धरानमा इलामको पर्यटकीय गन्तव्यको प्रर्वद्धन


धरान । भानुचौकस्थित घण्टाघर धरानको पर्यटकीय गन्तव्य मध्येमा पर्छ । यहाँ घुम्न आउने पर्यटकहरु घण्टाघरको टुप्पोमा उक्लिएर धरानको दृष्यपान नगरी फर्कदैनन् । शनिबार भने घण्टाघर घुम्न आउने पर्यटकहरुले धरान मात्रै होइन, इलाम जिल्लाको पर्यटकीय गन्तव्यहरुको पनि नियाल्न पाए ।
इलामको पर्यटन प्रवद्र्धन गर्ने सुनसरी–मोरङ इलामेली समाजले शनिबार घण्टाघरमा पौरखी इलाम कार्यक्रम आयोजना गरेको थियो । सर्वसाधारण एवं पर्यटकहरुलाई जानकारी गराउन समाजले इलामका विभिन्न १२ वटा गन्तव्यहरुका साथै सँस्कृति झल्काउने सुन्दर तस्वीरहरु प्रर्दशनीमा राखेका थिए । इलाम नपुगेका तथा इलाम पुगेपनि पर्यटकीय गन्तव्यमा पुग्न नसकेकाहरुलाई सुन्दर तस्वीरहरुले निक्कै खिचेको थियो । आर्कषक तस्वीरबाटै भएपनि इलाम हेर्न सर्वसाधारणहरुको घुइचो थियो । प्रर्दशनीस्थलमा इलामका कृर्षिजन्य उत्पादन एवं इलामको चिनारी बोकेको ‘अ’हरुको पनि प्रर्दशनी एवं बिक्रीकक्ष(स्टल) पनि राखिएको थियो ।

सुनसरी र मोरङमा बसोबार गरिरहेका इलामेलीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम नगरपालिकाका कार्यकारी अधिकृतसहित पर्यटनकर्मीहरुको एक टोली धरान आएका थिए । पर्यटनविद धर्म गौतमले नयाँ बर्षको संघारमा धरानमा भएको कार्यक्रमले इलाममा पर्यटकहरु भित्र्याउने आशा व्यक्त गरे । ‘पर्यटन भनेकै चर्चा हो, इलामबारे सुनेको तर नपुगेकाहरुलाई यी सुन्दर तस्वीरहरुले पक्कै पनि इलाम जाउ जाउ बनाएको हुनुपर्छ’–इलामबाट कार्यक्रममा सहभागी हुन आएका गौतमले भने–‘नयाँ बर्षमा यताका मानिसहरुको गन्तव्य इलाम हुनेमा हामी विश्वस्त छौं ।’
घण्टाघर परिसरमा इलामका समालबुङ(अन्तु), कन्याम, पञ्चकन्या, माइपोखरी, जमुना, माबु, कोल्बुङ, सिद्धिथुम्कालगायत १२ वटा पर्यटकीय गन्तव्यहरुको आर्कषक तस्वीरहरु प्रर्दशनी गरिएको थियो । यस्तै, इलाममा मात्रै पाइने डेरीजन्य उत्पादनहरु ललीपप र बम्बइसनसहित चिज र पनिरको स्टल राखिएको थियो । इलाममा पाइने सबै प्रकारका चियाको पनि स्टल राखेर निःशुल्क चियाको स्वाद पनि दिलाएको थियो । यसैगरि, इलामका होटलहरुको बारेमा सम्पुर्ण जानकारीसहितको पर्यटन सुचना केन्द्रको पनि स्टल थियो । इलामको चिनारी बनेको ‘अ’(अलैची, अकबरे, अम्लिसो, आलु, ओलान)को पनि छुट्टै स्टल थियो । धरानको सेक्ष ट्राभलिङको पनि पर्यटनसम्बन्धि स्टल थियो ।
‘गृहजिल्लाको पर्यटन प्रर्वद्धन सँगै धरान र इलामबीच पर्यटन, सँस्कृतिक, सामाजिक र विकासको सहकार्य गरौं भनेर पनि पौरखी इलाम कार्यक्रम गरेका हौं’–आयोजक समाजका अध्यक्ष कृष्ण शाहले भने–‘हामीबीच समाजिक सद्भाव र एकता कायम होस भन्ने पनि उद्देश्य छ ।’ इलाममा आगमी बैशाख १, २ र ३ गते भेटौ इलाम नामको पर्यटनसम्बन्धी कार्यक्रम आयोजना हुदैछ । धरानको पौरखी इलाम कार्यक्रमले भेटौं इलामको प्रर्वद्धनमा पनि सहयोग पुर्याएको उनको भनाई छ । इलाम नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले इलामलाई ग्रीन सिटि बनाउन लागिपरेको बताए भने धरानका कार्यकारीअधिकृत भोजराज खतिवडाले इलामलाई पछ्याउदै धरानलाई पनि ग्रिनसिटि बनाउन पहल भइरहेको बताए । पौरखी इलाम कार्यक्रमअन्र्तगत नै शनिबार समाजले घण्टाघर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७४ पिन्ट रगत संकलन भएको थियो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे