उपचार खर्च नभएर विरामी न्युरो हस्पिटलमा अलपत्र


धरान । ‘हर्ट अट्याक’ भएर पुस अन्तिम साता उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल पुगेका एक वृद्ध विरामी उपचार खर्च तिर्न नसकेर अस्पतालमा नै अलपत्र परेका छन् । धरान १९ स्थित सुनाम टोलका ६८ बर्षीय चन्द्रबहादुर कोइराला(बि.क.) लाई न्युरोले डिस्चार्ज भइसकेपनि बिल भुक्तान गर्न नसकेपछि घर फर्कन पाएका छैनन् ।
उनी पहिलो पर्मानेन्ट पेस मेकर(मुटुमा करेन्ट दिने ब्याट्री) लगाइएको विरामी भनेर न्युरोले स्थानीय पत्रपत्रिकामा प्रचार गरेपनि उपचार खर्च हिनाहा गर्न वा राहत दिन भने आनाकानी गरेको छ । ‘पैसा ल्याएर विरामी लैजाउ’ भनिरहेको परिवारजनले बताएका छन् । न्युरोले चन्द्रबहादुरलाई माघ १६ गते नै डिस्चार्ज दिइसकेको थियो । खर्च तिर्न नसक्दा अस्पतालको बेडमा नै रहनुपरेपछि दैनिक बेड चार्जको खर्च पनि बढीरहेको छ । सुकुम्बासी बस्तीको गरिब दलित परिवारका चन्द्रबहादुरलाई घर फर्काउन उनकी श्रीमति विष्णु कोइराला(बि.क.)धरानमा सहयोग जुटाउन भौतारिरहेकी छिन् । श्रीमान्को जीवनर बच्दा उनी जति खुशी थिइन्, अहिले घर ल्याउन नसक्दा –उतिकै दुःखी छिन् । ‘श्रीमान् घर आउन चाहिरहनु भएकोछ, तर पैसा तिर्न नसकेकोले अस्पतालबाट ल्याउन सकेको छैन’–दुःख पोख्दै श्रीमति विष्णुले भनिन्–‘उपाय केही छैन, खै के गर्नु, के नगर्नु !’ चन्द्रबहादुरको सम्पुर्ण उपचार खर्चवापत ३ लाख ७३ हजार ८ सय ८१ रुपैया तिर्न बाँकी छ । यसैगरि, औषधी खर्च पनि ५५ हजार ८ सयै रुपैया तिर्नुपर्ने छ । गरिब दलित परिवारले अहिलेसम्म विभिन्न संघसंस्था एवं शुभेच्छुकहरुबाट भएको सहयोगले ९६ हजार मात्रै अस्पताललाई तिर्न सकेको छ । नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयबाट गरिब परिवार भएकोले छुट वा निःशुल्क उपचार गरिदिन भनेर सिफारिश लगेपनि अस्पतालले स्वीकार गरेन । श्रीमतिका अनुसार न्युरोले एक लाख बराबर ५ प्रतिशत मात्रै छुट दिन सक्ने जवाफ दिएको छ ।

बक्यौता रकमबारे न्युरो अस्पतालले दिएको पत्र देखाउदै श्रीमति विष्णु ।
गरिब दम्पत्तिका ४ भाई छोरामध्ये दुई जना अलग भइसकेका छन् भने दुई छोरीको विवाह भइसकेको छ । परिवारमा आम्दानीको स्रोत भनेको श्रीमति विष्णुले दैनिक बनिबुतो गरेर हुने कमाईबाहेक केही छैन । सम्पत्तिको नाममा सुकुम्बासी बस्तीको साढे ७ धुर जग्गा र कच्ची घर मात्रै हो । दुई छोरा १७ र १९ बर्षको भएपनि कमाई छैन । ‘यही घरजग्गा धितो राखु भनेको, ऐलानी भएर कसैले पत्याएनन्’–विष्णुले भनिन्–‘चलेको भाउमा बिक्री गरु भने पनि पछि उठिबास हुन्छ, त्यो पनि यहाँ किन्ने मान्छे भेटिएन ।’ अहिलेसम्म चन्द्रबहादुरको उपचारको लागि मलेसियामा भएको जेठो छोरामार्फत ३० हजार, कान्छी छोरी ज्वाईले ३२ हजार, हरियाली वन समुहले २० हजार सहयोग गरेको छ । माइला छोराले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खर्च तिरिदियो भने मानव धर्म सेवा समितिले पनि अस्पतालमा पुगेर ५० हजार दिने र जमानी बसेर विरामीलाई घर फर्काउने प्रयास भने गरेको छ ।
स्थानीय एवं छरमिकेकी भने चन्द्रबहादुरलाई घर फर्काउन सहयोग समिति गठन गरेर घरदैलो आर्थिक संकलन गर्ने तयारीमा जुटेका छन् । पत्रपत्रिकामा पहिलो पटक पेसमेकर लगाउन सफल भन्दै अस्पतालले प्रचार गरेपनि उपचार मिनाह वा राहत नदिएको प्रति स्थानीय आक्रोशित छन् । ‘विरामीलाई परीक्षण गर्दै प्रचार गरेर क्रेडिट चाहि लिने तर गरिबलाई राहत नदिने, यो तर ठुलो व्यापार भयो’–सहयोग जुटाउन पहल गरिरहेका हरि तामाङले भने–‘गरिब परिवार भएकोले उपचार खर्च मिनाहा गरिदिन नगरपालिका र जिल्ला जनस्वास्थ्यबाट सिफारिस पनि पठायौं, दिन मानेनछ ।’

न्युरो अस्पतालको मेडिसिन वार्डको वेडमा रहेका चन्द्रबहादुर ।
चन्द्रबहादुरलाई पुस २८ गते एक्कासी हर्ट अट्याक भएपछि श्रीमतिले नजिकैको बीपी प्रतिष्ठान पुर्याएका थिए । तर, त्यहाँ उपचार नहुने भन्दै न्युरो अस्पतालमा सिफारिश गरियो । न्युरोमा डा.निकेश श्रेष्ठ(जो पहिला बीपीमा थिए)ले शुरुमा ७ दिनको लागि पेसमेकर लगाईदिए । त्यसले पनि काम नगरेपछि पर्मानेन्ट पेसमेकर लगाएका थिए । डाक्टर श्रेष्ठ शुरुमा नै विरामीका परिवारले पैसा तिर्न नसक्ने भनेको भए निःशुल्क पनि हुनसक्थो । न्युरो अस्पतालका प्रशासन प्रमुख विपुल श्रेष्ठले पनि सामान र उपचार शुल्कबारे जानकारी पहिल्यै गराएको र विरामीको परिवारले तिछौं भनेको बताउछन् । ‘हर्ट अट्याक जस्तो विरामी, आर्थिक अवस्था बुझेर मात्रै उपचार गरौं भन्न पनि नमिल्ने । उहाँको श्रीमतिले पनि भोली पैसा तिछौं भन्नुभयो’–श्रेष्ठले भने–‘उपचार शुल्क भन्दा पनि सामान नै महंगो पर्छ ।’ उपचारमा लागेको सामानको खर्च मात्रै तिरेमा पनि छोड्ने की भनेर व्यावस्थापनसँग कुरा भने भएको उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे