धरानमा झोलेको रेड कार्पेट प्रिमियर शो


धरान । ‘म झोलेको झोलेनी हुँ’–रेड कार्पेटमा उभिएकी नायिका प्रियंका कार्कीले यसो भन्दा शनिबार साँझ धरानको गणेश टाँकिज परिसर हाँसो छायो ।  उनको यो कुराले एक घण्टा भन्दा बढी समयदेखि पखाईमा रहेका दर्शकहरुले पट्यारलाग्दो क्षणलाई बिर्सिए ।
चलचित्र हेर्न हलभित्र प्रवेश नगरी सबै दर्शकहरुले झोलेका कलाकारहरुलाई केहीबेर बाहिरै घेरेका थिए । सञ्चारकर्मीसँगको केहीबेरको कुराकानीपछि कलाकारहरु दर्शकसँग फोटोसेसनमा अल्मलिए । आगामी फागुन ९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र झोलेको शनिबार रेड कार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । स्थानीय आयोजकले साढे ५ बजे नै कलाकार आइपुग्ने र रेड कार्पेटमा हिडेर केहीबेर सञ्चारकर्मी एवं दर्शकसँग साक्षात्कारपछि ठिक ६ बजे प्रिमियर शो हुने भनिएको थियो । तर, कलाकारहरु नै एक घण्टा ढिला आइपुगेका थिए । त्यसमाथि, नायक दयाहाङ राई उपस्थित नहुदा दर्शकहरुले केही खल्लो महशुस गरे ।

निर्देशक दिपेन्द्र के खनालले बुबाको देहान्त भएकोले नायक दयाहाङ पुख्यौली घर भोजपुर जानुपरेको र फर्कदा बसले ढिलाई गरेको प्रष्टीकरण दिए । ‘दयाहाङ भोजपुरबाट फर्कदै हुनुहुन्छ, बस बिग्रिएर आइपुग्न ढिलाई भयो’–निर्देशक खनालले भने । उनका अनुसार चलचित्र झोले कमेडी फिल्म हो । काम नभएका बेरोजगार युवाले शहरमा भोग्नुपरेको पीडालाई हास्यब्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको निर्देशक खनालले बताए । ‘एकदमै लन्ठु, एउटा झोला बोकेर लखरलखर हिड्ने बेरोजगार युवाले गाउँबाट शहर पुगेपछि उसले भागेको पीडा, दुःखको ब्यङ्गात्मक फिल्म हो’–उनले भने–‘फिल्म एकदमै मनोरञ्जनको प्याकेज हो, केही सन्देश दिन बनेको होइन ।’


यसअघि चपली हाइट, भिजेलान्तेजस्ता फिल्म निर्देशन गरिसकेका खनालले अरुसँग नभई आफ्नै चलचित्रको रेकर्ड तोड्ने प्रतिस्पर्धा रहेको पनि बताए । उनको चपली हाइटले ३ करोडको व्यापार गरेको भनिएको थियो । चलचित्र झोले ६५ लाख लागतमा तयार भएको हो । ‘काठमाण्डौंमा दुई पटक प्रिमियर शो भइसक्यो, एकदमै रुचाइएको छ’–एक करोडको करोबार गर्ला भन्ने प्रश्नमा खनालले भने–‘मेरै ३ करोडको रेडर्क छ, त्यसैले आफैसँग प्रतिस्पर्धा हुन्छ ।’
नायिका कार्कीले फरक चरित्र र कथाको प्रस्तुतीमा नयाँपन भएको कारणले दर्शकले फिल्म रुचाउने आशा व्यक्त गरिन् । उनले हिरो हिरोइन भन्दा पनि फिल्ममा पात्रकोरुपमा आफुहरु प्रस्तुत भएको बताइन् । ‘कथाको प्रस्तुतीमा नयाँपन छ, यहाँ हिरोहिरोइन भन्दा पनि पात्रकोरुपमा छौं’–उनले भनिन्–‘युवा पुस्ताको बेरोजगार समस्यालाई फिल्मले समेटेको छ ।’ चलचित्र दयाहाङ, प्रियंकाँगै ए गुरुङ, शिशिर रानाको पनि अभिनय रहेको छ । दिपेन्द्र के खनालले निर्देशन गरेको झोलेको निर्माता टेकन खड्का छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे