टेष्ट ड्रिलिङको पानी पिउन योग्य भएको पुष्टि


धरान । खानेपानी आयोजनाको लागि टेष्ट ड्रिलिङ भइरहेको ठाउँमा फेला परेकोे भुमिगत स्रोतको पानी ‘पिउन योग्य’ रहेको पुष्टि भएको छ । राजधानीको प्रयोगशालामा गरिएको परीक्षणमा धरान १७, कुम्भीआहालस्थित टेष्ट ड्रिलिङस्थलमा भेटिएको स्रोतको पानी पिउन योग्य भएको पुष्टि भएको आयोजनाले जानकारी दिएको छ ।
धरान नगरपालिकाले मंगलबार आयोजना गरेको खानोपानीबारे सार्वजनिक सुनुवाईमा आयोजनाका व्यावस्थापक राजु पोख्रेलले गुणस्तर परीक्षणमा पानी पिउन योग्य रहेको रिपोर्ट आइसकेको बताए । कति मात्रामा पानी निस्कन्छ भन्ने अन्तिम परीक्षण भने हुन बाँकी रहेको उनले खुलाए । ‘परीक्षणबाट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पिउन योग्य पानी भएको रिपोर्ट आइसकेको छ’–सार्वजनिक सुनुवाईमा पोख्रेलले भने ।

व्यवस्थापक पोख्रेलका अनुसार कुम्भीआहालस्थित भुमिगत स्रोतको पानीलाई केही प्रशोधन एवं औषधीसमेत नहालीकनै पिउन सकिने रिपोर्ट आएको छ । रिपोर्ट अनुसार पानीमा हुनुपर्ने आर्सेनिक, आइरनलगायत तत्वहरुको मात्रा सबै ठिक अवस्थामा छ । ‘सबै प्यारामिटर पुगेको भन्ने रिपोर्ट आएको छ, पिउनको लागि योग्य छ, केही(ट्रिटमेन्ट) गर्नै पर्दैन’–पोख्रेलले भने । राजधानीमा गरिएको परीक्षणबाट पानी पिउन योग्य भन्ने पुष्टि भएपनि धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारबाट पनि गुणस्तर परीक्षण गराउने उनले बताए । पोख्रेलले थपे–‘रिपोर्ट आइसकेको भएपनि अन्य विभिन्न परीक्षणको प्रक्रियाबाट गुज्र्रदैछौं ।’
एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा शुरु आयोजनाको टेष्ट ड्रिलिङस्थलमा फागुन दोस्रो साता पानीको लेयर(तह) भेटिएको थियो । पानीको भुगिमत स्रोत फेला परेपनि गुणस्तर परीक्षणबाट पुष्टि हुन भने बाँकी नै थियो । सो स्थानमा फेब्रुअरी २८ देखि पम्पिङको काम शुरु गरिएको थियो । सार्वजनिक सुनुवाईमा आयोजनाको कामहरुको जानकारी दिदै व्यवस्थापक पोख्रेलले नगरबासीको लागि अपुग पानी निकाल्नकोलागि भुमिगत स्रोतमा आवश्यकता भएजति ड्रिल गरिने बताए । पोख्रेलका अनुसार बर्षायाममा सर्दु र खर्दु खोलाबाट माग वमोजिम पानी उपलब्ध हुने भएपनि सुख्खा याममा एक करोड लिटर भन्दा बढी पानी अपुग देखिएकोले ८ वटासम्म ड्रिल गरिने बताए । ‘हामीलाई जतिवटा वेल चाहिन्छ, त्यति नै ड्रिल गर्नेछौं । अहिलेको अध्ययनअनुसार ८ वटासम्म ड्रिल गर्दा पानी पर्याप्त पुग्छ भन्ने देखिएको छ’–उनले भने ।

नगरको पूर्वाधार विकास तथा नगरबासीको दैनिक जीवनको लागि पानी अतिआवश्यक  भएकोले हालको स्रोत एवं संरचनाको मर्मतसम्भार र नयाँ संरचना विस्तार गरिने आयोजनाले जनाएको छ । घर धुरी, पाइप लाइन र आवश्यक संरचनालगायतको सर्वे भइसकेको पनि आयोजनाले जनाएको छ । सार्वजनिक सुनुवाईमा सहभागी नगरबासीहरुले भने सस्तोमा पानी वितरण गर्ने उपायहरु खोज्न नगरपालिकालाई आग्रह गरेका थिए । साथै, ३५ प्रतिशत ऋण र १५ प्रतिशत सहभागीताको बजेटको भार जनतामा सकेसम्म नबोकाउन उनीहरुको सुझाव थियो । ‘नगरपालिकाले झण्डै ३३ करोड सहभागीता गराउनुपर्छ, करिब ७७ करोड ऋण बोक्नुपर्छ । जनतालाई ऋण नबोकाई यसको जोहो कसरी गर्ने ?’–प्राध्यापक राजेन्द्र शर्माले भने–‘सरकारबाट यसको व्यवस्था गर्न सकिदैन ? यो क्षेत्रबाट चुनिएका सभासद, राजनीतिक नेताहरुले पहल गरिदिनुपर्छ ।’
नगरपालिकामा खानेपानी उपलब्ध गराउन खानेपानी आयोजनाबाट हालसम्म भएका प्रयास बिषयक सार्वजनिक सुनुवाईमा बोल्दै कार्यकारी अधिकृत भोजराज खतिवडाले आयोजनाको काम पारदर्शी बनाउन कार्यक्रम आयोजना गरिएको बताए । नगरबासीले थाह पाउन खोजेको सबै जानकारी दिनको लागि कार्यक्रम गरिएको उनको भनाई थियो । कार्यक्रम महिला सञ्जाल नगर समितिको व्यवस्थापनमा आयोजना भएको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे