बीपी प्रतिष्ठानअघिबाट हराएको मोटरसाइकल भेटियो


धरान । सघन उपचार कक्षमा उपचाररत आफ्नी सालीलाई औषधी आवश्यक परेपछि रवि ५ पाँचथरका विरेन्द्र राई तीन अघि(सोमबार) मध्यरातमा हत्तारिदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेट अघि औषधी पसलमा पुगे ।
मे २ प ७०६३ नम्बरको कालो पल्सरलाई सडक छेउमा रोकेर उनी औषधी पसल छिरे । करिब १० मिनेट पछि हातमा औषधीको झोलासहित फर्कदा उनले छोडेर गएको ठाउँमा मोटरसाइकल थिएन । हत्तारमा ह्याण्डल लक नगरी औषधी लिन गएका उनको मोटरसाइकल चोरी भइसकेको थियो । ‘साली आइसियुमा थियो, हत्तारमा औषधी लिन पुगेको ह्याण्डिल लक नै गर्न भुलेछु, फर्कदा मोरसाइकल गायब भइसकेको थियो’–राईले घटनालाई सम्झिए ।
फेला परेको मोटरसाइकल धनीलाई हस्तान्तरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविन अधिकारी ।
उनले भोलिपल्ट प्रहरीमा निवेदन दिए । हराइसकेको मोटरसाइकल भेटिएला भन्ने थिएन, त्यैपनि आशा भने मारिहालेनन् । मोटरसाइकल हराएको जानकारी आएपछि प्रहरी, ट्राफिक प्रहरीले चेकजाच कडाई गर्यो, खोजी तीब्र पार्यो । दुई दिनपछि हराएको मोटरसाइकल भेटियो भनेर ट्राफिक प्रहरीबाट फोन आयो । ‘हराएको सामान भेटिदा असाध्यै खुशी छुँ, ट्राफिक प्रहरीलाई धन्यवाद’–उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले हराएको २ दिनपछि बुधबार साँझ करिब ५ बजेतिर उक्त मोटरसाइकल फेला परेको हो । धरान ८, भोटेपुलस्थित भित्रि सडकमा पार्किङ गरिरहेको अवस्था फेला परेको सो मोटरसाइकललाई ट्राफिक प्रहरीले बिहिबार राईको जिम्मा लगायो । ‘मोटरसाइकल भेटिएको वरपर सबैलाई सोध्यौं, कस्ले त्यहाँ पुर्याएको भनेर खुल्नै सकेन’–जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक नविन अधिकारीले भने–‘आज मोटरसाइकल धनीलाई खबर गरेर जिम्मा लगाएका हौं ।’ ट्राफिक प्रहरीले यसअघि पनि एउटा स्कुटी फेला पारेर सवारी धनीको जिम्मा लगाइसकेको छ ।
ट्राफिक प्रहरी निरीक्षक अधिकारीका अनुसार धरानमा महिनामा ३ वटासम्म स्कुटी वा मोटरसाइकल हराएको निवेदन आउने गर्छ । ती मध्ये कतिपय मिस्प्लेस भएको हुने र पछि सवारीधनी आफैले फेला पार्ने गरेको पनि उनले खुलाए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे