भानुचौकबाट रात्री बसको पार्किङ सार्ने तयारी


धरान । भानुचौकस्थित बसपार्क साँघुरिदै गएर अस्तब्यस्त बनेपछि व्यवस्थित गर्न लामो दुरीको रात्री बसको पार्किङ(स्टेण्ड) स्थानान्तरण गरिने भएको छ । नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र बसपार्क व्यवस्थापन समितिले बसपार्कलाई व्यवस्थित गर्न रात्री बसको पार्किङलाई स्थानान्तरण गर्ने तयारी गरेको हो । यसको लागि बसपार्क व्यवस्थापन समितिले बस व्यावसायी र मजदुरसँग छलफल गरेर सहमति जुटाइसकेको छ । नगरपालिकाले पनि विकल्पमा रात्रीबसको पार्किङको लागि जग्गा खोजेर पूर्वाधार तयारीमा जुटिसकेको छ । ‘रात्री बस पार्किङको बेला भानुचौक अस्तब्यस्त हुन्छ, त्यसैले व्यावसायी र मजदुरहरु पनि पार्किङ सार्नको लागि सहमत भएका छन्’–बसपार्क व्यावस्थापन समितिका संयोजक एवं व्यवसायी तिलक राईले भने–‘हामीले निर्णय गरेर विकल्प खोज्न नगरपालिकालाई आग्रह गरिसकेका छौं ।’
समितिको निर्णयअनुसार नगरपालिकाले धरान १५ स्थित घरेलु तथा सिल्पकला बिक्री भण्डारको जग्गामा अस्थायीरुपमा रात्रीबस पार्किङ गर्ने तयारी गरेको छ । भण्डारले अस्थायीरुपमा जग्गा दिन सहमत भएपछि नगरपालिका, जिल्ला ट्राफिक कार्यालयले स्थानीयलाई समेटेर रात्रीबस व्यवस्थापन समितिसमेत गठन गरिसकेको छ । ‘घरेलुको जग्गा कति हो भनेर छुटिसक्यो, पूर्वाधार तयार गर्नको लागि स्टिमेट पनि भइसकेको छ’–नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘त्यहाँ स्लाभ, प्रतिक्षालय, शौचालयलगायत संरचनाहरु निर्माण भएपछि सारिनेछ ।’ उक्त जग्गामा ११ सय केभीको विजुलीको पोल रहेकोले त्यसलाई सार्न विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयलाई आग्रह गरिएको पनि उनले बताए । नगरपालिकाको आग्रह वमोजिम प्राधिकरणको क्षेत्रीय निर्देशक धरान आएर स्थलगत निरीक्षण पनि गरिसकेका छन् ।

ट्राफिक प्रहरीका अनुसार धरानबाट राजधानी, पोखरा र नेपालगञ्ज रुटमा चल्ने रात्री बसहरु दैनिक २५ देखि ३० वटा भानुचौकमा पार्किङ गरिन्छ । साघुरो बसपार्कमा रात्री बस पार्किङ हुदा दिउँसो बसपार्क क्षेत्र अस्तब्यस्त बन्छ । रात्री बसको चापले गर्दा छोटो दुरीका सवारी सडकमा नै पार्किङ भइरहेको हुन्छ । पार्किङस्थल सारिएपछि भने भानुचौक नआईकन रात्रीबस धरानबाट बाहिरिने व्यवस्था गरिने भएकोले बसपार्क क्षेत्र खुला र व्यवस्थित हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले बताए । ‘पार्किङस्थल सारिएपछि रात्रीबसले उतैबाट मान्छे चढाउछ, र भानुचौक नआई वरगाछी हुदै बाहिरन्छन्’–अधिकारीले भने–‘बिहान धरान आएका रात्री बसले यात्रु आरोल्न मात्रै भानुचौक आउने व्यवस्था गछौं ।’ लामो दुरीको रात्री बसको पार्किङ सारेपछि अहिले ठाउँ अभावमा सकडमा पार्किङ हुदै आएको छोटो दुरीको सवारीसाधानहरु बसपार्कभित्रै अट्ने उनले बताए ।
....................

           सडकबाट मोटरसाइकल पार्किङ हटाइने

कोशी राजमार्गअन्र्तगत पर्ने भानुचौकदेखि टेलिकम कार्यालयसम्मको सडकमा एकातर्फको साना सवारीको पार्किङलाई पनि स्थानान्तरण गरिने भएको छ । सरोकारवालाहरुसँग छलफल गरेर नगरपालिकाले विकल्पमा पार्किङस्थलको खोजी पनि गरिसकेको छ । जहाँ चैत १ गतेदेखि कार्यान्वयन गर्ने गरि पूर्वाधार तयारीमा जटुेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले भानुचौकदेखि छाताचोकसम्मको सडकलाई पार्किङ निषेध क्षेत्र बनाएर धरान २ स्थित भागवतकाजी रोड पश्चिम प्रितम श्रेष्ठको जग्गा एक बर्षको लागि लिजमा लिइसकेको छ । सो जग्गामा २ महिनासम्म परीक्षणकाल रहने र त्यसबेलासम्म पैसा नलिन जग्गाधनी श्रेष्ठ सहमत भइसकेका छन् । यस्तै, भानुचौकस्थित घण्टाघर उत्तर र पूर्वको खुला क्षेत्रलाई पनि मोटरसाइकल पार्किङस्थल बनाइने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘छाताचोकदेखि टेलिकमसम्मको पार्किङलाई पुरानो अस्पतालको खोली जग्गामा राख्न बीपी प्रतिष्ठानसँग पहल गर्ने निर्णय पनि भएको छ’–खतिवडाले भने । लिजमा लिएको जग्गामा दैनिक ३ सय बढी मोटरसाइकल र ३० भन्दा बढी साना चारचक्के सवारी अट्नसक्ने क्षमता छ ।

सडकको एकातर्फमात्रै कार, मोटरसाइकललगायतका साना सवारी पार्किङ गर्ने व्यवस्था भएपनि धरानमा ठाउँ अभावले जथाभावी पार्किङ हुने गर्छ । यसले सडक निक्कै साघुरो बनेको र दुर्घटनाको जोखिम पनि बढाएको गुनासो बढेपछि सरोकारवाला निकाय विकल्पको खोजीमा थियो । ट्राफिक प्रहरी निरीक्षक नविन अधिकारीका अनुसार नो पार्किङ, पार्किङ यता लगायतका बोर्ड तयार भइरहेको छ । भानुचौकदेखि छाताचोकसम्मको सडकमा अस्थायी र स्थायी गरि दुई किसिमका पार्किङ हुने र त्यसैवमोजिम सार्ने तयारी भएको छ । त्यसक्षेत्रमा वित्तिय संस्था, व्यावसायी र घरधनीको दिनभरि(स्थायी) पार्किङ हुनेगर्छ भने अर्को किनमेल वा आफ्नो काम लिएर आएका सर्वसाधारणहरुले केहीबेर(अस्थायी)पार्किङ गर्छन् । ‘स्थायी खालको पार्किङलाई लिजमा लिएको जग्गामा सार्ने र अस्थायी पार्किङलाई घण्टाघरको उत्तर र पूर्वीक्षेत्रको भागमा सार्ने निर्णय भएको छ’–अधिकारीले भने । यसैगरि, देशीलाइन र पुतलीलाइनमा हुने पार्किङ व्यवस्थित गरेर सःशुल्क पार्किङको व्यवस्था गरिने पनि उनले खुलाए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे