सुनसरीको टुरिजम प्रोडक्ट धार्मिक पर्यटन
धरान । सुनसरीका पर्यटनकर्मी एवं व्यावसायीहरुले धार्मिक पर्यटनलाई जिल्लाको टुरिजम प्रोडक्ट(पर्यटकीय गन्तव्य÷आर्कषण) भएको ठहर गरेका छन् । पर्यटन प्रर्वद्धन एवं विकासको पहल भइरहेपनि पर्यटकीय गन्तव्य(टुरिज्म प्रोडक्ट)बारे स्थानीय निकाय तथा पर्यटनकर्मीहरु प्रष्ट नहुदा सुनसरीको पर्यटनले गति लिन सकेको थिएन ।
लामो समयदेखिको अन्यौलतालाई चिर्दै यहाँका पर्यटनकर्मीहरु धार्मिक पर्यटन नै जिल्लाको प्रमुख पर्यटन आर्कषण भएकोमा लगभल सहमतित नजिक पुगेका हुन् । यो सहमतिलाई पर्यटनकर्मी तथा व्यावसायीहरुले औपचारिक निर्णय गरेर घोषणा गर्न मात्रै बाँकी छ । धार्मिक पर्यटन मुख्य पर्यटन आर्कषण मानेर अघि बढ्ने र अन्य पर्यटन गन्तव्यहरुलाई सहायक मानेर प्रर्वद्धन तथा विकास गर्दै जाने उनीहरुको भनाई छ ।
जिल्लाको पर्यटन गन्तव्यको कुरा हुँदा धरानका विजयपुर गढी, कोशी टप्पु, बराहक्षेत्र(चतराधाम)को चर्चा हुने गर्छ । त्यो भन्दा बढी त धरानभन्दा १७ किलोमिटर उत्तरको भेडेटारको चर्चा हुन्छ । जुन धनकुटा जिल्लामा छ । ‘पोखरामा ताल घुम्न, हिमाल हेर्न, प्याराग्लाइडिङ गर्न जान्छन्, चितवनको सौराहामा सुर्यस्त र जंगल सफारी गर्छन् । सुनसरी र धरानमा पर्यटक के को लागि आउने त ? यो अन्यौल थियो ।’–सुनसरी उद्योग वाणिज्य संघका पर्यटन उपसमिति संयोजक एवं होटल व्यावसायी महेन्द्र प्रधानले भने–‘व्यावसायीहरुबीच धेरै पटक छलफल गर्दा यहाँको मुख्य जुरिजम प्रोडक्ट(आर्कषण) भनेको धार्मिक पर्यटन नै रहेछ भन्ने निष्कर्षमा पुगेका छौं ।’ उनका अनुसार होटल व्यावसायीहरुको तथ्यांक अनुसार सुनसरी एवं धरानमा धार्मिक क्षेत्र एवं मठमन्दिरहरुको दर्शन गर्नको लागि नै धेरै पर्यटकहरु आउने गरेका छन् ।
पर्यटनकर्मी वासुदेव वराल कुहिरोभित्रको कागजस्तै अवस्था भएपछि पर्यटन व्यावसायीहरुबीच पटक पटक औपचारिक एवं अनौपचारिक छलफल गरिएको बताउछन् । ‘व्यावसायीसँग बस्यौं, विज्ञहरुबाट राय सुझाव लियौं र होटलमा आएका पाहुना, पर्यटकहरुको तथ्यांक हेर्यौं’–वराल भन्छन्–‘यसरी सबै पक्षबाट हेर्दा हामीसँग पर्यटन भनेर बेच्ने चिज भनेको धार्मिक, मठमन्दिर मात्रै रहेछन् ।’ धरान आउने पर्यटकहरु चतराहुदै बराहक्षेत्र, विष्णुपादुका पुग्ने गरेको तथ्य भेटिएको उनको भनाई छ । धरानको विजयपुरगढीमा अवस्थित पिण्डेश्वर मन्दिर क्षेत्र रुद्राक्ष उत्पत्ति भएको स्थान(रुद्राक्षरष्य क्षेत्र) पनि भएकोले बोलबमको समयमा लाखौं भारतीय पर्यटकहरु भित्रिने गरेको उनी बताउछन् । यस्तै, धरानकै बुढासुब्बा, दन्तकाली, पञ्चकन्या मन्दिरको साथै विष्णुपादुका, बराहक्षेत्र, रामधुनी मन्दिर पनि धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपुर्ण भएको उनले बताए । ‘मठमन्दिर दर्शन गर्न आएका पर्यटकहरुको बसाई लम्ब्याउनको लागि अन्य पूर्वाधारको विकास गर्न जरुरी छ, पर्यापर्यटन, खेलकुद पर्यटन, साँस्कृतिक पर्यटनका पूर्वाधारहरुलाई सहायक पर्यटन आर्कषणकोरुपमा विकास गर्नुपर्छ’–वराले थपे ।
पर्यटन विद कृष्ण शाह राजनीतिक दल, स्थानीय निकायका संयन्त्रहरुले जिल्लाको आर्थिक सम्मृद्धिको लागि साझा दस्तावेज बनाउनु पर्ने र त्यसमा पर्यटनको मुद्दा प्रमुख हुनुपर्नेमा जोडदिन्छन् । उनी पनि सुनसरी आउने पर्यटकहरुलाई नियाल्दा धार्मिक पर्यटन नै यहाँको पर्यटकीय आर्कषण भएको स्वीकार्छन् । ‘साउन महिनामा मात्रै धरानको पिण्डेश्वरमा नेपाल र भारतबाट ४ लाखको हाराहारीमा कोशीबाट जल चढाउन भक्तजनहरु आउछन् । बराहक्षेत्र, विष्णुपादुकामा पौषे औशींको दिनमा मात्रै ३० हजार बढी श्राद्ध गर्न आइपुग्छन् । बुढासुब्बा, दन्तकाली शक्तिपीठमा पनि लाखौं भक्तजनहरु आउछन्’–शाहले भने–‘यी सबैलाई हेर्दा अबको टुरिजम प्रोडक्ट भनेको धार्मिक पर्यटन नै हुनुपर्छ ।’
गत बर्ष पिण्डेश्वर बाबाधाम समितिले प्रकाशन गरेको रुद्राक्षारण्य पिण्डेश्वर दर्पण पुस्तकका अनुसार सुनसरीमा पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पाञ्चकन्या, बराहक्षेत्र, विष्णुपादुका, रामधुनीलगायत एक दर्जन पौराणिक, ऐतिहासिक महत्वको तीर्थस्थल भएको उल्लेख गरेको छ । त्यसबाहेक, पिण्डेश्वर मन्दिर परिसरमा मात्रै विभिन्न ८ वटा मन्दिर, १४ वटा प्रतिमाहरु भएको पुस्तकमा उल्लेख छ । यसबाहेक धरानको १५ र १९ वडाबाहेक १७ वटा वडामा ३३ वटा विभिन्न मन्दिरहरु स्थापना भएको दर्पणमा उल्लेख छ । ‘पुस्तकमा भएका सबै मन्दिर, तीर्थस्थलहरु हिन्दुधर्मसँग सम्बन्धित छन्, यसमा हामीले बौद्ध धर्म र क्रिष्टिचयन धर्मसँग सम्बन्धित चर्च र गुम्बाहरुलाई समावेश गरेका छैनौं’–पुस्तकका सम्पादक विकास वनेपालीले भने–‘त्यसको पनि खोजी गर्ने हो भने धेरै भेटिन्छन्, धरान मन्दिरै मन्दिरको शहर भनेपनि हुन्छ ।’
Comments
Post a Comment