बुढासुब्बा गोल्डकपअघि मिडिया कप हुने


धरान । १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको तयारीमा जुटेको आयोजकले गोल्डकपअघि मिडिया कप पनि आयोजना गर्ने भएको छ । बुढासुब्बा गोल्डकपको प्रचार एवं प्रर्वद्धन गर्ने उद्देश्यले मिडिया कप आयोजना गर्न लागेको धरान फुटबल क्लबले जानकारी दिएको छ ।
१६ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रर्वद्धन मिडिया कप नाम दिइएको प्रतियोगिता चैत २ र ३ गते आयोजना गरिने अध्यक्ष किसोर राईले बताए । बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण मिडियामा समर्पित गरिएकोले पनि मिडिया कप आयोजना गर्ने क्लबले निर्णय गरेको अध्यक्ष राईको भनाई छ । ‘बुढासुब्बा गोल्डकपलाई सफलता दिलाउन मिडियाको ठुलो भुमिका छ, त्यसैले हामी सञ्चारकर्मी मित्रहरुमा ऐतिहासिक सम्मान व्यक्त गर्न चाहन्छौं’–क्लबले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय द्धितिय उपाध्यक्षसमेत रहेका राईले भने–‘सम्मान स्वरुप नै बुढासुब्बा गोल्डकपअघि मिडिया कप गराउदैछौं ।’
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा हुन लागेको मिडिया कप आयोजनाको लागि महासंघका कोषाध्यक्ष विकास राईलाई संयोजकको जिम्मेवारी दिइएको छ । दुई दिने मिडिया कपमा ४ वटा टिमले सहभागीता जनाउने संयोजक राईले बताए । ‘मिडिया कपमा छापा(प्रिन्ट) मिडियामा कार्यरत पत्रकारहरुको २ वटा टिम हुनेछ, यस्तै रेडियोकर्मीहरुको एउटा र अर्को टेलिभिजनमा कार्यरतहरुको टिम हुनेछ’–संयोजक राईले भने–‘मिडियाकप तयारीबारे शुक्रबार पत्रकारहरुसँग पुनः छलफल गर्नेछौं ।’ बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण चैत ७ गतेदेखि १५ गतेसम्म हुदैछ ।
मिडिया कप धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुनेछ । मिडिया कपको विजेता तथा उपविजेतालाई आयोजकले ट्रफीसहित नगद दिइने बताए पनि पुरस्कार राशी भने खुलाएको छैन । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष राईले बताए । बुढासुब्बा गोल्डकपको आगामी सँस्करणहरुमा पनि प्रर्वद्धन गर्न मिडिया कपलाई निरन्तरता दिइने उनले बताए । पत्रकार महासंघका अध्यक्ष केशव घिमिरले मिडिया कपले पत्रकारहरुलाई खेलसँग नजिक तुल्याउने तथा खेलकुदको विकासमा योगदान थपिने धारणा राखे ।
.....................................

                  ‘पास’ नबाडिने, टिकट काटेर हेर्न आग्रह


विगत १६ बर्षदेखि निरन्तर आयोजना हुदै आएपछि बुढासुब्बा गोल्डकपले अपेक्षाअनुरुप नाफा कमाउन नसकेपछि यसपटक कसैलाई पनि ‘पास’ नदिइने क्लबले जानकारी दिएको छ । आयोजकले विशिष्ट अतिथि एवं सहयोगीहरुलाई सुविधास्वरुप बुढासुब्बा गोल्डकप अवधिभर निःशुल्क हेर्नको लागि पासको व्यवस्था गर्दा दुरुपयोग भएको ठहर गर्दै यसपटक क्लबले पास नबाँड्ने निर्णय गरेको हो । ‘साथीभाई, सहयोगी भनेर पास दिने गरेका थियौं, तर यसको दुरुपयोगले क्लबलाई धेरै आर्थिक नोक्सानी गर्यो’–अध्यक्ष किसोर राईले भने–‘त्यसैले यसपटक कसैलाई पनि पास नबाड्ने निर्णय गरेका छौं, क्लबका सदस्यले पनि आफ्नो परिवारलाई टिकट काटेर खेल हेर्नुपर्छ भन्ने सोचको विकास गराउन यस्तो निर्णय गरेको हो, सबैले टिकट काटौं भन्ने आग्रह छ ।’
पोखरामा सञ्चालन हुने आहा गोल्डकपमा कसैले पनि पास नमागी टिकट काटेर नै खेल हेर्ने गरेको उल्लेख गर्दै क्लब अध्यक्ष राईले धरानका खेलकर्मीहरुलाई पनि त्यसको अनुसरण गर्न आग्रह गरे । बुढासुब्बा गोल्डकपको १६ औं सँस्करण चैत ७ गतेदेखि १५ गतेसम्म धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुदैछ । बुढासुब्बा गोल्डकपको आयोजकले गत सँस्करणमा एक लाख रुपैया मात्रै नाफा कमाएको थियो भने १४ औं सँस्करणमा मात्रै अहिलेसम्मको सबैभन्दा बढी ४ लाख रुपैया नाफा कमाउन सकेको थियो ।
              (०७० फागुन ३० गतेको नागरिक दैनिकमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे