नेशनल एकेडेमीद्धारा उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई सम्मान


धरान । नेशनल एकेडेमी उच्चमाविले उत्कृष्ट विद्यार्थी र आफ्ना सफल खेलाडीहरुलाई सम्मान गरेको छ । होटल रत्नाइनमा सोमबार एक कार्यक्रम आयोजना गरि एकेडेमीले उत्कृष्ट विद्यार्थी एवं खेलाडीहरुलाई सम्मान गरेको हो । एकेडेमीले कक्षा ११ मा सर्वोत्कृष्ट अंक ल्याउन सफल सेरिमा लिम्बू र प्लस टु(कक्षा ११ र १२)को परीक्षामा उत्कृष्ट अंक ल्याउने रोमन इङ्नामलाई सम्मान गरेको छ ।
यस्तै, हिसान स्पोट्स मिटअन्र्तगत बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेका खेलाडी विद्यार्थीहरुलाई पनि मेडल तथा प्रमाणपत्रद्धारा एकेडेमीले सम्मान गरेको छ । यसैगरि, सोही कार्यक्रममा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्र्तगत राजधानीमा आयोजना भएको प्रथम नाई यु–२० राष्ट्रिय बास्केटवल प्रतियोगितामा सुनसरी जिल्लाको प्रनिनिधित्व गर्दै जाने एकेडेमीका विद्यार्थी खेलाडी तथा प्रशिक्षक पनि सम्मानित भएका थिए । सो प्रतियोगितामा एकेडेमी क्वार्टरफाइनलसम्म पुगेको थियो । यस्तै, गत जनवरीमा थाइल्याण्डमा आयोजित युथ एसियन बक्सिङ च्याम्पियनसिपमा भाग लिएका एकेडेमीका विद्यार्थी सौरभ लामालाई पनि सम्मान गरिएको थियो ।

नेशनल एकेडेमीका प्राचार्य हर्क सुब्बाले विद्यार्थीहरुको प्रोत्साहन दिलाउन सम्मान कार्यक्रम राखिएको बताए । खेलकुदमा लागेका विद्यार्थीहरुलाई पढाई नछोड्न आग्रह गर्दै उनले भने–‘शैक्षिक योग्यता अभावले भविष्यमा पाएको अवसरहरु गुमाउन नपरोस्,त्यसैले पढाई पनि सँगै लैजानुपर्छ ।’ एकेडेमीका निर्देशक देव सुब्बाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउने उद्देश्यले खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलापहरुमा बढीभन्दा बढी सहभागीता गराइरहेको बताए ।
कार्यक्रमका अतिथिहरुले विद्यार्थीहरुको बौद्धिक एवं मानसिक विकासको लागि शैक्षिक संस्थाहरुले पढाईसँगै खेलकुदका गतिविधिहरुलाई पनि प्राथमिकता दिनुपर्नेमा जोडदिएका थिए । धरान १ स्थित नेशनल एकेडेमी उच्चमाविले सोमबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी एवं खेलाडीहरुलाई सम्मान कार्यक्रममा खेलकुद तथा शिक्षाकर्मीहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले विद्यार्थी एवं खेलाडीहरुलाई पनि खेलकुद र पढाई दुवैलाई सँगसँगै अघि बढाउन सुझाएका छन् । शिक्षाकर्मी एवं हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले जीवनको सौन्दर्य शिक्षा र शिक्षाको सौन्दर्य खेलकुद भएकोले दुवैलाई शैक्षिक संस्थाहरुले प्राथमिकता दिनुपर्ने धारणा राखे । ‘शैक्षिक संस्थाहरुले विद्यार्थीहरुको क्षमता, प्रतिभालाई चिनेर प्रोत्साहन गर्नुपर्छ, खेलबाटै भविष्य बनाउन दिनुपर्छ तर शिक्षालाई पनि सँगै लैजानुपर्छ’–घिमिरले भने–‘हाम्रो शैक्षिक संस्थाहरु क्षमता, योग्यता प्रष्फुटन गर्ने थलो बन्नुपर्छ ।’


बक्सिङ खेलका वरिष्ठ राष्ट्रिय प्रशिक्षक अनुप लामाले खेलकुद विनाको शिक्षा र शिक्षा विनाको खेलकुद असम्भव हुने बताए । शिक्षा आर्जन गर्न मानसिकरुपमा स्वास्थ्य रहनुपर्ने र त्यसलाई खेलकुदले सहयोग पुर्याउने उनको भनाई थियो । ‘एकोहोरो पढाईले दिमाग गुडिया जस्तो मात्रै हुन्छ, खेलकुदमा पनि मेहनत, त्याग हुनुपर्छ, सफलता अवश्य पाइन्छ’–उनले भने । समाजसेवी एवं लायन्स क्लब अफ धरान बुढासुब्बाकी अध्यक्ष भिष्मा चेम्जोङले पढाईलाई मात्रै प्राथमिकता दिदा विद्यार्थीहरुलाई मानसिक, शारीरिक दबाब हुने भएकोले खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा सहभागी गराउन आवश्यक भएको बताइन् ।
नेशनल मल्टिपल कलेजका प्रिन्सिपल सागर भटराईले सैद्धान्तिक पढाईसँगै व्यावहारिक ज्ञान दिन सकिएमात्रै विद्यार्थीहरुले प्रोत्साहन पाउने बताए । ‘अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई प्रोत्साहन गर्छ, उनीहरुको सिप र प्रतिभालाई परिष्कृत बनाउछ’–भटराईले भने । एकेडेमीका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा धरान मोडेल कलेजका प्रिन्सिपल जीवनकुमार राई, सुनसरी जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्बू, शिक्षक अनुज श्रेष्ठले पनि बोलेका थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे