दृष्टिविहिन टिकारामको गायक बन्ने धोको


धरान । उनी जन्मदै संसार अध्यारो थियो । आमा बुबाले थुप्रै अस्पतालमा पुर्याए, तर आँखाको ज्योति भने फर्काउन सकेनन् । बाहिरी संसार अध्यारो भएपनि आफ्नो भविष्यको गोरेटो भने उनले पहिल्याइसकेका छन् । सुन्दरपुर गाविस ८, उदयपुरका यी २४ बर्षीय दृष्टिविहिन युवा टिकाराम राई भविष्यमा सफल गायक बन्ने धोको छ । उनी त्यही धोको पुरा गर्न सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् । माघ पहिलो सातादेखि शुरु भएको पूर्वाञ्चल स्टार २ मा उनी विभिन्न चरण पार गर्दै उत्कृष्ट २५ भित्र छनौट भइसकेका छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै उनी अडिशन दिन बेला बेला धरान आइपुग्छन् ।
उनको गीत,संगीतप्रतिको लगाव सानै उमेरदेखिको हो । बाहिरी संसार अध्यारो भएपछि उनको मन वहलाउने माध्यम गीत,संगीत बन्न पुग्यो । उनले करिब १० बर्षको उमेरदेखि नै गीत गुन्गुनाउन थालेका हुन् । मादल र हार्मोनियम मजाले बजाउन सक्छन् । संसार देख्न नपाएपनि आफु भित्र भएको गायन प्रतिभा सबैलाई देखाउने चाहना भएको राई बताउछन् । ‘दृष्टिविहिन, अपांगता भएका व्यक्तिहरुलाई समाजले के नै पो गर्न सक्छ र ! भनेजस्तो गर्छन्’–राईले भने–‘तर, अवसर पाउदा हामी जे पनि गर्न सक्छौं, हामीमा पनि प्रतिभा हुन्छ, त्यो देखाउन सक्छौं ।’
गाउँघरमा उनले गायकको परिचय बनाइसकेका छन् । हरेक साँस्कृतिक, सांगीतिक कार्यक्रममा उनी छुट्दैनन् । नवसृर्जना साँस्कृतिक समुहको सदस्य पनि हुन् । पोहोर साल विराटनगरमा भएको विद्यालयस्तरको गायन प्रतियोगितामा उनी दोस्रो भएका थिए । पूर्वाञ्चल वगिना कलाकेन्द्रले माघ २२ गते गृहजिल्लामा आयोजना गरेकोे पूर्वाञ्चल स्टारको पहिलो चरणको अडिशनमा उनी सफल भए । त्यसपछि, पियानो राउण्ड, तेस्रो र चौथो चरणमा पनि खरो उत्रदै टप २५ मा अटाउन सफल भएका छन् ।
गीत,संगीतप्रति लगाव भएपनि उनले अहिलेसम्म औपचारिक कोर्ष भने सिकेका छैनन् । प्रशिक्षणको मौका पाएका थिए, घरको आर्थिक अवस्थाले गर्दा जान सकेनन् । उनलाई नेत्रहिन संघले राजधानीमा निःशुल्क एक बर्ष संगीत अध्ययन गर्ने छात्रवृत्ति दिएको थियो । गाउँघरमा हुर्किएका उनी एक्लै जान सकेनन् । मोरङको पथरीस्थित ओजस्वी संगीत पाठशालाले पनि प्रशिक्षणको अवसर त दियो, तर खाने बस्ने व्यवस्था आफैले गर्नुपर्दा जान सकेनन् । तर, अब पुनः त्यस्तो मौका पाउदा भने उनी गुमाउन चाहदैनन् । ‘म्युजिक फिल्डमा केही गर्छु भन्ने आत्मविश्वास छ, त्यसैले अब अवसर पाएभने गुमाउदिन, जे जस्तो भएपनि कोर्ष गर्नेछुँ’–उनले भने ।

किसान भद्रसिंह र जनक कुमारीका ६ सन्तान मध्ये उनी जेठा हुन् । दृष्टिविहिनलाई पढाउने स्कुलबारे थाह नपाउदा उनी करिब १६ बर्षको उमेरदेखि मात्रै दृष्टिविहिन स्रोत कक्षामा भर्ना भए । अहिले उनी कक्षा ७ मा पढ्दैछन् । उनी स्कुलमै हार्मोनियमसँग रियाज गर्छन् । पूर्वाञ्चल स्टार–२ का निर्णायकद्धय एवं गायक किसोर थुलुङ र ए.पि.शेर्पा टिकाराममा गायन प्रतिभा भएको स्वीकार गर्छन् । ‘उनले गाएको सुनेका छौं, स्वर राम्रो छ, गायकी र प्रस्तुती पनि राम्रो छ’–दुवैको एउटै भनाई छ–‘उनी आफ्नै प्रतिभाले उत्कृष्ट २५ सम्म छनौट भएका हुन् ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे