कतारमा जलेका पदमबहादुरले तलब पनि पाएनन्


धरान । उनी जिम हल गएनन्, तर टोलका दौतरीहरुसँग मिलेर घरमै कडा शारीरक कसरत गर्थे । ज्यान कुनै बडिविल्डरको भन्दा कम थिएन । वलिष्ठ पाखुरा र ज्यानले टोलमा उनी बडिविल्डरकैरुपमा पनि चिनिएका थिए । यो ०५२/०५३ सालतिरको कुरा हो ।
.....
घरको आर्थिक अवस्था कमजोर थियो । उनले मिस्त्रीको काम गर्न थाले । विहे गरेपछि थप जिम्मेवारी र आर्थिक दायित्व पनि बढ्यो । घरव्यवहार थाम्न मुस्किल भएपछि मजदुरी गर्न भारतका विभिन्न शहरतिर पाँच,छ बर्ष बिताए । त्यतिबेलासम्म आफ्ना दौतरीहरु भने विदेशबाट बडेमानको सुटकेश बोकेर घर फिर्थे । उनलाई पनि लाग्यो, अब विदेश नगई नहुने रहेछ । ‘प्लेन यात्रा कस्तो होला, विदेश कस्तो होला’ भन्ने खुल्दुलीले पनि अन्ततः धरान ११, मंगलबारेका पदमबहादुर श्रेष्ठलाई सन् २००५ मा कतार पुर्यायो ।
.............
गत बर्ष मंसिरको कुनै शुक्रबार । मिति उनलाई पनि याद छैन । विदाको दिन भएकोले उनी कतारको ओख्रा भन्ने ठाउँको पेट्रोलमा पार्टटाइम काम गर्न पुगेका थिए । बिहानको करिब ८ बजेतिर हुदो हो, चुरोट खाने बानी परेका पम्पका मालिकले सल्काएको चुरोटले पम्पमा आगो सल्कियो । ‘ड्याम्म’ आवाजले पेट्रोल पम्प पड्कियो । उनी त्यहाँबाट उम्कन सकेनन्, शरीरभरी आगो सल्कियो । त्यो आगोले उनको शरीर मात्रै जलाएन, पदमबहादुर र उनको परिवारको सपना पनि जलायो । उनीसँगै काम गरिरहेका वखलढुंगाका राई थरका साथी भने सामान्य घाइते मात्रै भए । पम्प मालिक पनि सकुशल नै बँचे ।
करिब ६ महिना अस्पतालमा बेहोस बनेका पदम कोमाबाट होसमा फिर्दा जलेको आफ्नै अनुहार र जीउ देखेर तर्सिए । ‘भाग्दा भाग्दै आगोले टिपिहाल्यो, ६ महिनासम्म हस्पिटलमा राखेर उपचार भएछ’–आफ्नै निवासमा भेटिएका पदमले भने–‘धन्न बाँचेछु, होस आएर अनुहार हेर्दा त आफैसँग डर लागेको थियो ।’ उनको खुट्टाको पैतलाबाहेक शरीरको प्रायः सबै भाग जलेर कुरुप भइसकेको थियो । दर्दनाक घटनापछि कतारमा उनको विजोग भयो । हमत हस्पिटलमा ६ महिना उपचार निःशुल्क भएपनि उनले काम गर्ने कम्पनी ला भिल्ला ल्याण्डस्केप एण्ड ट्रेडिङले १० महिनाको तलब दिएन । केही समय प्रहरीमा उजुरी दिएर तलब र विमाको लागि पहल गरेपनि खर्च धान्न सकेनन् । घर फर्कन टिकट काट्ने पैसा थिएन । उपचाररत हस्पिटलका डाक्टर र नर्सहरुले नै पैसा उठाएर उनलाई असारमा नेपाल फर्काइदिए । ‘कम्पनी डुबेर १० महिना काम गरेको पैसा पाएको थिइन, मुद्दा लड्दै थिए, पैसा भएन, साथ दिने पनि कोही थिएन, त्यसै फर्किनु पर्यो’–आफ्नो पीडा सुनाउदै उनले भने ।
यो घटना हुदा उनकी श्रीमति सुजता पनि घरेलु काम गर्न कुवेत पुगेकी थिइन् । तत्कालै घर फर्कन चाहदा पनि मालिकले दिएनन् । घाइते श्रीमान्को फोटो देखाएपछि मात्रै असोजमा फर्कन पाइन् ।


अहिले जेठाजुको कमाईले जसोतसो घर चलिरहको छ । सानो घरमा दुई छोरी, ७५ बर्षका ससुरा, जेठाजु पनि बस्छन् । नेपाल फर्केपछि पदमबहादुरको थप उपचारमा डेढ लाख बढी खर्च भइसक्यो । उनलाई सुगरले पनि भेट्यो । यसले उनको टाउकोको घाउ सुक्नै दिएको छैन । रातभरी जिउ चिलाएर, ढाड दुखेर सुत्नै सक्दैनन् । जीउ, हात चलाएनन् भने कुजिन थालिहाल्छ । घरको लागि कमाउने व्यक्ति नै थाल परेपछि आर्थिक समस्याले यो परिवार एकदमै पिरोलिएको छ । एउटा अपांग तथा असहाय पुर्नस्थापना केन्द्र नामको संस्थाले अप्रेशन खर्च व्यहोरिदिने भएपछि उनीहरु काठमाण्डौं गएका छन् । तर, त्यहाँ खाने, बस्ने र औषधी खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । ‘डाक्टरले हात, ओठ मिलाइदिन्छु भनेको छ,तर खर्च छैन’–श्रीमति सुजताले सहयोगको आग्रह गर्दै भनिन्–‘अरु संघसंस्था र सहयोगीहरुलाई भनिरहेका छौं, केहीबाट सहयोग पनि पाइरहेका छौं ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे