एसएलसी पछिको अन्यौलता हटाउदै युवाहरु
धरान । विद्यार्थीहरुका लागि फलामे ढोका भनिएको एसएलसी परीक्षा दिइसकेपछि जति राहत महसुस गर्छन्, त्यसपछिको अन्यौलताले पनि उनीहरुलाई उतिकै तनाव दिन्छ । खास गरी सरकारी विद्यालयका विद्यार्थीहरु एसएलसी कुन कलेज पढ्ने वा बिषय रोज्ने, आफुले रोजेको बिषय कहाँ पढ्न ठिक हुन्छ भन्नेबारे अनभिज्ञ हुन्छन् ।
विद्यार्थी र अभिभावकहरुको त्यही अनभिज्ञतालाई हटाउन बिएफआइपि नेपाल नामको एक युवाहरुको सञ्जाल जुटेको छ । वाट आफ्टर एसएलसी ? (एसएलसी पछि के ?) भन्ने सचेतनामुलक शैक्षिक कार्यक्रम लिएर युवाहरु धरानका सरकारी विद्यालयहरु डुल्दैछन् । ती विद्यालयमा युवाहरुले एसएलसी दिन तयारी गरिरहेका विद्यार्थी, शिक्षक र अभिभावकलाईसमेत सचेत गराउने काम गरिरहेको छ । संस्थाका अनुसार धरानमा शहीदस्मृति मावि र पब्लिक उच्चमाविमा एसएलसी दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर बिहिबार र शुक्रबार यो कार्यक्रम भइसकेकोछ ।
विद्यार्थीहरुको मनमा एसएलसी परीक्षा भन्ने बित्तिकै डराउने र परीक्षा सकेपछि के गर्ने भन्ने अन्यौल हटाउन सरकारी विद्यालय लक्षित गरेर कार्यक्रम शुरु गरिएको हो । एसएलसी पछि विद्यार्थी र विद्यालयबीच सामुहिकरुपमा भेला हुन गाह्रो हुने भएकोले पनि परीक्षा अगावै कार्यक्रम गरिएको अध्यक्ष एवं कार्यक्रम संयोजक दिपेश बस्नेतले बताए । ‘एसएलसी परीक्षालाई पनि कसरी फेस गर्ने ? भनेर विद्यार्थीहरुको आत्मविश्वास बढाउन पनि यो कार्यक्रम गरेका हौं’–अध्यक्ष बस्नेतले भने–‘पछि, कलेज र बिषय कसरी छान्ने ? कुन बिषय आफ्नो लागि उपयुक्त हुनसक्छ भनेर पनि उनीहरुलाई जानकारी दिन्छौं ।’
कार्यक्रममा ए लेभल, सिटिइभिटी, उच्चमावि शिक्षा परिषद, त्रिभुवन विश्वविद्यालय, व्यावस्थापन संकाय, मानविकी संकाय, साइन्सलगायत विविध शैक्षिक बिषयमा विद्यार्थीहरुलाई प्रष्ट्याउने काम भएको संस्थाले जनाएको छ । ‘हाम्रो नारा नै विद्यार्थीको समय, अभिभावक र सरकारको १० बर्षको लगानी खेर जान नदिउ भन्ने हो’–अध्यक्ष बस्नेतले भने । कार्यक्रममा सिटिभिटीबारे सागर अधिकारी, ए लभेल, साइन्सबारे विष्णु लिम्बू,उच्चमावि शिक्षा परिषदबारे विकेककुमार सिंह, मानविकी संकायबारे सुमन खवास, व्यवस्थापनबारे हिरा गुरुङ, एसएलसी परीक्षा, कलेज र बिषयबारे दिपेश बस्नेतले विद्यार्थीहरुलाई प्रष्ट पारेका थिए । सहजकर्ताहरु आ आफ्ना बिषयमा गहिरो अध्ययन गरेका अनुसन्धाताहरु पनि हुन् ।

Comments
Post a Comment