लिम्बूवान आइडल कञ्चनले गुञ्जाए धरान


धरान । पोहोर साल प्रथम लिम्बुवान आइडल गायन प्रतियोगिताको उपाधि जितेका कञ्चन थलङको पुख्यौली थलो ताप्लेजुङको नाङ्ख्योल्याङ्ग हो । तर, उनी धरानलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् । लिम्बूवान आइडल बनेपछि हङकङमासमेत प्रस्तुती दिइसकेका उनले शनिबार साँझ यही कर्मथलोको सैनिक भवनमा आफ्नो प्रस्तुती दिए ।
धरान १० स्थित यो त्यही भवन हो, जहाँ उनले एक बर्षअघि लिम्बूवान आइडलको उपाधि जितेका थिए । क्यारिअरको टर्निङ प्वाइन्ट बनेको त्यो महत्वपुर्ण स्टेजमा शनिबार साँझ उनले धराने संगीतका स्रोताहरुलाई मनोरञ्जन दिए । उनलाई लिम्बूवान कलाकार परिषद् सुनसरीले लिम्बूवान आइडल सांगीतिक कार्यक्रम ०७० आयोजना गर्दै कर्मथलोका स्रोता माझ उभ्याएको थियो । कर्मथलोमा प्रस्तुती दिन पाएकोमा खुशी लागेको गायक थलङले बताए । ‘म यही संघर्ष गरिरहेको छुँ, म पनि धराने नै हुँ । तपाईहरुको अघि गाउन पाउदा खुशी लाग्छ’–उनले भने ।

नयाँ गीत पिरतीको हाम्रो यात्रा...बाट गाउन उनले शुरु गरेका थिए । त्यसपछि, दुम्भे भाले..., पानी खानु तिरतिरे धाराको.. र दिक्तेल बजार...बोलको गीत गाउदा स्रोताहरु हुटिङ गर्न मात्रै होइन, नाच्न थालिसकेका थिए । प्रथम लिम्बूवान आइडल थलङ अघि चर्चित गायक खगेन्द्र यक्सो र गायिका मनु नेम्बाङले स्टेज तताएका थिए । दुवैले युगल गीत खरङ्वा खोला.., वरवुङको चौतरी..गाउदा स्टेजमा अन्य कलाकारहरुले नृत्य प्रस्तुत गर्दा प्रस्तुती रोमाञ्चक बनेको थियो । लिम्बू सँस्कृति तथा भाषा, शैलीका गीतहरुले स्रोताको मन खिच्न सफल भयो । गायिका मनु नेम्बाङले लिम्बू भाषाको गीत पनि गाएकी थिइन् । यसैगरि, गायकहरु दिवस पयाङ्गु, समिर सिंगक, राज लावुङ, पदम राईलगायतले पनि गाएका थिए ।
कला र सँस्कृतिको संरक्षण गरौं भन्ने नारा दिएर आयोजित सांगीतिक कार्यक्रम लिम्बुवान भुमिका नवप्रतिभाशाली कलाकारहरुलाई अवसर दिन तथा राष्ट्रियस्तरमा पुर्याउन आयोजना भएको संयोजक लोकेन साँवाले बताए । साथै, भाषा सँस्कृतिको संरक्षण, संवद्र्धनमा चेतना जगाउनु पनि कार्यक्रमको उद्देश्य भएको उनले बताए ।
..............

                  हाम्रो यात्रा एल्वमको विमोचन


प्रथम लिम्बूवान आइडल कञ्चन थलङको पहिलो गीति एल्वम हाम्रो यात्राको विमोचन गरिएको छ । शनिबार साँझ धरान १० स्थित सैनिक भवनमा आयोजित सांगीतिक कार्यक्रममा उनको एल्वमको विमोचन गरिएको हो ।कार्यक्रमकी प्रमुख अतिथि एवं किरात याक्थुङ चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बू, बिशेष अतिथि भिष्मा चेम्जोङ र मिस लिम्बू विजेता मेरिना पोमोले संयुक्तरुपमा सिडि विमोचन गरेका थिए ।
एल्वममा सुमधुर दश वटा गीतहरु समावेश गरिएको छ । एल्वमका गीतहरु केन्द्र बिक्रम थलङ, दिपा लिम्बू राई, विरेन्द्रहाङ लाबुङ लिम्बू, सन्तकुमार आङदेम्बे, निलम हाङबुहाङ, हाङपाल आङबुहाङ, भद्रकुला आङबुहङ राई, आजु आङदेम्बे र यासेली योङहाङले रचेका छन् । ती रचनामा खगेन्द्र कुमार लिम्बू, गणेश गुरुङ, जन्म राई, ताराप्रकाश लिम्बू, ओमप्रकाश राई, मण्डल साम्पाङ र मिलन नाम्बुङ राईले संगीत भरेका छन् ।
.....................,

मिस लिम्बूलाई सम्मान


लिम्बूवान आइडल सांगीतिक कार्यक्रममा दोस्रो बराह ज्वेलरी मिस लिम्बूकी विजेता मेरिना पोमो लिम्बू सम्मानित भएकी छिन् । इटहरी निवासी लिम्बूलाई आफ्नो कला,सँस्कृतिसँगै प्रतिभा उजागर गरेको भन्दै लिम्बूवान कलाकार परिषद् सुनसरीले सम्मान गरेको हो । उनलाई किरात सोही कार्यक्रममा किरात याक्थुङ चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बूले सम्मानपत्र प्रदान गरेकी थिइन् ।
यसैगरि, सोही कार्यक्रममा दोस्रो मिस लिम्बूमा मिस चार्मिङको टाइटल जितेकी धरानकी कुन्नी लिम्बूलाई पनि सम्मान गरिएको थियो । उनलाई बिशेष अतिथि भिष्मा चेम्जोङ र चन्द्र खापुङले सम्मान गरेका थिए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे