खानेपानी आयोजनाबारे कांग्रेसको श्वेत पत्र जारी गर्यो

धरान । एसियाली विकास बैंकको ऋण तथा अनुदानमा शुरु धरान खानेपानी आयोजना सफल गराउन धरानबासी एकजुट भएर खबरदारी गर्न आग्रह गर्दै नेपाली कांग्रेसले श्वेतपत्र जारी गरेको छ ।
कांग्रेस सुनसरी १ नम्बर क्षेत्रीय कमिटि र धरान नगरकमिटिले शुक्रबार संयुक्तरुपमा श्वेतपत्र जारी गर्दै योजना असफल गराउन केही व्यक्ति एवं समुहले जनमानसमा भ्रम फैलाइरहेकोले त्यसको खबरदारी गर्दै प्रतिकार गर्नसमेत आह्वान गरिएको छ । धरानको खानेपानी अभावको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न नगरपालिकाले महत्वकांक्षी योजना अघि सरेर कामसमेत तीब्ररुपमा भइरहेको बेला विकासका योजनालाई असफल बनाउन केही व्यक्तिहरु लागिपरेको भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ । खानेपानी योजनाको काम शुरु भएपछि जनसरोकार मञ्च नामको संस्था विरोधमा उत्रिएपछि कांग्रेसले श्वेत पत्र जारी गरेको हो । तथापी,केही समयअघि भएको सर्वदलीय वैठकले नगरपालिका, सबै राजनीतिक दल,नागरिक समाज, उद्योगीलगायतले संयुक्त श्वेत पत्र जारी गर्ने सहमति गरेको थियो ।
कांग्रेस नगर सभापति किसोर राईले हस्ताक्षर गरेको श्वेतपत्रमा खानेपानी योजना असफल भएमा धरानमा कुनै पनि योजना सफल हुदैन भन्ने सन्देश दाता एवं मन्त्रालयमा पर्ने र यसले धरानमा ठुला योजना आउने बाटो सधैको लागि अवरुद्ध हुने उल्लेख छ । पर्यटन क्षेत्रतर्फ उन्मुख धरानमा खानेपानी अभावकै कारणले ठुला होटल, उद्योगहरु खुल्न नसकेको भन्दै श्वेत पत्रमा योजना असफल भएमा भावी पिढीको भविष्यसमेत अन्धकार हुने उल्लेख छ । ‘अतः विकासको अति आवश्यक तत्व मानिएको खानेपानीको यो योजनालाई जुनसुकै मुल्यमा सफल बनाएर हाम्रो विकासको भविष्य सुदृढ गर्नु हामी सबैको कर्तव्य पनि हुन आउछ’–श्वेतपत्रमा भनिएको छ ।
लामो प्रयासपछि एडिबिको ऋण तथा अनुदान सहयोगमा खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर धरानमा एकीकृत शहरी विकास आयोजनाको काम शुरु भएको छ । हाल खानेपानी योजनाअन्र्तगत कुम्भिआहाल भन्ने ठाउँमा भुमिगत पानीको बोरिङको काम भइरहेको छ । बोरिङको काम शुरु भएपछि जनसरोकार मञ्च नेपाल नामको एक गैरसरकारी संस्थाले एडिबिको मुख्यालयमा विरोधपत्र पठाएको थियो । यो घटनालाई एडिबिले गम्भीररुपमा चासो लिएपछि २२ मिलियन डलर(करिब सवा २ अर्ब रुपैया) बराबरको अनुदान तथा ऋण सहयोगमा शुरु भएको आयोजना फिर्ता होला कि भन्ने आशंका बढेको थियो । एडिबिले कुनै पनि विवादास्पद आयोजनामा हात हाल्दैन वा विवाद भएमा आयोजना फिर्ता गराउनसक्छ । नगरबासीसँग सल्लाह नगरी आयोजना शुरु गरेको भन्दै मञ्चले एडिबिको मुख्यालय र एडिबिको छानबिन गर्ने निकायमा उजुरी गरेको थियो ।
एडिबिबाट प्राप्त २२ मिलियन डलरमध्ये अधिकतर (करिब १ अर्ब ९३ करोड रुपैया) लगानी खानेपानी आयोजनामा हुनेछ । एडिबिले उक्त रकममध्ये ५० प्रतिशत अनुदान दिएको हो भने ३५ प्रतिशत नेपाल सरकारले नगर विकास कोषमार्फत २० बर्षको लागि ऋणमा उपलब्ध गराउनेछ भने बाँकी १५ प्रतिशत नगरपालिकाले सहभागीता जनाउनु पर्नेछ । हाल खानेपानी आयोजनाको डिजाइनको लागि सर्वेको काम अन्तिम चरणमा पुगेको छ भने धरान १७ स्थित जंगलमा पर्ने कुम्भीआहालमा ड्रिलिङको काम भइरहेको छ । खानेपानीको चर्को अभाव झेल्दै आएको धरानबासीलाई सन् २०१७ को जुन महिनासम्ममा पानी विरतण गर्ने लक्ष्य लिएर गत बर्षदेखि आयोजना शुरु भएको हो । हाल ८३ प्रतिशत मात्रै नगरबासीले खानेपानीको सुविधा उपभोग गर्न पाएकोमा यो आयोजनाले जनसंख्याको सत प्रतिशत र त्यतिपनि नभए ९५ प्रतिशतलाई सुविधा दिलाउने लक्ष्य राखेको छ । सो अध्ययनबाट सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्न सकिने देखिएको थियो । आयोजनाबाट दैनिक २ करोड ३० लाख लिटर पानी संकलन हुने अनुमान छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे