयार गरेर पेश गर्न निर्देशन पनि दिए । त्यसैवमोजिम चालु र आगमी आर्थिक बर्षमा बजेट आउने गरी सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का आह्वान गरिसकेपनि अर्थमन्त्रालयले बजेट निकासा गर्न नसक्ने जनाउ दिएको डिभिजन प्रमुख रामचन्द्र राउत बताउछन् । ‘हामीले उधारो ठेक्का आहवन गरेका हौं, अर्थमन्त्रालयबाट पैसा आउने यो भने काम हुन्छ, नत्र रद्द हुन्छ’–उनले भने ।
Comments
Post a Comment