पत्रकार महासंघको अध्यक्षमा पुनः घिमिरे निर्वाचित
धरान । नेपाल पत्रकार महासंघ सुनसरीमा क्रान्तिकारी पत्रकार संघ र नेपाल प्रेस युनियनसहितको गठबन्धनले जित हासिल गरेको छ । स्वतन्त्र पत्रकार समुह(स्वपस), संघीय प्रेस युनियन र क्रान्तिकारी पत्रकार महासंघले समर्थन जनाएपछि यो गठबन्धनले महासंघमा कब्जा जमाउन सकेको हो ।
महासंघको आइतबार सम्पन्न नवौं अधिवेशनबाट यो गठबन्धनकोतर्फबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिवसहित अधिकांश सदस्यमा कब्जा जमायो । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको विद्रोही टिमको प्यानलले भने कोषाध्यक्ष र दुई कार्यसमिति सदस्यमा मात्रै जित पायो । अध्यक्षमा दोस्रो कार्यकालको लागि केशव घिमिरे १ सय १ मतका साथ विजयी बने । उनका निकटतम प्रतिद्धन्दी इकबाल अहमदले ७८ मत मात्रै ल्याए । अर्का उम्मेदवार जनकऋर्षि राईलाई ५ मत मात्रै खसेको थियो । अघिल्लो पटक पनि अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका अहमद घिमिरेसँग नै पराजित भएका थिए । अधिवेशनको अघिल्लो दिन(शनिबार साँझ) मात्रै संघीय प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ र स्वतन्त्र पत्रकार समुहले क्रान्तिकारी र युनियनसँग १४ बुँदे सहमति गर्दै गठबन्धन गरेको थियो ।
उपाध्यक्षमा वेदराज पौडेल ७१ मतका साथ विजयी बने । उनका प्रतिद्धन्दी शेखर ढकालले ६८ मत ल्याए भने अर्का स्वतन्त्र उम्मेदवार प्रेम बास्तोलाले ३० मत पाए । यस्तै, सचिव पदमा बाबुराम सुवेदीले १ सय २ मतका साथ विजयी भए । उनका प्रतिद्धन्दी सन्तोष काफ्लेले ७१ मत मात्रै पाएका थिए । सहसचिवमा ८९ मत पाएर प्रमोदकुमार यादव विजयी भए । उनका निकटतम प्रतिद्धन्दी उमेशकुमार मेहताले ४४ मत पाए भने स्वतन्त्र उम्मेदवार स्वर्णिम हाङ फोम्बो लिम्बूले २९ मत पाए । यस्तै, कोषाध्यक्ष पदमा भने चौतारी र युनियनको बागी टिमकोतर्फबाट विकास राईले ७८ मतका साथ विजयी बने । उनका निकटतम प्रतिद्धन्दी धनबहादुर पुरीले ७६ मत पाएका थिए भने अर्का उम्मेदवरा तुलसी यादवले १६ मत पाएका थिए ।
सदस्यतर्पm भने क्रान्तिकारी गठबन्धनबाट महिलामा रिता मोक्तान(९६), दलितमा तारा लामगादे(८५) र मधेशीमा भरतराज शर्मा(८८) विजयी बने भने जनजातिमा चौतारी गठबन्धनबाट भोजराज श्रेष्ठ(९६) विजयी भए । यस्तै, खुलातर्फ भने सदस्यहरुमा सर्वाधिक मतका साथ उपेन्द्र चाम्लिङ(१०८), सुरेश घिमिरे(९७), सरिता पुमा राई(९६), शेखरनाथ जोगी(९५), गोविन्द बस्नेत(८९), बिनादेवी तामाङ(८७), केशव सापकोटा(८३) र बाबुराम कार्की(८२) विजयी बने । खुलातर्फबाट विजयी सदस्यहरुमध्ये सर्वाधिक मत ल्याउने उपेन्द्र चाम्लिङ मात्रै चौतारी गठबन्धनका हुन् भने अरु सबै क्रान्तिकारी गठबन्धनका हुन् ।

.............
नौ जना पत्रकारहरु पुरस्कृत
सुनसरी जिल्लामा कार्यरत ९ जना पत्रकारहरु विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आइतबार सम्पन्न ९ औं अधिवेशनमा उनीहरु पुरस्कृत भएका हुन् ।
धरान ८ स्थित लाङ्घाली सामुदायिक वनको सभाहलमा आयोजित अधिवेशनमा जिल्ला विकास समिति सुनसरीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट पत्रकारहरु राजकुमारी कार्की, भवानी बराल र कृष्ण अधिकारी पुरस्कृत भएका हुन् । पुरस्कारको राशी जनही १५ हजार रहेको छ ।
यस्तै, जनही २० हजार राशी भएको इटहरी नगरपालिकाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कार पीबी दियाली र बाबुराम सुवेदीले पाए । धरान नगरपालिका विकास पत्रकारिता पुरस्कार भने पत्रकार भैरव आङ्ला र सरिता पुमा राई थापे । यो पुरस्कारको राशी जनही १० हजार रुपैया रहेको छ । यस्तै, तेजनाथ दाहाल युवा स्मृति पुरस्कारबाट कृष्ण जुनेली भट्टराई, वेदनाथ कृषि पत्रकारिताबाट पुरस्कार प्रेम बास्तोला पुरस्कृत भए । पुरस्कृत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्मा र कोशी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख(एसएसपी) यादवराज खनालले पुरस्कार प्रदान गरेका थिए ।

Comments
Post a Comment