धार्मिक पयर्टन: वराह क्षेत्रको महिमा (फोटोफिचर)

हिरण्यक्ष दैत्यले पृथ्वीलाई पातालमा लगेपछि उद्दार गर्न पृथ्वी र देवताहरुले भगवानसँग प्रार्थना गरे । देवताहरुको प्रार्थना र पृथ्वीको पुकार सुनेर भगवान् विष्णुले बराहको अवतार लिए । बराहको रुपी भगवान् विष्णुको हिरण्यक्ष दैत्यसँग भयंकर युद्ध भयो । हिरण्यक्ष दैत्यको बध गरेर बराह भगवानले पृथ्वीको उद्दार त गरे, तर आफुभित्रको क्रोध शान्त भएन । क्रोध शान्त नभएपछि भगवान बराह भौतारिदै डुल्न थाले । त्यसैक्रममा कौशिकी(कोशी) नदीमा मिसिन आउने कोका नदी तर्न खोज्दा खुट्टा पानीमा पर्यो र भगवान बराहको क्रोध शान्त भयो । कोका नदीसँग खुशी भएर भगवान बराहले वरदान माग्न भने । कोका नदीले तीन वटा वरदान मागिन् ।
पहिलो, मेरा पिता चन्द्रमा मसँग असन्तुष्ट छन्, खुशी बनाइदिनुपर्यो । दोस्रो, आर्यमादी पितृहरु पितृ तर्पण नपाएर पाताल भासिन लागेका छन्, उद्दार गरिदिनुपर्यो । तेस्रो, तपाईको नित्य निवास यही हुनुपर्यो । कोकाले तीन वर मागेपछि भगवान् वराहले तथास्तु भन्दै वरदान दिए, अनि कौशिकी(कोशी) र कोका नदीको संगमस्थलको किनारमा बस्न थाले । बराह भगवान्ले नै श्राद्ध गरेर पितृहरुको उद्दार गरिदिए ।
भगवान बराह पृथ्वीमा नै बस्न थालेपछि देवताहरु आएर लैजान खोजेपनि यही आनन्द छ भनेर जान मानेनन् । अरु देवताहरु पनि गुरु बराह, इन्द्र बराह, भैरव बराह, श्वेत बराह, सुर्य बराह, पञ्च बराह, लक्ष्मी बराहलगायत रुप धारण गरेर त्यही बस्न थाले । यसरी बराह पुराण र स्कन्ध पुराणको हिमवत खण्डमा उल्लेख गरिएको बराह अवतार भगवान विष्णुको तेस्रो अवतार मानिन्छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपुर्ण बराह भगवानको नित्य निवास(मन्दिर) सुनसरी जिल्लाको बराहक्षेत्र गाविस १ मा पर्छ ।

विश्वका हिन्दु धर्मावलम्बीहरुको चार क्षेत्र(हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र बराहक्षेत्र) छन्, ती मध्ये मुक्ति क्षेत्र र बराहक्षेत्र नेपालमा पर्छ । यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले पवित्र र महत्वपुर्ण तीर्थस्थल मानिन्छ । बराहक्षेत्र मन्दिरका मुख्य पूजारी दुर्गानाथ भण्डारीका अनुसार त्यही कारणले यहाँ वैद्धिककालदेखि नै तीथालु भक्तजनहरु बराह भगवानको दर्शन गर्न आउने प्रचलन चलेको हो । हरेक आइतबार कोशीमा स्नान गरेर श्रद्धालु भक्तजनहरुले यहाँको जल लिएर जान्छन् र सोमबारका दिन धरानस्थित पिण्डेश्वर मन्दिरमा चढाउने मुख्य पूजारी भण्डारीको भनाई छ । यसबाहेक यहाँ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म तीर्थालु भक्तजनहरुको घुँइचो लाग्छ । त्यसबेला नेपाल र भारतबाट मात्रै नभई भुटानबाटसमेत भक्तजनहरु आउने गरेका छन् ।
बराह भगवान स्वयमले पितृहरुको श्राद्ध गरेर उद्दार गरिदिएको हुनाले यहाँ पौषे औशीमा तीर्थ श्राद्ध गर्न पनि उतिकै भिड लाग्छ । कोका नदीमा स्नान गरेर पितृहरुको श्राद्ध गर्नाले पितृहरुले मुक्ति पाउने विश्वास छ । बाला चतुदर्शी, माघे संक्रान्तिमा मकर मेला, श्री पञ्चमी, फागु पुर्णिमा, राम नवमीलगायत बिशेष पर्वहरुमा तीर्थालु भक्तजनहरु यहाँ ओइरिने गर्छन् । हरेक बर्ष साउन महिनामा बोलबम तीर्थयात्रीहरु पनि बराहक्षेत्रसम्म पुग्ने गरेका छन् । ‘मनोकांक्षा पुरा हुने विश्वासले भारतका भक्तजनहरु त यहाँ एक पटक मात्रै होइन, १२ पटक आउने प्रचलन छ’–मुख्य पूजारी भण्डारी भन्छन्–‘बराह क्षेत्रको महिमा र महत्व असाध्यै ठुलो छ ।’
भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर र बराहक्षेत्रको रोचक प्रसंग पनि छ । सन्तानबिहिन रहेका चन्द्रशेखरका बुबा बराह क्षेत्रमा दर्शन गर्न आएका थिए । उनले सन्तानप्राप्तिको कामना गरे, र चन्द्रशेखरको जन्म भयो । यो कुरा चन्द्रशेखरका काकाले नै बराहक्षेत्र दर्शनमा आउदा मुख्य पूजारी भण्डरीलाई सुनाएका थिए । ‘यो त एउटा उदाहरण मात्रै हो, धेरै मनोकांक्षा लिएर आउने र पुरा भएपछि पनि आउने भक्तजनहरु कति छन् कति’–भण्डारीले भने ।
                                               ..................

                     गुरुयोजना छैन, पूर्वाधार विकास पनि दयनीय


धार्मिकरुपले बराह क्षेत्रको जति महिमा र महत्व छ, भौतिकरुपमा भने यो क्षेत्रको अवस्था असाध्यै दयनीय छ । देश विदेशबाट बर्षेनी लाखौं श्रद्धालु, भक्तजनहरु आउने बराह क्षेत्रमा धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना छ, तर अहिलेसम्म न राज्यले उचित पूर्वाधार विकासमा ध्यान दिन सकेको छ, न स्थानीयका निकायबाट नै पहल भएको छ । राज्यबाट कतिसम्म उपेक्षित छ भने बराह क्षेत्र मन्दिर कोशी नदीबाट बर्षायाममा बर्षेनी कटानको खतरामा छ, तर तारजालीको ग्याबिङ गरेर सामान्य रोकथाम गर्नुबाहेक संरक्षणको ठोस कदम चालिएको छैन । चतरादेखि बराहक्षेत्रसम्म पुग्ने साढे ७ किलोमिटर बाटो पक्की नहुदा कच्ची बाटोमा कठिन यात्रा गर्नुपर्छ । चतरासम्म बस पुगेपनि त्यहाँबाट भने बराहक्षेत्रसम्म ल्याण्ड रोभर, जीप वा मोटरसाइकलमा मात्रै पुग्न सकिन्छ । चतरा बजारसम्म पुग्ने धरान चतरा र झुम्का चतरा बाटो चल्तीका हुन् । धुले कच्ची र जोखिमपुर्ण यो बाटो हिड्न मन भएर मात्रै पुग्दैन । बषौंदेखिको यो बाटोमा पनि धुलो उडाउदै बस, जीप गुड्छन्, पक्की सडक बराहक्षेत्रबासीका लागि सपनामै सिमित बनेको छ ।
बराहक्षेत्र मन्दिर आसपासका घरमा डेढ दर्जन होटल तथा आधा दर्जन जति लज सुविधाका भएका होटल चलेका छन् । जहाँ तीथालु भक्तजनहरुले खाना र सामान्यस्तरको बस्ने सुविधा पाउँछन् । त्यसबाहेक भक्तजनहरुको आर्थिक सहयोगमा बनेको ३२ कोठे, २४ कोठे, ७ र ४ कोठे क्षमताका चार वटा धर्मशाला पनि छन् । त्यहाँ भने तीर्थालुहरु आफैले पकाएर खानुपर्छ, भाडावर्तन भने उपलब्ध हुन्छ । सडक, राम्रो बस्ने, खानेको सुविधा नहुनाले पनि बिशेष मेला, पर्वमा बाहेक अन्यबेला तीर्थालुहरु दर्शन गरेर फर्किन हतारिन्छन् ।
पर्यटन पूर्वाधार विकास गर्न राज्यका थुपै निकायहरु छन् । ती निकायको आँखा बराहक्षेत्रसम्म त्यति पुग्न सकेको छैन । बराहक्षेत्रको संरक्षण, प्रर्वद्धन एवं विकासको लागि स्थानीयले गुरुयोजना बनाउनुपर्ने आवाज पटक पटक उठाएका छन्, अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । कुनै कुनै निकायले बनाएको हल्ला स्थानीयले सुनेपनि त्यो गुरुयोजना कहाँ छ ? पत्तो छैन । गुरुयोजनाको अभावमा अव्यवस्थितरुपमा संरचनाहरु बनिएका छन् । अहिलेसम्म मन्दिर सञ्चालन एवं व्यवस्थापन समिति नबन्नु टिठलाग्दो अवस्था हो । दानपेटिका एवं भेटिको लेखाजोखा राखिएको छैन । ‘राज्यले बराहक्षेत्र मन्दिरको संरक्षण र विकासमा पटक्कै ध्यान दिएको छैन, अहिलेसम्म जे जति काम भएका छन्, श्रद्धालु भक्तजन र स्थानीय प्रयासमा मात्रै भएको हो’–स्थानीयबासी एवं बराहक्षेत्र संरक्षण मञ्चका संस्थापक एवं पूर्वमहासचिव गंगा मगर भन्छन्–‘गुरुयोजनाको अभाव छ, सबैभन्दा ठुलो समस्या त बाटोकै छ ।’
बराहक्षेत्रसहित सुनसरी, धनुकटा र उदयपुर जिल्लाका १० गाविसलाई समेटेर सरकारले अढाई बर्षअघि गठन गरेको वृह्त्तर बराहक्षेत्र विकास समितिले पनि ठोस काम गर्न सकेको छैन । त्यसअघि, ०६४ सालमा जनस्तरबाट बराहक्षेत्र वृहत विकास समिति गठन भएको थियो । बजेट अभावमा यसले पनि चाहेअनुरुप काम गर्न सकेन । स्थानीय युवाहरुले गठन गरेको बराहक्षेत्र संरक्षण मञ्चले सरकारी निकायबाट बजेट ल्याएर केही गर्ने प्रयास भने गर्दैछन् । मञ्चकै पहलमा विराट क्षेत्र पर्यटन प्रर्वद्धन समितिले बजेट दिएपछि बराह कुण्ड निर्माण भएको छ, र त्यहाँ बराह भगवानको मुर्ति पनि राखिदैछ । तीर्थालुको लागि विश्रामस्थल बनिसकेको छ । मन्दिरको पूर्वीक्षेत्रमा भक्तजनहरुबाट उठेका रकमले रेलिङ निर्माणको कार्य धमाधम हुदैछ । तर, पूर्वाधार विकासको लागि यो काम काफी होइन । ‘राज्यले नै बराहक्षेत्रलाई धार्मिक पर्यटन क्षेत्र भनेर पहिचान गरिदिनुपर्छ, र बाटो, पानी, विजुलीलगायतको पूर्वाधार निर्माण र मन्दिरको संरक्षणमा ध्यान दिनुपर्छ’–जनस्तरबाट गठित बराहक्षेत्र वृहत्तर विकास समितिका अध्यक्ष गणेश सुब्बा बिरही भन्छन् । सरकारबाट गठित समितिका अध्यक्ष वेदराज कार्की अमर भने पूरात्तत्व, पर्टटन बोर्ड, जलप्रकोप उत्पन्न नियन्त्रण कार्यालयलगायत सरकारी निकायको लगानी एकद्धार प्रणालीबाट हुनुपर्ने धारणा राख्छन् ।
                                          ............
 

                            चतरा केन्द्रीत शक्तिकेन्द्र


बराहक्षेत्र गाविस वडा नम्बर १ मा भएपनि राजनीतिक, प्रशासनिक पहुँच चतराबासीको बढी छ । त्यसैले बराहक्षेत्रको कुरा उठ्यो भने बराहक्षेत्र मन्दिर आसपासको भन्दा पनि चतराबासीहरुकै बढी प्रभाव रहन्छ । गाविस परिषद्देखि जिविस र केन्द्रसम्म बराहक्षेत्रको नाममा चतराबासीकै पकड छ । एउटै वडामा करिब ८ किलोमिटर मात्रै टाढा भएर पनि बराहक्षेत्र मन्दिर आसपासका बासिन्दाले चतराबाट पनि आफुहरु उपेक्षित हुनुपरेको महशुस गर्नथालेका छन् । चतराधामलाई प्राचीन हरिद्धार मान्दै जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कृष्णदास जी महाराज र कैलाशानन्द सरस्वती महाराजले आश्रम बनाएर बस्न थालेपछि चतरा थप चर्चामा छ र धार्मिक व्यक्तित्व एवं साधुसन्तहरुको तीर्थस्थलझै बन्न पुगेको छ । ‘राजनीतिक, प्रशासनिक पहुँच पनि चतराबासीको छ, बजेट पनि चतरा केन्द्रीत नै बन्छ’–बराहक्षेत्र संरक्षण मञ्चका कोषाध्यक्ष सुनिल सुब्बाले भने–‘केन्द्रीय राज्यसँगै हामीले स्थानीयस्तरमा पनि उपेक्षाको शिकार हुनुपरेको छ ।’
                 ...........................................................................................
                   

                                     महाकुम्भ मेलाको तयारी


बराहक्षेत्र एवं चतराधामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित गराउने उद्देश्यले चतराधाममा आगामी चैत १७ गतेदेखि एक महिनासम्म महाकुम्भ मेलाको तयारी भइरहेको छ ।
जगदगुरु बालसन्त मोहनसरण देवाचार्यको बिषेश पहलमा १२ बर्षपछि दोस्रो पटक महाकुम्भ मेला लगाउने तयारी भएको हो । यसअघि उनकै पहलमा पहिलो पटक २०५९ बैशाखमा एक महिनो पिण्डेश्वर कुम्भमेला आयोजना भएको थियो । पहिलो पटक कुम्भ मेला आयोजना भएपछि त्यहाँ ५९ फिट अग्लो कुम्भस्तम्भ पनि निर्माण गरिएको छ । एक महिनासम्म सञ्चालन हुने कुम्भमेलामा एक करोड धार्मिक पर्यटन भित्र्याउने लक्ष्य राखिएको महाकुम्भ मेला आयोजक समितिका सहअध्यक्ष दलबहादुर पौडेल बताउछन् । उनका अनुसार मेलामा भारतका धर्माचार्य, पिठाधिशलगायत धार्मिक उच्चव्यक्तित्वहरु आउनेछन् । यसको लागि जगदगुरु बालसन्त निमन्त्रणा गर्न भारत गएका छन् । महिना दिनसम्म प्रवचन, सत्संग, भजनकिर्तनका साथै शास्त्रको मन्धन गर्नेछन् । ‘महाकुम्भ मेलाले बराहक्षेत्र, चतराधामको धार्मिक पर्यटकीय महत्व बढाउछ, राज्यको ध्यान यहाँ केन्द्रीत गराउछ र भौतिक पूर्वाधार निर्माणको निश्चितता गराउछ’–सहअध्यक्ष पौडेल भन्छन् ।
औलिया बाबाको तपस्थली, ऋर्षिमहर्षिहरुको तपोभुमि, आदिबराह, छिन्नमस्ता, सुर्य कुण्ड जस्ता देवदेवीहरु रहेको र विश्वकै चार क्षेत्रमध्ये एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलकोरुपमा प्राचीन हरिद्धार चतराधाम रहेकोले कुम्भमेलाले ती सबै क्षेत्रको महत्वलाई थप उजागर गर्ने स्थानीयको अपेक्षा छ । कुम्भमेलाको क्रममा बराह मन्दिर रहेको कोका नदी र कौशिकी नदीको संगमस्थलमा पुगेर भक्तजनहरुलाई ४ पटक शाही स्नान गराइने भएकोले बराहक्षेत्रको महिमा थप चुलिने स्थानीयको भनाई छ । ‘महाकुम्भ मेलाले यो क्षेत्रको व्यापार, व्यावसायलाई फाइदा त पुग्छ नै, यहाँ आसपासको धार्मिक महत्वको मठमन्दिरहरुको पनि प्रर्वद्धन हुन्छ’–उद्योग वाणिज्य संघ बराहक्षेत्र शाखाका अध्यक्ष रमेश विष्टले भने ।
कुम्भमेला सम्पन्न गर्न जगदगुरु बालसन्तको अध्यक्षतामा मुल आयोजक कमिटि गठन भइसकेको छ भने विभिन्न २४ वटा उपसमितिहरु बनाएर तयारीमा जुटेको छ । यसपटक राज्यले पनि कुम्भमेलालाई बिशेष चासो दिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा स्वयम चतराधाम आएर केन्द्रस्तरमा सरकारी समन्वयकर्ताको जिम्मेवारी दिएका छन् भने क्षेत्रीयस्तरमा क्षेत्रीय प्रशासकले समन्वयकर्ताको जिम्मेवारी लिएका छन् । स्थानीयस्तरका सबै सरकारी निकायहरुलाई कुम्भमेला तयारीमा परिचालन गरिएको छ ।
(बराहक्षेत्रसम्म पुग्न धरानबाट चतरा हुदै जान सकिन्छ । कच्ची बाटो भएकोले धरानबाट चतरासम्म पुग्न धरान १० चतरालाइनबाट ल्याण्ड रोभरको व्यवस्था छ, जसले एक जनाको ६० रुपैया भाडा लिन्छ । चतराबाट पुनः अर्को ल्याण्डरोभरमा जानुपर्छ, त्यहाँबाट एक जनाको ७० रुपैया भाडा लाग्छ । त्यसबाहेक, सुनसरीको झुम्काबाट हुदै पनि चतरासम्म पुग्न सकिन्छ । आफ्नो निजी गाडी वा मोटरसाइकल भएमा यी दुवै सडक खण्डबाट चतरा हुदै बराहक्षेत्रसम्म पुग्न सकिन्छ । )







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे