सौराहा र धरानका पर्यटन व्यावसायीबीच सहकार्य गरिने


धरान । आन्तरिक एवं बाह्य पर्यटन प्रर्वद्धन गर्न चितवनको सौराहा र धरानका होटल तथा पर्यटन व्यावसायीहरुले एकआपसमा सहकार्य गर्ने भएका छन् । आठौं सौराहा फुड फेष्टिबलको प्रचारप्रसार गर्न धरान आइपुगेका रेष्टुरेष्ट एण्ड बार एशोसिएशन नेपाल(रेबन) सौराहा र धरानका होटल तथा पर्यटन व्यावसायीहरुबीच यस्तो सहमति भएको हो ।
दुवै स्थानको पर्यटन प्रर्वद्धन गर्न उत्सवहरुमा एक अर्काको सँस्कृति आदान प्रदान गर्ने, पूर्व आएका पर्यटकहरुलाई सौराहा पठाउने र सौराहा आएका विदेशी पर्यटकहरुलाई धरान, इटहरी, इलाम जस्ता पूर्वी नेपाल भ्रमणमा पठाउनेलगायत होटल तथा पर्यटन व्यावसायीहरुबीच सहकार्य गरिने भएको छ । सौराहा र धरानका होटल तथा पर्यटन व्यावसायीहरुबीच संस्थागतरुपमा सम्बन्ध स्थापित भएको यो पहिलो अवसर हो । ‘सौराहामा पूर्वक्षेत्रबाट आन्तरिक पर्यटक कसरी ल्याउने र सौराहा आएका विदेशी पर्यटकहरुलाई धरान, इटहरी, इलामलगायत पर्यटकीय क्षेत्रमा पठाउनेबारे सहकार्य गर्नेछौं’–रेबन, सौराहाका पूर्वअध्यक्ष सुवासचन्द्र गौतमले भने–‘यहाँ आएको बेला धरानको होटल, लज र ट्राभल एजेन्सी, डेस्कलगायतको बिषयमा छलफल गर्यौं, धरानबाट आउने पर्यटकहरुलाई बिषेश सहुलियत दिनेछौं ।’


खाना वा सडक उत्सवहरुमा दुवै स्थानको पर्यटकीय आर्कषणबारे जानकारीमुलक डेस्क राखिने र दुवै क्षेत्रको सँस्कृतिलाई पनि प्रस्तुत गर्न पहल गर्ने पूर्वअध्यक्ष गौतमले बताए । पर्यटन व्यावसायीहरुका अनुसार सौराहा घुम्न आएका पर्यटकहरुलाई धरान, इलामको बारेमा जानकारी दिएर घुम्न जान थप प्रोत्साहन गरिनेछ भने धरानका व्यवसायीहरुले पनि त्यसरी नै सौराहा घुम्न जान प्रोत्साहित गर्नेछन् । ‘उत्सवहरुको बेला मात्रै होइन, अरु समयमा पनि घुम्न आउने पर्यटकहरुलाई पूर्वको राम्रो ठाउँहरुको बारेमा भन्नेछौं, ढुक्क भएर घुम्न जानुस्, खाना बस्नको राम्रो व्यवस्था हुन्छ भनेर सम्पर्क गर्नेछौं’–उनले भने । होटल एशोसिएशन अफ नेपालका केन्द्रीय सदस्य महेन्द्र प्रधानले संस्थागतरुपमा सौराहा र धरानका पर्यटन व्यावसायीहरुबीच पहिलो पटक जोडिएको सम्बन्धलाई निरन्तरता दिइने बताए । ‘पूर्वमा वेष्ट वंगालका पर्यटकहरु घुम्न आउछन्, हामी उनीहरुलाई पश्चिम पठाउन सक्छौं, पश्चिममा आउने पर्यटकहरुलाई त्यहाँबाट पूर्व ल्याउनसक्छौं’–होटल एशोसिएशन अफ धरानका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने–‘तर, व्यावसायीहरुबीच सञ्जाल नहुदा समस्या थियो, अब एकआपसमा सहकार्य र समन्वय गरिनेछ ।’



विगतमा पूर्वीक्षेत्रको सँस्कृतिलाई पोखरामा प्रस्तुत गरेको स्मरण गर्दै प्रधानले सौराहासँग पनि सँस्कृतिक आदानप्रदान गरिने बताए । उनका अनुसार पूर्वका राई जातिको साकेला र लिम्बू जातिको च्याबुङ नाचलाई पोखरामा प्रस्तुत गरिएको थियो भने पोखराबाट धरान सडक उत्सवमा लोकदोहोरीको टोली आएका थिए ।
सौराहामा फागुन १, २ र ३ गते ८ औं फुड फेस्टिबल आयोजना हुदैछ भने धरानमा पनि यही माघ २४, २५ र २६ गते तीन दिन १० औं सडक उत्सव आयोजना हुदैछ । यी दुवै उत्सवमा सौराहा र पोखराका व्यावसायीहरुले एकअर्कालाई स्थानीय उत्पादनका साथै पर्यटकीयस्थलकाहरुको प्रचार गर्न निःशुल्क स्टल पनि उपलब्ध गराउने भएका छन् । ‘हामी यसरी घुम्नुको उद्देश्य सौराहा महंगो छ भन्ने भ्रमलाई चिर्नको लागि पनि हो, हामीसँग सामान्यस्तरका पर्यटकहरुको लागि पनि राम्रो व्यवस्था छ’–सौराहाका व्यावसायी एवं फेष्टिबल प्रचार संयोजक लालबहादुर भट्टले भने । फुड फेष्टिबलका संयोजक गोकर्ण गिरीले एक करोडको कारोबार हुने अपेक्षा गरिएको फेष्टिबलमा रेबनमा आवद्ध रेष्टुरेष्टमा १५ प्रतिशत र पसलहरुमा २० प्रतिशत छुट दिइने बताए । पर्यटन विद् कृष्ण शाहले उत्सवहरुको बेला मात्रै नभई संस्थागतरुपमा पर्यटन व्यावसायीहरुबीच निरन्तर सहकार्य हुनुपर्ने बताए । होटल एशोसिएन अफ धरानका पूर्वअध्यक्ष शिवराज श्रेष्ठले होटल तथा पर्यटन व्यावसायीहरु सरकारको भर नपरी आफैले पर्यटन प्रर्वद्धन गर्नुपर्ने बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे