शव दाहस्थलबाट हजार परिवारलाई असर


धरान । घर सामुन्नेको सडकबाट मलामीको लस्कर देख्दा धरान ८, दुर्गापथका दावा तामाङ्गको वेचैनी एक्कासी बढ्छ । उनी कि घर छोडेर अन्त्रय लाग्छन् कि मास्क लगाएर बस्छन् । घर नजिकैको वनक्षेत्रबाट कालो धुवाको मुस्लो उड्न छोडेपछि मात्रै उनको मनलाई शान्ति मिल्छ ।
मावन वस्ती नजिक रहेको वन क्षेत्रमा निर्माण गरिएको शव दाह संस्कारस्थलबाट प्रभावित सर्वसाधारणमध्ये दावा एक प्रतिनिधि पात्र हुन् । धार्मिक वनकोरुपमा दर्ता भएको वौद्ध दाह सँस्कारस्थलमा शव जलाउन निर्माण गरिएको तीन वटा ‘वर्निङ प्वाइन्ट’बाट त्यस क्षेत्रका हजार बढी घरपरिवार पीडित छन् । उनीहरुले वर्निङ प्वाइन्टलाई आधुनिकीकरण गर्न वा अन्यत्र सार्न पटक पटक आग्रह गरेपनि सुनुवाई भएको छैन । शव जलाउदा निस्कने धुवा एवं धुलोले मानव वस्तीलाई मात्रै होइन, वर्निङ प्वाइन्ट वन क्षेत्रमा भएकोले वातावरणलाई पनि असर पुर्याइरहेको छ । ‘लाश जलाउन थालेपछि हावाले धुवाको वस्तीतिर ल्याउछ, दुर्गन्धले घरमा बस्नै सकिदैन’–स्थानीय तामाङ भन्छन्–‘हामी त साह्रै पीडित छौं ।’
स्थानीयका अनुसार प्रायः शव बिहान जलाउन ल्याउने हुदा स्थानीयबासी घरमा नै हुन्छन् । खानाको समयमा पर्दा धुवा, धुलो र दुर्गन्धले खपिनसक्नु बनाउने गरेको स्थानीय पीडा पोख्छन् । ‘घरमा पाहुना आएका हुन्छन्, खाना खादै गरेको बेला घरभरि खरानी र दुर्गन्धले लाजैमर्दो पार्छ’–स्थानीय युवा सुवास श्रेष्ठले भने । वर्निङ प्वाइन्ट मानव वस्तीबाट करिब डेढ सय मिटर दक्षिणमा बनाइएको छ । त्यसबाट दुर्गापथ, अरुण टोल र आसपासका हजार घरपरिवारलाई पीडित बनाएको स्थानीय बताउछन् ।

त्यसस्थानमा ४ बर्षअघि वर्निङ प्वाइन्ट निर्माण गरिएको हो । निर्माण हुदा नै स्थानीयले मानव वस्ती नजिक भएको भन्दै विरोध जनाएका थिए । निर्माणकर्ताहरुले चिम्नीसमेत जडान गरेर धुवा एवं खरानीलाई वस्तीमा आउन नदिने गरि व्यावस्थापन गर्ने प्रतिवद्धता जनाएपछि कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ । उनीहरुले बौद्ध दाहासँस्कारस्थल सञ्चालक समितिलाई पटक पटक झक्झकाए । इलाका वन कार्यालयमा पुगे, तर सुनुवाई भएन । ‘हामीले शुरुमा पनि विरोध गर्यौं, चिम्नी लगाउने भन्यो तर अहिलेसम्म केही गरेको छैन’–स्थानीय दावाले भने–‘यसलाई कि हटाउनु पर्यो, कि व्यवस्थित गर्नुपर्यो ।’ स्थानीयका अनुसार कुनै बेला सातामा २, ३ वटासम्म शव आउने गरेकोछ ।
पीडित स्थानीयबासीले गुनासो पोखेपछि वन कार्यालयले दुई साताअघि छलफल गराएको थियो । उक्त छलफलमा वर्निङ प्वाइन्टदेखि मास्तिर विरुवा रोप्ने, वर्निङ प्वाइन्टमा चिम्नी अथवा इलेक्ट्रिक सिस्टम बनाउने वा ठाउँ सार्ने भनेर सहमति भएको सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । शव जलाउदा निस्कने धुवा र खरानीले वातावरणलाई पनि प्रदुषित पार्ने भएकोले इलेक्ट्रिक सिस्टम ल्याउन सुझाएको लामाको भनाई छ । ‘त्यहाँबाट सारेपनि समस्या त उस्तै हुन्छ, त्यसैले वातावरण र मावन वस्तीलाई असर नपुग्ने गरि चाडो व्यवस्थित गर्न वा इलेक्ट्रिक सिस्टम बनाउने भनेर सहमति भएको छ’–लामाले भने ।
बौद्ध दाह सँस्कारस्थलका उपाध्यक्ष सेतुमान तामाङ स्थानीयलाई असर पुगेको थाह भएपनि बजेट अभावले व्यवस्थित गर्न नसिएको बाध्यता सुनाउछन् । वर्निङ प्वाइन्टमा चिम्नी बनाउने भनेर नक्सा तयार भइसकेको उनको भनाई छ । ‘दुर्गन्धित भयो भनेर निवेदन दिएका छन्, हामी पनि सार्ने पक्षमा नै छौं’–उनले भने–‘तर, बजेट नभएर समस्या भएको छ ।’ उनका अनुसार हालको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा सार्ने विकल्पबारे पनि अध्ययन भइरहेको छ भने इलेक्ट्रिक सिस्टमबारे पनि समितिले आवश्यक पहल गर्नेछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे