मिस पूर्वाञ्चलको ताज पहिरिने होडमा पूर्वेली युवतीहरु


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ अध्ययरत धरान १५ की सोनी राईको दैनिकी अस्पताल र अध्ययनको सेरोफेरोमा बित्ने गर्छ । तर, दशदिन यता उनको दैनिकी पुरै फेरिएको छ । उनी धरान ९ स्थित होटल रत्ना इनमा कहिले क्याटवक सिक्दै गरेकी हुन्छिन् भने कहिले कसरी मानिसहरुसँग आफुलाई प्रस्तुत गर्ने भनेर सिकिरहेकी हुन्छिन् ।
नर्स बन्ने सानैदेखिको सपना झै मोडलिङप्रतिको तीब्र रुचिले सोनीलाई पाँचौं मिस पूर्वाञ्चल २०१४ को सहभागी बनाएको छ । जहाँ इच्छा, त्यही उपाय भनेझैं उनी दशदिन यता अध्ययनको ब्यस्तताबाट पनि समय निकालेर प्रशिक्षणमा सहभागी भइरहेकी छिन् । ‘ग्लामर दुनियाको छुट्टै पहिचान छ, नाम र ख्याती छ’–८ बर्षीय सोनीले भनिन्–‘मिस पूर्वाञ्चलको ताज पहिरिने सपना छ ।’ सोनीको झै मिस पूर्वाञ्चलको ताज पहिरिने सपना बोकेर अहिले डेढ दर्जन पूर्वेली सुन्दरीहरु धरानमा भेला भएका छन् । उनीहरुलाई आयोजकले माघ १० गतेदेखि व्यक्तित्व विकासका साथै क्याटवक, सँस्कृति, बोल्नेकला, श्रृंगारलगायत विभिन्न बिषयमा प्रशिक्षण दिलाइरहेको छ । सिल्भर इन्टरनेन्मेन्टले आयोजना गरेको मिस पूर्वाञ्चलको फाइनल फागुन ५ गते धरानको सभागृहमा सम्पन्न हुनेछ ।

भविष्यमा सफल फेशन डिजाइनर बन्ने चाहना राखेकी पथरी १ मोरङकी २० बर्षीय अनुषा गुँरागाईमा पनि ताज पहिरिने आत्पविश्वास बढेको छ । चार वटा थारु फिल्ममा अभिनय गरिसकेकी इटहरी ४ की २३ बर्षिय मञ्जिला चौधरीलाई पनि मिस पूर्वाञ्चलको ताज पहिरिने लालसा बढेको छ । ‘फिल्ममा काम गरिसकेको छुँ, तर मिस पूर्वाञ्चलको ताज पहिरिदाको पहिचान नै छुट्टै हुन्छ, व्यक्तित्वको विकास पनि हुन्छ’–चौधरीले भनिन् । सुन्दरीहरुले भने झै ग्यामर संसारमा प्रवेश गर्न चाहने पूर्वेली युवतीहरुको लागि मिस पूर्वाञ्चल सहयोगी माध्यम बनेको छ । ताज पहिरिएपछि हुने चर्चाले युवतीहरुलाई सेलिब्रेटीको दर्जामा पुर्याइदिन्छ । जसले गर्दा उनीहरु म्युजिक डाइरेक्टर अथवा फिल्म निर्देशकको नजरमा पर्ने भएकोले पनि मिस पूर्वाञ्चलप्रति युवतीहरु बिषेश रुचि राख्छन् ।

आयोजकले पाँचौं सँस्करणको लागि विराटनगर, इटहरी, दमक, विर्तामोड र धरानमा अडिशन लिएर १८ जना सुन्दरीहरुलाई छनौट गरेको थियो । ती सुन्दरीहरुलाई आयोजकले व्यक्तित्व विकाससँगै सामाजिक गतिविधिहरुमा सहभागी गराइरहेको छ । ‘स्टेजमा कसरी प्रस्तुत हुने, मासको अघि कसरी बोल्ने, कसरी हिड्नेलगायतको प्रशिक्षण भइरहेको छ, इतिहास र सँस्कृतिबारेमा पनि जानकारी दिइरहेको छौं’–प्रतियोगिताका क्रिएटिभ डाइरेक्टर एवं रंगकर्मी राजेन्द्र रिमालले भने–‘त्यसबाहेक रक्तदान, ट्राफिक सचेतना, ट्यालेण्ट शो, हाइकिङलगायत गतिविधिमा पनि सहभागी गराउनेछौं ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे