पूर्वाञ्चल स्टारमा टप २० छनौट
धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्न सञ्चालन भइरहेको पूर्वाञ्चल स्टार–२ को पाँचौ चरणबाट २० जना प्रतियोगीहरु छनौट भएका छन् । धरान ९, आचार्यलाइनस्थित सुनसरी गीत गजल तथा लोकदोहोरी साँझको हलमा शनिबार आयोजित पाँचौं चरणको अडिशनबाट उत्कृष्ट २० जना प्रतियोगीहरु छनौट भएका हुन् । चौथो चरणमा विभिन्न जिल्लाका २५ जना प्रतियोगीहरु सहभागी थिए । टप २० मा छनौट हुनेहरुमा सबैभन्दा बढी ६ जना उदयपुर जिल्लाका छन् । उदयपुरबाट छनौट हुनेहरुमा सृजना राई, टिकाराम राई, निरज राई, राकेश माले, मुकेश घतानी र पुष्पराज बस्याल छनौट हुन सफल भएका छन् ।

टप २० मा छनौट भएका प्रतियोगीहरुको छैटौं चरणको अडिशन चैत २६ गते हुने कार्यक्रम संयोजक तथा गायक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार उत्कृष्ट २५ देखि भने निर्णयकसँगै एसएमएस भोटिङको आधारमा पनि छनौट शुरु भएको हो । युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर पूर्वाञ्चल बगिना कलाकेन्द्रले पूर्वाञ्चल स्टार आयोजना गरेको हो ।
Comments
Post a Comment