कृर्षि सडक बनेपछि खेतीयोग्य जमिनमा प्लटिङ

धरान । करिब पाँच बर्षअघि सुनसरीको पकलीस्थित कान्छी चोकबाट चतरासम्म पक्की ग्रामिण कृषि सडक निर्माण हुदा भरौल गाविसबासीहरु निक्कै खुशी थिए । सडक बनेपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने र राम्रो भाउ पाउने उनीहरुको आशा थियो ।
सडकसँगै गाउँमा विकासको पूर्वाधार एवं सेवा,सुविधा भित्रिने गाउँलेको अपेक्षा थियो । तर, कृर्षि सडक बनेपछि भने गाउँमा सेवा सुविधा होइन, जग्गाको कारोबारी(व्यापारी) मात्रै भित्रिए । अहिले भरौल गाविसको मुख्य बजारमात्रै होइन, भित्रि गाउँका खेतीयोग्य जमिन पनि जग्गा धमाधम प्लटिङ भइरहेको छ । लहलह धान, मकै, गहुँलगायत वाली झुल्ने खेत बाँझो रहेको टुलुटुलु हेर्न गाउँलेहरु बाध्य छन् । कारोबारी भित्रिएको कारण जग्गाको भाउ छोइनसक्नु बढेको स्थानीय बताउँछन् । मनग्ये उब्जानी हुने खेतीयोग्य जमिन मासिदै गएकोप्रति भने गाउँलेहरु चिन्तित छन् । ‘सडक बनेपछि जग्गाको भाउ अत्यधिक बढ्यो, जहीतही प्लटिङ भइरहेको छ’–भरौल १ स्थित जडेज उच्चमाविका शिक्षक छविलाल चौधरी भन्छन्–‘भरौल ज्यादै उब्जाउ हुने ठाउँ हो, तर अहिले यहाँको खेत अनुत्पादकरुपमा बाँझो भएको छ ।’


गाउँलेहरुका अनुसार ०६४ सालमा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर महेन्द्र राजमार्ग पनि बगाएपछि विकल्पमा यो सडकखण्ड प्रयोगमा आएको थियो । सरकारले चतराघाटमा फेरी सञ्चालन गरेपछि सवारीसाधानहरु यही बाटोबाट आवातजावत भएको थियो । सरकारले ग्रामिण कृर्षि सडकसँगै वैकल्पिक राजमार्गकोरुपमा विकास गर्ने अवधारणा बनेपछि शहरमा केन्द्रीत जग्गा कारोबारीहरु गाउँ छिर्न थालेको स्थानीय बताउछन् । ‘सडक बन्नु त राम्रो हो तर नराम्रो पाटो पनि आउदो रैछ । उब्जाउ घटेको छ, तर जग्गाको भाउ शहरमा भन्दा महंगो छ ।’–नेपाली कांग्रेस गाउँ कमिटि सदस्य मेघराज पराजुली भन्छन्–‘पहिला हराभरा वाली हुन्थ्यो । धान, गहुँ, मकै लहलह झुल्दा हेरिरहुँ लाग्थ्यो, अहिले बाँझो छ कि घर ठडिएको छ ।’
यस्तो अवस्था भरौल गाविसको मात्रै होइन । कान्छी चोकदेखि चतरासम्मको करिब २६ किलोमिटर सडकखण्डमा पर्ने पकली, बक्लौरी, भरौल(कालाबञ्जार), महेन्द्रनगर(चक्रघटी) र बराहक्षेत्र(चतरा) गाविसमा पनि अवस्था उस्तै छ । तर, उब्जाउ जमिनमा प्लटिङको मार भने सबैभन्दा बढी भरौल गाविसमा छ । जग्गा व्यापारीहरुका अनुसार पाँच बर्षयता भरौलमा मात्रै ५ सय विघाभन्दा बढी क्षेत्रफलमा घडेरी प्लटिङ भइसकेको छ । स्थानीयलाई साथ लिएर धरान र इटहरीका जग्गा कारोबारीहरुले जग्गा प्लटिङमा ठुलो लगानी गरेका छन् । शुरुमा लोभिएर जग्गा बिक्री गर्ने कतिपय गाउलेहरु अर्को ठाउँमा जग्गा किन्न नसक्दा विस्थापित हुनपुगेको छन् भने गाउँघरमा विगतमा जस्तो पशुपालन पनि हुन छोडेको स्थानीय शिक्षक भिखन चौधरी बताउछन् । ‘थोरै जग्गा भएकाहरुलाई लोभ देखाएर बिक्री गर्न लगाए, उनीहरुले त्यही मुल्यमा किन्न सकेनन्, अहिले सुकुम्बासी बनेका छन्’–शिक्षक चौधरीले भने–‘सडकले शिक्षा, स्वास्थ्यमा सुविधा भएन, सर्वसाधारणलाई होइन, केही सिमित कारोबारीलाई मात्रै फाइदा पुर्याएको छ ।’ वैदेशिक रोजगारमा गएका स्थानीयले कमाएर घडेरी थपौला भन्ने अवस्था नरहेको उनी बताउछन् ।


स्थानीयका अनुसार करिब पाँच बर्षअघि प्रतिकट्ठा ४०, ५० हजाररुपैया पर्ने जग्गाको मुल्य अहिले धुरको ४, ५ लाख रुपैया पुगेको छ । समय अनुकुल भाउ बढ्नु स्वाभाविक भएपनि सडक बनेपछि गाउँको जग्गा एक्कासी आकाशिएको कलाबञ्जारस्थित होटल व्यावसायी पहलमान बस्नेत अचम्म मान्छन् । तथापी, सडकले इटहरी, इनरुवा पुग्न भने सहज भएको उनको भनाई छ । अहिले वैकल्पिक राजमार्ग भनिएपछि यो सडकखण्ड पुरानो महेन्द्र राजमार्ग हो । भारतले सप्तकोशीमा ब्यारेज(पुल) निर्माण गरेपछि भने महेन्द्र राजमार्ग पकलीबाट इनरुवातिर मोडिएको थियो । जग्गा कारोबारमा संलग्न स्थानीय राजु अधिकारीका अनुसार चतराघाटस्थित कोशीमा ब्यारेजको विकल्पमा पुल बन्न थालेको र यो सडकखण्ड राजमार्ग बन्ने भएकोले पनि यो क्षेत्रमा जग्गाको कारोबार बढेको हो । अन्यत्र जग्गाको कारोबार निराशाजनक भएपनि भरौल क्षेत्रमा भने अहिले पनि राम्रो कारोबार भइरहेको उनी बताउछन् । । उनका अनुसार धरान, इटहरी क्षेत्रका २० वटा बढी कारोबारीको समुहले त्यसक्षेत्रमा लगानी गरेका छन् । ‘बजारमा धुरको ५ लाख छ, भित्री भागमा सडक पुगेको छ भने ५ लाख कट्ठाले कारोबार भइरहेको छ’–उनले भने ।
जिल्ला कृर्षि विकास कार्यालय सुनसरीका वाली विकास अधिकृत सुदिप रेग्मीका अनुसार किसानले उत्पादन गरेको कृर्षिजन्य वस्तु शहर,बजारसम्म पुर्याउन र विउविजन गाउ पुर्याउन सहजताको लागि कृर्षि सडक बनेको हो । खेतीयोग्य जमिन प्लटिङ गरिदा उत्पादन घट्ने भएपनि मानवबस्ती बढ्ने हुँदा सन्तुलन नहुने उनले बताए । ‘उब्जाउ हुने जग्गा घटिरहेको छ तर, जनसंखया भने बढीनै रहेको छ’–उनले भने–‘यसो हुदा किसानलाई फाइदा पुर्याउन बनेको सडकले उल्टै वेफाइदा पुग्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे