बहिरा क्रिकेटका सारथी: धरानका मनिष लोहिया


धरान । राष्ट्रिय बहिरा क्रिकेट संघले धरानमा फागुन तेस्रो साता पाँचौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरिसकेको थियो । निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न संघ र स्थानीय व्यवस्थापक सुनसरी बहिरा क्रिकेट संघलाई बजेट अभावले हम्मेहम्मे पर्यो ।
प्रतियोगिताको लागि सरकारले ३ लाख मात्रै उपलब्ध गराउने भन्यो । आयोजकसँग थप बजेट थिएन । प्रतियोगिताको लागि करिब ९ लाख चाहिएको थियो । उनीहरु निक्कै भौतारिए । कतैबाट एक पैसा उठेन । आफ्ना भावना र विचारहरुलाई सांकेतिकरुपमा अभिव्यक्त गर्ने उनीहरुको कुरा बुझ्न सामान्य मानिसलाई दोभासेको आवश्यकता पर्छ । बजेटको लागि पहल गरेको सरकारी निकाय होस वा निजी क्षेत्र । कसैले पनि धरानमा हुन लागेको राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगितालाई गम्भीरतापूर्वक लिइएन । आयोजक निराश भइसकेको थियो । फागुन २१ देखि २५ गतेसम्म हुने भनिएको प्रतियोगिताको मिति सार्न आयोजक बाध्य भयो ।
निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसके सरकारले दिएको ३ लाख बजेट पनि फ्रिज हुने खतरा थियो । व्यवस्थापनको जिम्मेवारी पाएको सुनसरी बहिरा क्रिकेट संघका अध्यक्ष भानुलाल आचार्य अन्तिम समयमा धरानका व्यापारी एवं समाजसेवी मनिष लोहियाको शरणमा पुगे । आचार्यले लोहियालाई भेटेर दुःख बिसाए । सहयोगी भावनका लोहियाले आचार्यको आग्रहलाई नर्कान सकेनन् । लोहिया बहिरा क्रिकेट प्रतियोगिताको लागि सारथी बनिदिए । ‘प्रतियोगिता नगरे बजेट फ्रिज हुने रहेछ, आयोजकले कहीकतैबाट पनि एक पैसा सहयोग नपाएर छटपटिएको थियो’–लोहियाले भने–‘धरानमा हुने भनिएको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसके धरानकै बेइज्जत हुने थियो, त्यसैले नाई भन्न सकिन ।’

प्रतियोगिता सम्पन्न गराउन गोप्य दान गरेका मनिष लोहिया(चस्मा लगाएका)लाई धन्यवाद दिदै व्यावस्थापन गरेको सुनसरी बहिरा क्रिकेट संघका अध्यक्ष भानुलाल आचार्य ।
ढुंगा खोज्दा देउता मिल्यो भने झै लोहियाले प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई धरानमा चार दिनसम्म खाजा, खाना र बस्ने खर्च व्यहोरिदिए । यस्तै, बाहिरबाट आउने खेलाडीहरुको यातायात (आउन जान)को खर्च पनि उनले नै जिम्मा लिए । खेलाडीहरुबाट आयोजकलाई गुनासो गर्ने कुनै मौका दिएनन् । प्रतियोगितामा कति खर्च भयो भनेर उनी खुलाउन भने चाहदैनन् । ‘मेरो सहयोगलाई मैले गोप्यदान भनेको छुँ । खेलाडी आउन जान, धरानमा खान बस्नको सबै खर्च मैले व्यहोर्छु तर रकम नखुलाउ’–लोहियाले भने । प्रतियोगितामा काठमाण्डौं, सुनसरी, मोरङ, केन्द्रीय बहिरा उच्चमावि नक्साल, रुपन्देही र झापा बहिरा क्रिकेट संघ गरी ६ वटा टिमले सहभागीता जनाएको थियो ।
प्रतियोगिताको लागि बजेट अभाव भएपछि पूर्वाञ्चल बहिरा विद्यालयका विद्यार्थीहरुले ड्रम बजाउदै बजारमा आर्थिक संकलन गरेका थिए । यो दृष्यले पनि सहयोगी लोहियाको मन पग्लिएको थियो । विद्यार्थी र अन्य सहयोगीबाटसमेत गरी एक लाख ८० हजार मात्रै थप संकलन भएको थियो । व्यावस्थापनको जिम्मा लिएका सुनसरी बहिरा क्रिकेट संघका अध्यक्ष भानुलाल आचार्य धरानमा राष्ट्रिय प्रतियोगता हुदा पनि नगरपालिकाले सहयोग नगरेको गुनासो गर्छन । ‘राष्ट््िरय प्रतियोगिता धरानमा हुदा पनि सहयोग पाएनौं, मनिष लोहियाको साथ नपाए यो कार्यक्रम हुदैनथियो’–आचार्यले सांकेतिक भाषामा भने । प्रतियोगिताको समापनमा लोहियाप्रति कृतज्ञ हुदै आयोजकले सम्मान गरेको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे