मिडियामा समर्पित बुढासुब्बा गोल्डकप चैतमा हुने


धरान । मोफसलको प्रतिष्ठित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप रेडबुल फुटबल प्रतियोगिताको १६ औं सँस्करण आगामी चैत पहिलो सातादेखि हुने भएको छ । धरान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरेर बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण चैत ६ गतेदेखि १५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । एघार दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई ‘मिडियामा समर्पित गोल्डकप’ भन्ने नारा दिइने क्लबका अध्यक्ष किसोर राईले बताए । उनका अनुसार प्रतियोगितालाई निरन्तर एवं सफलरुपमा आयोजना गर्न मिडियाको ठुलो भुमिका भएकोले सम्मान गर्दै यो नारा दिइन लागिएको हो । ‘बुढासुब्बा गोल्डकपलाई यो उचाईमा पुर्याउन मिडियाको अतुलनीय हात छ, त्यसैले सम्मान गर्दै यो सँस्करणलाई मिडियामा समर्पित गोल्डकप स्लोगन दिनेछौं’–अध्यक्ष राईले भने–‘पूर्वाञ्चलकै प्रतिष्ठा बनेको गोल्डकपलाई विगतमा झै सफल बनाउन विभिन्न समितिहरु बनाएर तयारीमा जुटिसकेका छौं ।’ ०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना भइरहेको एक मात्र फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा आयोकसहित नेपालका ए डिभिजन क्बल र विदेशीसहित दर्जन बढी टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । आमन्त्रित टिमकोरुपमा भारतीय गोर्खा क्बल, ब्रुनई गोर्खा क्लब र साविक विजेता हङकङ्ग नेपाली महासंघले सहभागीता जनाउनेछ । यस्तै, बंगलादेश र भारतका ए डिभिजनका क्लबहरुलाई पनि प्रतियोगितामा सहभागी गराउने पहल भइरहेको आयोजक क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । प्रतियोगितामा आयोजकको दुई टिम हुनेछ भने ए डिभिजन क्लबहरु लक्ष्मी ह्युण्डाई मनाङ मस्र्याङ्दी क्लब, लक्ष्मी बैंक थ्री स्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साहरा क्लब पोखरा, एन्फा एकेडेमी(अण्डर १६ नेपाल)ले भाग लिनेछ । ‘प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन बंगलादेश र भारतका ए डिभिजन क्लबलाई पनि सहभागी गराउन प्रयास गरिरहेका छौं’–एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने । उपाधि जित्ने लक्ष्य लिएर यो सँस्करणमा आयोजकले दुई वटा टिम बनाउने उनले बताए ।


प्रतियोगिताको अघिल्लो सँस्करण भन्दा यसपटक पुरस्कार राशीमा वृद्धि गरिने घोषणा गरेपनि आयोजकले रकम भने खुलाएको छैन । अघिल्लो सँस्करणमा विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ६२ हजार ५ सय नगद पुरस्कार पाएका थिए । पुरस्कार राशीसँगै खेलाडीलाई व्यक्तिगतरुपमा दिइने विधाको पुरस्कार राशीमा पनि वृद्धि गरिने क्लबले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले भने यामाहा मोटरसाइकल पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न नरेन्द्र चोङबाङ संयोजक रहेको आर्थिक समिति, सुदिप उप्रेती संयोजक रहेको प्रचारप्रसार समिति, सतिस केसी संयोजक रहेको प्याराफिट तथा खेल मैदान निर्माण समिति तयार गरिएको उपाध्यक्ष धनबहादुर राईले जानकारी दिए । यस्तै, खेलाडी तथा यातायात व्यवस्थापन समितिको संयोजक इन्द्र थापा मगर, उद्घाटन तथा समापन समारोह समितिको संयोजक नारायण सुवेदी र स्वयमसेवक परिचालन समितिको संयोजकमा धनबहादुर राईलाई जिम्मेवारी दिएको पनि उनले खुलाए । प्रतियोगिता आयोजना गर्न कुल ५२ लाख ५७ हजारको अनुमानित आय व्यय रहेको पनि उनले जानकारी दिए ।
...................

               तीन बर्षे सम्झौता थप

बुढासुब्बा गोल्डकपलाई प्रायोजन गर्दै आएको जे.बि.मार्केटिङ प्रालि(रेडबुल) र धरान फुटबल क्लबबीच प्रायोजनको थप तीन बर्षको लागि सम्झौता भएको छ । सम्झौता थप भएसँगै प्रतियोगिताको लागि प्रायोजकले रकमा पनि केही वृद्धि गरेको छ । शनिबार आयोजक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राई र प्रायोजककातर्फबाट परशु अधिकारीले सम्झौता पत्र आदानप्रदान गरेका थिए ।
सम्झौता वमोजिम प्रालिले बर्षेनी कुल ९ लाख २५ हजार रुपैया उपलब्ध गराउनेछ । यो विगतको भन्दा ७५ हजार बढी हो । मुख्य प्रायोजककोरुपमा ६ लाख उपलब्ध गराउदै आएको जेबि(रेडबुल)ले यो बर्षदेखि ६ लाख ५० हजार दिनेछ भने सहप्रायोजककोरुपमा रहेको गोर्खा बु्रअरी(टुबोर्ग)ले २ लाख ५० हजार दिदै आएकोमा अब २ लाख ७५ हजार उपलब्ध गराउने प्रालिका अधिकारीले जानकारी दिए ।
............

                                  अक्षयकोष स्थापना


बुढासुब्बा गोल्डकपलाई निरन्तर सञ्चालन गर्न क्लबले एक करोडको अक्षय कोष बनाउने भएको छ । यसको लागि तीन सदस्यीय समिति गठन भइसकेको छ भने नियमावली पनि तयार भइसेको अध्यक्ष राईले जानकारी दिए । अक्षय कोषको समितिमा क्लबका अध्यक्ष राई नै अध्यक्ष छन् भने क्लबका कोषाध्यक्ष र दाताहरुमध्येबाट एक जना रहने व्यवस्था गरिएको छ । अक्षय कोषको खाता यी तिन जनाबाट सञ्चालन हुनेछ ।
अध्यक्ष कोषको ब्याजको ६० प्रतिशत बुढासुब्बा गोल्डकपको लागि खर्च गरिनेछ भने ४० प्रतिशत कोषमै राखिने व्यवस्था गरिएको अध्यक्ष राईले बताए । ‘गोल्डकप आयोजना गर्न सधै समस्या नहोस भने एक करोडको अक्षयकोष बनाउने लक्ष्य छ, यसको लागि नियमावली पनि तयार गरिसकेका छौं’–उनले भने । अक्षयकोषको लागि धरान ११ की शिव वान्तवो गत सँस्करणमा नै एक लाख रुपैया क्लबलाई हस्तान्तरण गरेकी थिइन् भने गोपाल शिवाकोटी चिन्तनले ५० हजार, विद्य शाक्यले १० हजार रुपैया अक्षय कोषलाई सहयोग गरिसकेका छन् ।
...................

            नाफा नहुनुको कारण पूर्वाधार अभाव

विगत १६ बर्षदेखि बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुदै आएपनि मुनाफा भने केही सँस्करणमा मात्रै आयोजकले हात पार्न सकेको छ । घाटाको कारण अधिकांश सँस्करण पछि आयोजक हराउने गरेको भनेर आलोचन पनि हुने गरेको छ । तथापी, केही बर्ष यता भने आयोजकले गोल्डकपलाई नाफामुखी बनाउने भन्दै कम्मर कसेपनि अपेक्षित मुनाफा भने कमाउन सकिरहेको छैन । यसको मुख्य कारण पूर्वाधारयुक्त रंगशालाको अभाव भएको धरान फुटबल क्लबको भनाई छ ।
अध्यक्ष राईका अनुसार पूर्वाधारयुक्त रंगशाला नहुदा प्रतियोगिताको लागि प्याराफिट, मञ्चलगायत अस्थायी पूर्वाधार निर्माणमा ठुलो धनराशी खर्च गर्नुपर्छ । जसले गर्दा प्रतियोगिताबाट हुने आम्दानी अपेक्षाअनुरुप हुन सकेको छैन । ‘बारम्बार प्रतियोगिता घाटाको भयो भन्ने आरोप लाग्छ, यसको मुख्य कारण पूर्वाधार अभाव नै हो, किनभने अस्थायी पूर्वाधार निर्माणमा ठुलो खर्च हुन्छ’–उनले भन–‘जसको कारणले क्लबलाई मुनाफामुखी गोल्डकप सञ्चालन गर्न कठिन भएको छ ।’
आयोजकले सार्वजनिक गरेको गोल्डकपको १६ औं सँस्करणको आय व्ययमा पनि बाँसको प्याराफिट तथा मैदान मर्मतमा ७ लाख रुपैया बजेट छुट्याइएको छ । यो कुल बजेटको दोस्रो ठुलो शिर्षक हो । सबैभन्दा बढी टिम(खेलाडी) भ्रमण तथा भत्ता व्यवस्थापन शिर्षकको खर्च १३ लाख रुपैया विनियोजन गरिएको छ । धरान १६ स्थित रंगशाला पूर्वाधार सम्पन्न बनाउन शुरु गरेपनि अहिलेसम्म पुरा भएको छैन । विगत ४ बर्षदेखि एन्फा टेक्निकल सेन्टरको मैदानमा आयोजना हुदै आएपनि त्यहाँ एकातर्फ मात्रै पक्की प्यपाराफिट निर्माण गरिएको छ। बाँकी प्रतियोगिताको लागि अस्थायीरुपमा बाँसको प्याराफिट निर्माण गर्नुपर्छ । आयोजकले गत सँस्करणमा एक लाख रुपैया मात्रै नाफा कमाएको थियो । आयोजकले १४ औं सँस्करणमा मात्रै अहिलेसम्म सबैभन्दा बढी ४ लाख रुपैया नाफा कमाउन सकेको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे