फागुन अन्तिम साता धरानमा चेस प्रतियोगिता हुने


धरान । अन्र्तराष्ट्रियस्तरको प्रथम बुढासुब्बा खुल्ला फिडे रेटिङ चेस प्रतियोगिता फागुन अन्तिम साता धरानमा आयोजना हुने भएको छ । सुनसरी जिल्ला बुद्धिचाल संघले पत्रकार सम्मेलन गरेर फागुन ३० गतेदेखि चैत ४ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा नेपाल र भारतबाट गरी एक सय बढी खेलाडीहरु सहभागी हुने संयोजक एवं धरान चेस क्लबका संरक्षक डा.के.बी.लिम्बूले बताए । ‘खुल्ला प्रतियोगिता भएकोले भारतबाट पनि खेलाडीहरु सहभागी हुनेछन्, नेपालको विभिन्न जिल्लाबाट पनि गरी सय भन्दा बढी हुने अनुमान गरेका छौं’–संयोजक लिम्बूले भने ।
छ दिने प्रतियोगिता धरान ९ स्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा सञ्चालन हुनेछ । स्विस लिगको आधारमा खेलाइने प्रतियोगितामा एक जना खेलाडीले ९ जना प्रतिस्पर्धीसँग भिड्नुपर्नेछ । प्रतियोगितामा १५ औं स्थानसम्मका खेलाडीहरुले ट्रफी तथा नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष गौतम कुलुङ(राई)ले बताए । उनका अनुसार प्रथम हुने खेलाडीले नगद २५ हजारसहित ट्रफी र मेडल पाउनेछ भने दोस्रो हुने खेलाडीले नगद १७ हजार र मेडल हात पार्नेछ । यसैगरि, तेस्रो हुनेले नगद १२ हजार, चौथो हुनेले ८ हजार र पाचौं हुनेले ६ हजार पाउने अध्यक्ष कुलुङले जानकारी दिए । ‘छैठौंदेखि १० औं स्थानसम्मका खेलाडीले जनही ४ हजार र ११ औंदेखि १५ आंै स्थानका खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउनेछन्’–उनले भने ।

यसैगरी, फिडेमा दर्ता नभएका खेलाडीतर्फका प्रथम खेलाडीले ४ हजार र दोस्रो हुनेले ३ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउनेछन् भने वेष्ट भेट्रान (५० बर्ष माथि), वेष्ट महिला, वेष्ट यु–१५, वेष्ट यु–११ घोषित हुने खेलाडीले जनही नगद पुरस्कार २५ सय पाउनेछन् । यस्तै, वेष्ट इएलओ विलो १६५०, वेष्ट इएलओ विलो १८५० घोषित खेलाडीले पनि जनही २५ सय र वेष्ट धरान घोषित खेलाडीलाई नगद ४ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताले लुकेर बसेका प्रतिभा एवं खेलाडीहरुलाई प्रोत्साहन मिल्ने आयोजक संघले जनाएको छ । सानो उमेरकाहरु पनि सहभागी हुने भएकोले उनीहरुको बौद्धिक विकास गराउने आशा व्यक्त गर्दै निर्णायकसमेत रहेका विजयकुमार थापाले आगामी बर्षहरुमा पनि निरन्तरता दिइने र पुरस्कार राशीमा वृद्धि हुने बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे