कतारमा जलेका पदमलाई दुबईबाट सहयोग, उपचारमा अझै समस्या


धरान । कतारमा जलेर गम्भीर घाइते भइ घर फिरेका धरान ११ मंगलबारेका पदमबहादुर श्रेष्ठलाई दुबईमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावले श्रेष्ठको उपचारमा समस्या भइरहेको जानकारी पाएपछि जोइन ह्याण्डस् सेभ लाइफ नामको संस्थाले केही आर्थिक सहयोग पठाइदिएको हो । संस्थाका संस्थापक एवं अंखु लामाको पहलमा हाल दुबईमा कार्यरत नेपालीहरुबाट संकलन भएको ६ हजार २ सय ५५ रुपैया श्रेष्ठलाई प्रदान गरिएको छ । संस्थाका अध्यक्ष डम्बरसिंह लिम्बू, दृष्टि नेपालकी वन्दना थापालगायत श्रेष्ठको घरमा पुगेर सो रकम हस्तान्तरण गरेका थिए । यो संस्थाले अशक्त, असहाय एवं सहराबिहिन बालबालिका तथा व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।
श्रेष्ठको उपचारमा अझै धेरै खर्च लाग्ने भएकोले देश, विदेशबाट थप सहयोग जुटाउन पहल भइरहेका संस्थाका अध्यक्ष डम्बरसिंह लिम्बूले बताए । उनका अनुसार श्रेष्ठको शरीर पाक्न नदिन प्रोटिन एवं पोषणयुक्त खाना जरुरी भएपनि आर्थिक अभावले समस्या भइरहेको छ । यस्तै, अप्रेशन पछि ड्रेसिङ गर्न विराटनगर धाइरहनु पर्दा श्रेष्ठको परिवारले धेरै आर्थिक समस्या भोग्नु परिरहेको पनि उनले बताए । ‘अर्को पटक पनि अप्रेशन गर्नुपर्ने रहेछ, त्यो अप्रेशनको खर्चसँगै खान, बस्नलगायतको खर्चको लागि सहयोग गर्न अहिल्यैदेखि पहल गर्नेछौं’–लिम्बूले भने ।
श्रेष्ठकी श्रीमति सुजताका अनुसार गत माघ तेस्रो साता काठमाण्डौंमा मुख र देब्रो हातको अप्रेशन भएको थियो । मोडल अस्पतालमा अप्रेशन खर्च निःशुल्क भएपनि खान, बस्नलगायतमा धेरै खर्च भएको थियो । अप्रेशनमा संलग्न डाक्टरको सल्लाहअनुसार दैनिकजसो विराटनगरमा ड्रेसिङ गर्न जानुपर्दा पनि श्रेष्ठ परिवारलाई आर्थिक समस्याले गाँजेको छ । ‘अबको ६ महिनापछि अर्को अप्रेशन गर्नुपर्नेछ, त्यसको खर्च कसरी जुटाउने भन्ने चिन्ता छ’–श्रीमति सुजताले भनिन् ।


विदेशमा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर पदमबहादुर कता गएका थिए । गएको बर्ष मंसिरमा पार्टटाइम काम गर्न गएको ओख्रा भन्ने ठाउँको पेट्रोल पम्पका मालिकले सल्काएको चुरोटले पम्पमा आगो सल्कियो । पम्प मालिक र उनीसँगै कार्यरत अर्का नेपाली जोगिएपनि उनको शरीरभरी आगो सल्कियो । घटनापछि उनी करिब ६ महिना अस्पतालमा बेहोस अवस्थामा रहे । उनको खुट्टाको पैतलाबाहेक शरीरको प्रायः सबै भाग जलेर कुरुप भइसकेको थियो । हमत हस्पिटलमा ६ महिना उपचार निःशुल्क भएपनि उनले काम गर्ने कम्पनी ला भिल्ला ल्याण्डस्केप एण्ड ट्रेडिङले १० महिनाको तलब दिएन । केही समय प्रहरीमा उजुरी दिएर तलब र विमाको लागि पहल गरेपनि खर्च धान्न सकेनन् ।
उनीसँग घर फर्कन टिकट काट्ने पैसा थिएन । उपचाररत हस्पिटलका डाक्टर र नर्सहरुले नै पैसा उठाएर उनलाई असारमा नेपाल फर्काइदिएका थिए । घरको लागि कमाउने व्यक्ति नै थाल परेपछि परिवारजनलाई श्रेष्ठको उपचार खर्च र घर खर्च जुटाउन धौ धौं छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे