चन्द्रबहादुर जमानीमा छुटे, अझै दुई लाख बढी तिर्न बाँकी


धरान । उपचार खर्च तिर्न नसकेर करिब दुई सातादेखि न्युरो अस्पतालमा अलपत्र बनेका धरानका चन्द्रबहादुर कोइराला(बि.क.)लाई सहयोग समितिले जमानी बसेर घर ल्याएका छन् ।
विभिन्न संघसंस्थाहरुबाट एक लाख रुपैया जुटेपछि अस्पताललाई बुझाएर विरामी चन्द्रबहादुरलाई सहयोग समितिले जमानीमा शनिबार घर फर्काएको हो । एक लाख रुपैया बुझाएपनि अस्पताललाई अझै एक लाख ८२ हजार तिर्न बाँकी नै छ भने औषधी पसलमा पनि ४० हजार तिर्न बाँकी छ । एक लाख रुपैया जम्मा गरेपछि अस्पतालले समितिको रोहबरमा विरामीलाई घर फर्कन दिएपनि औषधी पसल सञ्चालकलाई मनाउन भने निक्कै पापड बेल्नु परेको समितिले जनाएको छ । ‘एक लाख बुझाएर हामी जमानी बसेपछि अस्पतालले घर ल्याउन दियो,तर औषधी पसलले निक्कैबेर रोक्यो’–सहयोग समितिका संयोजक हरि तामाङले भने ।

  घर फर्किएका चन्द्रबहादुर श्रीमतिको साथमा घाम ताप्दै ।
उनका अनुसार बक्यौता रकम २ महिनाभित्र बुझाउने सर्तमा अस्पतालले विरामीलाई घर ल्याउन दिएको हो । यसैगरि, औषधि पसलले पनि बढीमा १० दिनभित्र बाँकी रहेको पैसा तिर्ने सर्तमा मात्रै विरामीलाई घर फर्काउन दिएको छ । ‘तत्काल घरदैलो कार्यक्रम गरेर आर्थिक संकलन गर्ने योजना बनाएका छौं, नत्र त्यत्रो रकम कसरी जुटाउने ?’–सहयोग समितिका संयोजक तामाङले भने–‘बक्यौता तिर्न जादा नै के कति छुट दिने भनेर छलफल गर्नेछौं ।’
विरामी चन्द्रबहादुरलाई छुटाउन मानवधर्म सेवा समिति धरानले ५० हजार दिएको थियो भने २५ हजार स्थानीयबाट संकलन भएको थियो । यस्तै, अनेमसंघ १९ नम्बर वडा कमिटिले १५ हजार र एमाले नेता पदम इस्पोले १० हजार आर्थिक सहयोग दिएका थिए । यसरी जम्मा भएको एक लाख रुपैया बोकेर शनिबार सहयोग समितिका संयोजक तामाङसँगै वडाबासी पुर्ण लिम्बू, अनेमसंघबाट भगीमाया लिम्बू र युगकुमारी लिम्बू अस्पताल गएका थिए । अस्पताल र औषधी पसलले यी चार जनाको जमानीमा मात्रै विरामी घर फर्काउन दिएको हो ।
एक महिनापछि आफ्नै घर आउन पाउदा विरामी चन्द्रबहादुर निक्कै खुशी छन् भने सहयोगीहरुप्रति आभारी पनि छन् । ‘एकदमै नराम्रो लागेको थियो, अहिले घर आउन पाए, ज्यादै खुशी छुँ’–घरअघि घाम तापिरहेका चन्द्रबहादुरले आँसु चुहाउदै भने–‘मलाई वरण्डामा लगेर भएपनि फालिदेउ भन्थे, मानेनन्, ।’ श्रीमति विष्णुले श्रीमान्लाई घर फर्काउन पाउदा खुशी भएपनि बाँकी रकम कसरी तिर्ने भनेर चिन्ता भएको बताइन् । ‘उहाँहरु जमानी नबसेको भए उहाँलाई घर ल्याउनै सक्ने थिइन’–उनले भनिन् ।

 घर फर्किएका चन्द्रबहादुर श्रीमतिको साथमा घाम ताप्दै ।
धरान १९, सुनाम टोलका ६८ बर्षीय चन्द्रबहादुलाई गत पुस २८ गते ‘हर्ट अट्याक’ भएपछि उपचारको लागि बीपी प्रतिष्ठान लगिएपनि विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिदिएको थियो । त्यहाँ उनलाई पर्मानेन्ट पेस मेकर(मुटुमा करेन्ट दिने ब्याट्री) लगाउन दुई पटक अप्रेशन गरिएको थियो । न्युरोले पूर्वाञ्चलमा पर्मानेन्ट पेस मेकर सफलतापूर्वक लगाइएको भन्दै प्रचार गरेपनि गरिब सुकुम्बासी परिवारका विरामी चन्द्रबहादुरलाई उपचार खर्च हिनाहा गर्न वा छुट दिन नमानेपछि डिस्चार्ज भइसकेर पनि घर फर्कन सकेका थिएनन् । न्युरोले चन्द्रबहादुरलाई माघ १४ गते नै डिस्चार्ज दिइसकेको थियो । सम्पुर्ण उपचार खर्चवापत ३ लाख ७३ हजार ८ सय ८१ रुपैया भएपनि ९६ हजार मात्रै चन्द्रबहादुरको परिवारले तिर्न सकेको थियो भने औषधी खर्च पनि ५५ हजार ८ सयै रुपैया तिर्नुपर्ने थियो । दुई छोराको साथमा बस्दै आएको यो परिवारको सम्पत्तिको नाममा सुकुम्बासी बस्तीको साढे ७ धुर जग्गा र कच्ची घर मात्रै हो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे