विजयपुरमा चारदिने शिवरात्री उत्सव

धरान । शिवरात्री पर्वको अवसर पारेर धरानमा चार दिने विजयपुर शिवरात्री उत्सव ०७० शुर भएको छ । धार्मिक तथा शैक्षिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शिवरात्री पर्वलाई धरान १४ विजयपुरबासीले उत्सवकोरुपमा आयोजना गरेका हुन् । सोमबारदेखि शुरु हुने उत्सव चार दिनसम्म विभिन्न कार्यक्रम आयोजना हुदै १५ गतेसम्म सकिनेछ । उत्सव आयोजना गर्न दुई साता अघि नै सन्तोष सापकोटाको संयोजकत्वमा २६ सदस्यीय मुल आयोजक कमिटि गठन गरेर विजयपुरबासी तयारीमा जुटेका थिए ।
संयोजक सापकोटाका अनुसार चार दिने उत्सवको पहिलो दिन विजयपुर क्षेत्रमा रहेका मठमन्दिरहरुको सरसफाई कार्यक्रम भएको छ । विजयपुर क्षेत्रमा भएका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरीलगायत अन्य मठमन्दिरहरुको पनि सरसफाई गरिएको उनले बताए । यस्तै, दोस्रो दिन वृहत मोटरसाइकल र्याली निकालिनेछ भने तेस्रो दिन रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने आयोजक कमिटिले जानकारी दिएको छ । ‘विजयपुर क्षेत्रको पौराणिक, ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि उत्सवकोरुपमा मनाउन लागेका हांै, यहाँ केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार छ, पिण्डेश्वर विद्यापिठ छ, यी शैक्षिक संस्थाहरुको प्रचार पनि हुनेछ’–संयोजक सापकोटाले भने ।
उत्सवको अन्तिम दिन फागुन १५ गते बिहानैदेखि लघुरुद्राभिषेक एवं प्रसाद वितरण गरिनेछ । लघुरुद्राभिषेक भगवान शिवको बिशेष पूजा तथा आरधाना हो । सोही दिन दिउसो स्रष्टाहरुको सम्मान गरिनेछ भने साँझमा दोस्रो विजयपुर साँझ नामको सांगीतिक कार्यक्रम पनि आयोजना गरिने प्रताप भटराईले बताए । ‘विजयपुरको लामो इतिहास बोकेको र धार्मिक पर्यटनको केन्द्र भएपनि धरानबाटै अपहेलित जस्तो भएको छ, त्यसैले सबैको ध्यान केन्द्रीत गर्नको लागि पनि आयोजना गर्न जुटेका हौं’–उनले भने । गत बर्ष भने प्रथम विजयपुर साँझ नाम दिएर शिवरात्रीको दिन मात्रै सांगीतिक कार्यक्रम भएको थियो । सांगीतिक कार्यक्रम मात्रै गर्दा राम्रो सन्देश नजाने भएकोले विभिन्न सामाजिक, धार्मिक कामसमेत गरेर यसबर्ष उत्सवकोरुपमा आयोजना गरिएको उनले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे