धरानमा सुनिए कवि फूलमान


धरान । पेशाले उनी पत्रकार हुन् । तर, उनको कलम समाचार लेखनमा मात्रै सिमित छैन । राजधानीमा रहेर पत्रकारितामा जमेका फूलमान वलको परिचय युवा कवि तथा साहित्यकारकोरुपमा पनि स्थापित छ ।
पत्रकारकोरुपमा ‘६ क ’ मा बाधिएर चल्ने उनको कलम कविकोरुपमा भने स्वच्छन्दरुपमा चल्छ । आफ्नो पीडत तथा अनुभूति, राजनीतिक एवं नश्लीय चेतनालाई उनी सरल भावमा कविताकोरुपमा अभिव्यक्त गर्छन् । उनै पत्रकार कवि वल शनिबार आफ्नो सशक्त सृर्जनाहरुका साथ धरानमा गुञ्जिए । फ्यान क्लब अफ रमेश क्षितिज र कलरव धरानले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा उनले झण्डै २ दर्जन कविताहरु सुनाए ।
कवि वलले आफ्ना सृर्जनाहरु वाचन गर्नुअघि नै प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार जसराज किरातीले उनको प्रेमिका शिर्षकको कविता वाचन गरिदिए । त्यसपछि, आफ्नो चिनारी बोकेको कविता भन्दै उनले दोस्रो जुनि शिर्षकको कविताबाट एकल वाचन शुरु गरे । उनले क्रमशः भ्यालेण्टाइन डे को जुन, मैले बुद्ध भेट्याए, गाउँ छोडेको दिन, हिउ परेको साँझ, रुम नम्बर १०३, चिट्ठी, सितलहर, सरकार र सोनाम योञ्जन, शान्तिको रंग शिर्षकका कविताहरु लगातार सुनाउदै लगे । उनी कहिले माया पिरतीको कुरा गर्थे भने कहिले विम्बहरुमार्फत गाउँघर पुग्थे । कहिले एउटा नागरिक कसरी सज्जन, इमान्दार छन र सरकार कसरी वेइमानी गरिरहेको छ भनेर पर्दाफास गरिदिन्थे । उनले भूपि शेरसनको सम्झनामा लेखेको चिचीको रुख पनि सुनाए । लाज पचाएको चरित्रहिन काठमाण्डौं भन्दै काठमाण्डौं विरुद्ध कविता पनि वाचन गरे । गुगल जिन्दगी कवितामार्फत उनले प्रविधिले मानव जीवनमा परेको प्रभावलाई दर्शाए ।

वाचन कार्यक्रमको अन्त्यतिर न्युज शिर्षकको कविता सुनाउदै उनले पत्रकारिता क्षेत्रमा मौलाउदै गएको विकृतिलाई उदांगो पारिदिए । र, उनले चर्चित कविता महाभारतकी मैच्याङ् वाचन गर्दै एकल कविता वाचनलाई विट मारेका थिए । यो कविताले ०६९ मा गरिमा सम्मान प्राप्त गर्न सफल भएको थियो । सय रुपैयाको टिकट काटेर स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालयको हलमा प्रत्यक्ष कविता सुन्न आएका साहित्यनुरागीहरु क्विता वाचन हुदा चुप लाग्थे । वाचन सकिएपछि प्रत्येक कवितामा गड्गडाहट ताली ठोक्थे । कवि वलले आफ्ना २२ वटा कविता वाचन गरेका थिए भने एउटा कविता चन्द्रवीर तुम्बाफोले वाचन गरिदिएका थिए । ‘वैरागी काइला, कृष्ण भुषण वल, कुन्ता शर्मा, वम देवान जस्ता साहित्यका हस्तीहरु भएको क्षेत्र(पूर्व)मा आएर कविता सुनाउन पाए, यही क्षेत्रबाट नेपाली साहित्यमा विभिन्न वाद र प्रयोगहरु भएको छ, त्यस्तो क्षेत्रमा आउन पाउदा ज्यादै खुशी छुँ’–उनले भने ।


साहित्यकार वम देवानले वलका कविताहरु सशक्त, सुन्दर र समसामयिक भएको टिप्पणी गरे । प्रकृति र जीवनलाई सम्बोधन गरिएको कविताहरु भएको धारणा राख्दै उनले थिचिएको, पिल्सिएको, दबिएको आवाजलाई फुलमान वलले निकाल्न सफल भएको बताए । साहित्यकार जसराज किरातीले मुलुकलाई धेरै जना फुलमानहरु आवश्यक भएको बताउदै आफ्नोपन जोगाउन जुट्नुपर्ने धारणा राखे । कवित अनिल पौडेलले वल कवि, पत्रकारसँगै राम्रा कथाकार, नाटककार, चलचित्रकर्मी पनि भएको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे