असाधारण क्षमता भएकी लक्ष्मी र सम्झनालाई सम्मान


धरान । एउटीको जन्मजातै दुवै हात छैन, अर्कीको दुवै हात छ, तर कुनै चिज समाउन, चलाउन सक्दिनन् । एउटी खोटाङको विकट गाउँ इन्द्रेणी पोखरी ३ मा बस्छिन्, अर्की सुनसरीको दुर्गम क्षेत्र पाँचकन्या ९, गैरीगाउँमा ।
फरक भुगोल, फरक शारीरिक अवस्था भएपनि यो साता खोटाङकी १३ बर्षीय सम्झना राई र सुनसरीकी २४ बर्षीय लक्ष्मी राई एकअर्कामा भेट्ने अवसर जुट्यो । यसको कारण थियो, दुवैको असाधारण क्षमता, उच्च मनोवल र आत्मविश्वस । असाधारण क्षमता, प्रतिभा भएका दुवैलाई ब्रिटिश गोर्खा भूपू सैनिक संघ(बि गेसो) सुनसरी र बिट्रिश गोर्खा भूपू महिला संघ सुनसरीले यसै साता धरान ल्याएका हुन् । दुवैको उच्च मनोवल, आत्मविश्वास एवं प्रतिभाको कदर गर्दै यी संस्थाहरुले गएको बुधबार दुवैलाई नगदसहित सम्मान गर्यो ।


सुनसरीकी लक्ष्मी राईको हात चल्दैनन् । आफ्नै खुट्टाले भरमा हिड्न पनि सक्दिनन् । बोल्न पनि उनलाई निक्कै गाह्रो हुन्छ । त्यही कारणले उनले औपचारिक शिक्षा पनि लिने अवसर पनि पाइनन् । तर, उच्च मनोकांक्षा र आत्मविश्वासले खुट्टाको मद्दतले आफै लेख्न, पढ्न सिकिन् । आफ्नो मनको भावनालाई कविता, गीत, गजलबाट पोख्न थालिन् । गत बर्ष एकान्तको सुवास नामको कृति पनि निस्कि सकेको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालबाट उनको साहित्यिक चर्चा देश, विदेशमा फैलिन थालेको छ ।
अर्की, खोटाङकी १३ बर्षीय सम्झना राईको जन्मजात नै हात छैन । तापनि उनी खुट्टाको मद्दतले सवालांगले गर्ने सबै काम गर्छिन् । एक घण्टा टाढा रहेको भगवती दिनानाथ उच्चमाविमा कक्षा ७ मा पढ्न पुग्छिन् । खुट्टैको सहाराले लेख्छिन्, घाँस काट्न बाहिनीहरुसँगै जान्छिन् । आँमा घरमा नहुदा खाना पकाउछिन्, पानी पर्दा पनि आफै छाता आढेर स्कुल जान्छिन् । हात नभएपनि उनी परिवारको लागि बोझ बनेकी छैनन् । पढेर भविष्यमा केही बन्ने उनको यही उच्च मनोवल र आत्मविश्वासको चर्चा गाउँ र जिल्लाको दायरा नाघेर हुन थालेको छ ।

सम्मानित हुदाँ दुवै भावविह्ल मात्रै भएनन्, भविष्यमा समाजको लागि केही गर्ने अठोटसमेत व्यक्त गरे । सुनसरीकी लक्ष्मीले खोटाङकी सम्झनासँग भेटेपछिको भावलाई कवितामार्फत व्यक्त गरिन् यसरी :

साह्रै रमायो मेरो मन, खोटाङकी सम्झनालाई भेटेपछि
संसारै देखे झै लाग्यो मलाई तिम्रो कलिलो मुहार देखेपछि
आफ्नै सुरमा बाँच्नुपर्छ सम्झना मान्छे भइ जन्म लिएपछि
तिमीले हार खान हुदैन सम्झना दुःखमा साथ दिने मान्छे भएपछि ।


खोटाङकी लक्ष्मीले पनि निरन्तर पढ्न पाएमा भविष्यमा केही वाचासँगै साहित्यकार बन्ने आफ्नो चाहना व्यक्ति गरिन् । ‘पछिसम्मै पढ्ने मौका पाएभने साहित्यकार बन्छु, पढ्ने चाहना छ’–सम्झनाले भनिन् । उनकी आमा सुमिताले छोरीलाई धेरै पढाउने इच्छा भएपनि घरको आर्थिक अवस्था कमजोर भएकोले भविष्यमा के होला भन्न नसकिने बताइन् । तथापी, बुधबार सम्मानसँगै सम्झनालाई बि गेसो र महिला कमिटिले नगद ५÷५ हजार प्रदान गर्यो । लक्ष्मी र सम्झनालाई धरानमा ल्याउने र सहयोग जुटाउन पहल गर्ने भूपू ब्रिटिश गोर्खा सैनिक रमेश राईका अनुसार दुवैलाई हङकङबाट पनि सहयोग प्राप्त भएको छ । उनकै पहलमा दुई बर्षदेखि लक्ष्मी राईले सहयोग पाइरहेकी थिइन् ।
भूपू गोर्खा सैनिकहरुले हालै मात्र सम्झना राई सहयोग समिति पनि गठन भएको छ । सम्झनाको पढाईको लागि समितिको पहलमा वाणिज्य बैंकमा डेढ लाखको फिक्स डिपोजिट खाता खोलिएको पनि बुधबार नै जानकारी दिइयो । यसैगरि, हङकङबाट विशु समले सम्झनाको लागि पठाएको थप ५० हजार सहयोग र लक्ष्मीको लागि पठाएको २८ हजार पनि बुधबार हस्तान्तरण भएको थियो । ‘उनीहरुको साहस, उच्च मनोवल र प्रतिभालाई प्रोत्साहन गर्ने प्रयास गरेका हौं, समाजको लागि उनीहरु उदाहरणीय व्यक्तित्व हुन्’–पहलकर्ता राईले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे