तस्करीको काठ फर्निचर उद्योगमा भेटियो


धरान । यहाँको एक फर्निचर उद्योगले काठ तस्करसँग मिलेर वन क्षेत्रबाट राती रुख काटेर तस्करी गरिरहेको रहस्य खुलेको छ । लांघाली वन समुहका पदाधिकारीहरुले धरान ८ स्थित उत्तम फर्निचर उद्योगमा आफ्नो वन क्षेत्रमा अवैधरुपमा काटेको सखुवाका रुखको टुना फेला पारेपछि तस्कर र उद्योगबीचको मिलेमतोको रहस्य बाहिरिएको हो ।
फर्निचरका सञ्चालक चन्द्र श्रेष्ठले तस्करीको काठबारे अनभिज्ञता प्रकट गरिरहेका छन् भने वन कार्यालयले पनि उद्योगलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही अघि बढाउन त्यति रुचि दिएको छैन । वन क्षेत्रबाट काठ ल्याउन प्रयोग गरिएको साधन(ठेला) पनि सोही फर्निचर उद्योगको भएको पुष्टि भइसकेको छ । त्यहाँ लांघाली वन क्षेत्रमा मंगलबार राती ढालिएको ३ फिट बढी गोलाई भएको सखुवाको टुना ३ वटा टुनासमेत फेला परेको थियो । साथै, तीन दिन अघि ढालेर तस्करी भएको रुखको टुना पनि त्यही फेला परेको समुहका पदाधिकारीले बताएका छन् ।

तस्करले काटेर लागेको रुखको टुठा(जरा) देखाउदै लांघाली वन समुहका सदस्य अमृत लिम्बू ।

तस्करीमा संलग्न भएको आरोपमा वन कार्यालयले २ जनालाई भने नियन्त्रणमा लिइसकेको छ । इलाका वन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामाले पहिलो प्राथमिकता तस्करको समुह पक्राउ गर्नु रहेकोले फर्निचर उद्योगबारे पछि विचार गरिने बताएका छन् । फर्निचर उद्योगमा तस्करीको काठ प्रमाणसहित फेला परेपनि वन कार्यालयले छानबीन एवं कारबाही गर्न अनाकानी गरेकोकोप्रति लांघाली वन समुहका पदाधिकारी पनि सन्तुष्ट छैनन् । उपभोक्ताका अनुसार लांघाली वन क्षेत्रमा महिनादिन यता तस्करहरुले राती रुख ढालेर तस्करी गर्न थालेका थिए । त्यसप्रति वन समुहले चासो दिएर निगरानी गर्न थालेपछि तस्करहरुबारे केही सुराक पत्ता लागेपनि प्रमाण फेला परेको थिएन । केही दिनयता ५ वटा रुख आधुनिक मेशिन प्रयोग गरेर ढालिएको फेला परेको छ भने केही रुखमा छप्पन गरेको अवस्थामा पनि भेटिएको छ ।
वन गस्तीकै क्रममा उपभोक्ताहरुले बुधबार बिहानै माथिल्लो फारलाइन भन्ने ठाउँ नजिकै भर्खरै ढालेको अवस्थामा सखुवाको रुखको टुप्पा र ठेलाको चक्काको डोब भेट्याए । उपभोक्ताहरुले तत्कालै वन समुहका पदाधिकारीलाई खबर गरेका थिए । पदाधिकारीहरुले सुराकी परिचालन गरेको केहीबेरमा नै बुधबार बिहानै उत्तम फर्निचर उद्योगमा चिरान गर्दै गरेको अवस्थामा त्यही रुखको फेदको टुना भेट्याए । ‘बिहानै गस्ती टोलीले रुख ढालेको खबर गर्नासाथ हामीले केही उपभोक्तालाई नै खटायौं, उनीहरुले खबर दिएपछि मिलमा पुग्दा टुना चिरान गर्दै गरेको भेट्यौं’–लांघाली वन समुहका कार्यसमिति सदस्य अमृत लिम्बूले भने–‘टुना ल्यान प्रयोग गरिएको ठेला गाडी र प्रमाण काठ पनि भेटेपछि वन कार्यालयलाई खबर गर्यौं ।’
तस्करले मंगलबार राती काटेर लगेको सखुवाको रुखको र त्यही छोडेको रुखको टुपातर्फको भाग ।

वन समुहले बुधबार बिहानै वन कर्मचारीलाई घटनाबारे जानकारी गराएपनि बिहिबार दिउँसोसम्म पनि फर्निचर उद्योगमा फेला परेको तस्करीका काठबारे मुचुल्का उठाउने काम भएको छैन । वन कर्मचारी आउनुअघि नै उद्योग सञ्चालकले आफु बच्नको लागि तस्करी गरिएको काठलाई मिल बाहिर निकालेका थिए । सहायक वन अधिकृत ज्ञानकुमार लामाले ती काठलाई मिल भित्रै राख्न निर्देशन दिएपछि उद्योगमा ल्याइएको अन्य काठले छोपेर राखिएको छ । वन समुहका पदाधिकारी पुग्दा मिल मालिककी श्रीमति आपैm उपस्थित भएर तस्करीको काठ चिराउदै गरेको भेटिएपनि अहिले उनीहरु ‘काठ कसरी त्यहाँ आइपुग्यो भनेर थाहै नभएको’ भन्दै पन्छिने गरेका छन् । तथापी, सञ्चालक श्रेष्ठले महिना दिनदेखि आफ्नो ठेला तस्करले प्रयोग गरेको भने स्वीकारेका छन् । ‘यस्तो काम महिनादेखि भइरहेको रहेछ, तर यी काठ कसरी यहाँ आयो थाह भएन, हामीले चिराउन लगाएको होइन’–उनले भने ।
 सहायक वन अधिकृत लामाले भने दुई प्रमुख तस्कर पक्राउ गरिसकेको र अन्यको खोजी तीब्र भइरहेको बताए । मुख्य तस्करी समातिएको र अन्यलाई पनि फक्राउ गरेपछि फर्निचर उद्योगको संलग्नता भए नभएकोबारेमा थप अनुसन्धान गर्ने उनले बताए । ‘तस्करको ठुलो समुह छ, पहिलो प्राथमिकता त्यो समुह समाउनु हो, उद्योगबारे पछि बुझौला’–उनले थप खुलाउन चाहेनन् । लांघाली वन समुहका अध्यक्ष झमक मगरका अनुसार वन क्षेत्रबाट तस्करी बढेपछि समुहले यसअघि छानबीन, खोजी र कारबाहीको माग गर्दै वन कार्यालयमा ३ वटा निवेदन दिइसकेको छ ।

तस्करले राती काटेर लगेको रुखको फेदमा वनको गस्ती टोली ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे