पानी अभावको चपेटामा धराने होटल

धरान- पोहोर साल सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठलाई इलामका एक मित्रले धरानमा गोष्ठी आयोजना गर्न कुनै होटल बुक गरिदिन आग्रह गरे। दुईदिने गोष्ठीको लागि श्रेष्ठले धरानका होटल चहारे। बिडम्बना, यहाँका कुनै पनि होटलले करिब २ दर्जन पाहुनालाई स्वागत–सत्कार गर्न मानेनन्। अन्ततः पूर्वाञ्चल क्षेत्रीय गोष्ठी इटहरीमा सर्यो ।
धरानका होटल व्यवसायीले दुईदिने गोष्ठीका पाहुना राख्न नसक्नुको कारण थियो– खानेपानीको चर्को अभाव। त्यसबेला होटल व्यवसायीले पानी नै पुर्यााउन नसक्ने जवाफ दिएको संघका अध्यक्ष श्रेष्ठ सम्झन्छन्। ‘दुईदिने वर्कसप गर्नुछ भनेर होटल बुक गर्न खोजेको थिएँ, होटल सञ्चालकहरुले पानी छैन भनेर मानेनन्,' श्रेष्ठ भन्छन्, ‘त्यो कार्यक्रम इटहरी सार्नुपर्यो ।' धरानका पर्यटन तथा होटल व्यवसायले खानेपानी अभावमा भोग्नु परेको समस्याको एउटा उदाहारण यो हो। पर्यटन क्षेत्रमा बामे सर्दै गरेको धरानमा खानेपानी समस्याले नै होटलसँगै पर्यटन क्षेत्र फष्टाउन नसकेको व्यवसायीको भनाइ छ।
पर्यटन तथा होटल व्यवसायको लागि कात्तिक, मंसिर महिना सिजन मानिन्छ। पर्यटकीय सिजन सुरु भइरहँदा धरानमा खडेरी सुरु हुन्छ। मंसिरदेखि सुरु हुने खानेपानी अभाव जेठ अन्तिमसम्म रहन्छ। खानेपानी संस्थानले पर्याप्त पानी वितरण गर्न नसक्दा त्यसबेला होटल व्यवसायीले महँगो शुल्कमा ट्यांकरमा पानी किनेर अभाव टार्नुपर्छ। त्यसो नगरे व्यवसायबाट पलायन हुनुको विकल्प रहँदैन। ‘जब पर्यटनको सिजन सुरु हुन्छ, त्यतिबेलै पानीको अभाव पनि सुरु हुन्छ,' वेलकम होटलका मेनेजर प्रेम बस्नेत भन्छन्, ‘एकै दिन ३ ट्यांकरसम्म पानी किनेको छौं, त्यसले हामीलाई घाटा पुर्यारइरहेको छ।'
नगरपालिकाको तथ्यांकअनुसार धरानमा ३ सय ९२ वटा होटल दर्ता भएका छन्। रेस्टुरेन्टको नाममा ३ सय १६ र थप रेस्टुरेन्ट भनेर ७ वटा दर्ता भएका छन्। साना होटलको संख्या हजार हाराहारी छ। होटल व्यवसायीका अनुसार धरानमा खुलेकामध्ये लज सुविधासहित स्तरीय होटलको संख्या २ दर्जन जति छ। मध्यमस्तरका सयभन्दा बढी छन्। ठूला र मझौला खालका रेस्टुरेन्ट सय हारहारी रहेको होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य महेन्द्र प्रधान बताउँछन्। होटल व्यवसाय फष्टाए पयर्टन विकासको आधार तयार हुने उनको धारणा छ। ‘तर, धरानमा होटल व्यवसायमा टिक्न एकदमै गाह्रो छ, पानीकै कारण पर्यटकलाई हामीले सन्तुष्ट राख्न सकेका छैनौं,' उनी भन्छन्।
होटल र लजमा बाथरुम, ट्वाइलेट सफा गर्नदेखि ग्राहकलाई नुहाउन र खाना तयार गर्न ठूलो मात्रामा पानी चाहिन्छ। ग्राहक अन्य सुविधाभन्दा पनि पानी छ, छैन सोध्छन्। ‘पानी छैन भनेपछि इटहरी, विराटनगरतिर झर्छन्,' होटल एसोसिएसन अफ धरानका वरिष्ठ उपाध्यक्ष सरोज भट्टराईले भने, ‘ग्राहकलाई होटलले नै पानी दिनुपर्नेमा उनीहरु मिनरल वाटर किनेर खान बाध्य छन्।' उनका अनुसार धरानमा भारतीय पर्यटक बढी आउँछन्। उनीहरु होटलमा बस्दा दिनमा २ पटकसम्म नुहाउँछन्। पानी नहुँदा छोडेर अन्यत्र जान्छन्। ‘धरानमा कुुनै ठूलो कार्यक्रम आयो भने कसरी पानीको व्यवस्था गर्ने भनेर टेन्सन बढ्छ, हाम्रो व्यावसाय नै धराशयी बनाइसक्यो,' उनले भने। उनका अुनसार ठूला होटललाई दैनिक सरदर १० हजार र मध्यमस्तरलाई ५ हजार लिटर पानी चाहिन्छ।
खानेपानी वितरण गर्दै आएको संस्थानका वितरण प्रमुख केपी शर्माका अनुसार धरानमा दैनिक २ करोड १० लाख लिटर पानीको माग भए पनि सुक्खा याममा एक करोड लिटर हाराहारी मात्र आपूर्ति हुन्छ। उनका अनुसार बर्खायाममा सर्दु, खर्दु र तामाखामबाटै मागबमोजिम पानी आपूर्ति भए पनि सुक्खा याममा ५०–६० लाख लिटर मात्रै आपूर्ति हुन्छ। त्यसबेला जंगलमा रहेको ४ वटा वेलबाट पम्पिङ गरेर थप ५० लाख लिटर हाराहारी पानी आपूर्ति हुने संस्थानले जनाएको छ।
   

                   ठूला लगानी पनि प्रभावित


खानेपानी अभावले नगरबासी र होटलमात्र प्रभावित भएको छैन। धरानमा ठूला लगानीको ढोका पनि बन्द गरेको छ। पानीकै कारणले होटल व्यवसायमा ठूलो लगानी आउन नसकेको यहाँका उद्योगी, व्यवसायीको भनाइ छ। ‘सञ्चालनमा आएका होटल पनि पानी दिन नसकेर संकटमा छन्,' होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष भट्टराई भन्छन्, ‘यो अवस्थाले ठूला लगानी धरानमा भित्रिन सकेको छैन।'
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ पनि दीर्घकालीन रुपमा पानीको समस्या समाधान हुने भए धरानको होटल व्यवसायमा ठूलो लगानी आकर्षित हुने बताउँछन्। ‘पानीकै कारण ठूला लगानी आउन सकेको छैन,' उनी भन्छन्।

                      नयाँ आयोजनाप्रति आशा

पानी अभावले निरास बनिसकेका यहाँका होटल व्यवसायीमा अहिले भने झिनो आशा जागेको छ। दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदानमा सुरु आयोजनाले कुम्भीआहाल भन्ने ठाउँमा टेस्ट ड्रिलिङ गर्दा पानीको भूमिगत स्रोत फेला परेको छ। ‘पानीको स्रोत फेला परेको खबरले हामीमा आशा जगाएको छ, यसले धरानलाई बस्नयोग्य सहरमा परिणत गर्छ,' होटल व्यवसायी महेन्द्र प्रधानले भने। होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष भट्टराई पनि आयोजना सफल भए पर्यटन तथा होटल व्यवसायको लागि मात्रै नभई सम्पूर्ण धरानेका लागि लाभदायी हुने बताउँछन्।
 (०७० फागुन २१ गतेको नागरिक दैनिकमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे