सुदुरपश्चिममा सुनसरीका पर्यटकीय गन्तव्यको डमी


धरान । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना भइरहेका पर्यटन मेलाहरुमा प्रायः ब्रोसर र पर्यटकीय गन्तव्यको फोटोहरु मात्रै हेर्न पाइन्छ । मेला अवलोकनकर्ताहरुले ब्रोसर र फोटोको लिएर त जान्छन् तर, राम्रो अध्ययन गर्छन् कि गर्दैनन् भन्ने कसैलाई हेक्का हुदैन ।
यस्तै पर्यटन मेलालाई नयाँपन दिन पर्यटकीय गन्तव्यहरुको प्रतिक(डमी) नै बोकेर सुनसरीका पर्यटनकर्मी तथा व्यावसायीहरुको एक टोली सुदुरपश्चिमको यात्रामा निस्किएका छन् । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा फागुन ९, १० र ११ गते सुदुरपश्चिमाञ्चल क्षेत्रीय पयर्टन मेला आयोजना हुदैछ । उक्त मेलामा प्रर्दशन गर्नको लागि पर्यटनकर्मीहरुले चतरास्थित कुम्भस्तम्भ, विजयपुरगढीमा अवस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर र दन्तकाली मन्दिर तथा धरानको भानुचौकस्थित घण्टाघरको प्रतिकस्वरुपम डमी लगेर गएका हुन् । तीन दिने सुदुरपश्चिमाञ्चल पर्यटन मेला पूर्वाञ्चल बिशेष मेला हो ।


पर्यटन मेलाहरुमा परम्परागतरुपमा ब्रोसर, फ्लेक्स, पर्चामात्रै लैजादा सर्वसाधारणहरुमा खासै आर्कषण नहुने भएकोले डमी नै तयार गरेर लगिएको पर्यटनकर्मी एवं सेक्ष ट्राभलिङका वासुदेव वरालले बताए । उनका अनुसार सुनसरीको पर्यटकीय गन्तव्यहरु धार्मिक पर्यटन नै भएकोले यहाँका धार्मिक सम्पदाहरुको महत्व देखाउन तथा बुझाउन प्रतिक तयार गरिएको हो । ‘पर्यटन मेलालाई नयाँपन दिन यहाँको गन्तव्यहरुको डमी नै तयार गरेका हांै, यसले अवलोकनकर्ताहरुलाई बिशेष चासो र आर्कषण बढाउनेछ’–वरालले भने–‘हामी यी प्रतिकहरुको महत्व र आर्कषणबारे बुझाउछौं ।’ यी डमीहरु सुनसरी उद्योग वाणिज्य संघले खर्च गरेर बनाई दिएको हो ।

महेन्द्रनगर हिडेको टोलीले यात्राको क्रममा विभिन्न स्थानमा यी सम्पदाहरुको प्रर्दशनी पनि गर्दै जानेछन् । यसले पर्यटन मेलामा मात्रै नभई अन्य क्षेत्रमा पनि सुनसरी मात्रै नभई पूर्वाञ्चलकै पर्यटन प्रवद्र्धन हुने सुनसरी उद्योग वाणिज्य संघ, पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधानले बताए । ‘हेटौडा, नारायणगढ, बुटवल र नेपालगञ्जमा रेड शो पनि गछौं, त्यहाँका होटल व्यावसायी, पर्यटन व्यावसायीहरुसँग समन्वय गरेका छौं’–उनले भने । चैतमा चतराधाममा बाह्र बर्षे महाकुम्भ मेला आयोजना हुनलागेकोले कुम्भस्तम्भले उक्त मेलाको प्रर्वद्धन गर्ने उनले बताए । यस्तै, पौराणिक महत्वको दन्तकाली मन्दिर, टुप्पाविनाको बाँस रहेको बुढासुब्बा मन्दिर र धरानको आर्कषण रहेको घण्टाघरले मेलामा सबैलाई चासो जगाउने उनले अपेक्षा जनाए ।
पर्यटकीय गन्तव्यको डमीबाहेक रुद्राक्ष उत्पति भएको रुद्राक्षरण्य क्षेत्र(पिण्डेश्वर मन्दिर)मा फलेको रुद्राक्षको माला, भेडेटारको पोष्टर, सुनसरी उवासंघ, नगरपालिका, जिविस, विजयपुर, कुम्भ मेलालगायत विभिन्न क्षेत्रको जानकारीमुलक ब्रोसर, पोष्टरहरु पनि टोलीले लिएर गएको छ । मेलामा सहभागी हुन सुनसरी उद्योग वाणिज्य संघबाट २ जना, जिल्ला विकास समिति सुनसरीबाट एक जना, सेक्ष ट्राभलिङबाट २ जना र होटल एशोसिएशन धरानबाट एक जना गरि ६ जनाको टोली बिहिबार प्रस्थान गरेका छन् । अन्य जिल्लालाई एउटा मात्रै स्टल भएपनि यो मेलामा सुनसरीलाई भने ३ वटा स्टल उपलब्ध छ । बराह ज्वेलरी, जिविस, होटल एशोसिएशन अफ धरानले पनि सहयोग गरेको छ भने पर्यटन बोर्ड, नगरपालिकाले पनि सहयोग हुने टोलीले अपेक्षा गरेको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे