टेष्ट ड्रिलिङमा पर्याप्त पानीको लेयर भेटियो


धरान । एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा शुरु खानेपानी आयोजनाको लागि टेष्ट ड्रिलिङ भइरहेको ठाउँमा पर्याप्त पानीको लेयर(तह) भेटिएको छ ।
धरान १७, कुम्भीआहालस्थित टेष्ट ड्रिलिङस्थलमा पर्याप्त पानीको सतह भेटिएको आयोजनाले जनाएको हो । प्रारम्भिक अवस्थामा पानीको गन्ध र रंग हेर्दा पिउन योग्य देखिएपनि गुणस्तर परीक्षणबाट पुष्टि हुन भने बाँकीछ । ‘पानीको रंग, गन्ध हेर्दा पिउन योग्य पानीको लेयर भेटिएको छ, यो धरानबासीकोलागि ठुलो उपलब्धी हो’–इञ्जिनियर एवं आयोजनाका व्यवस्थापक राजु पोख्रेलले भने ।
एडिबीको भुगोलविदको टोलीले साउण्ड टेष्ट गर्दा धरानको भुगोलमा पानी भएको तथ्य फेला परेपनि त्यसलाई पुष्टि गर्नुपर्ने चुनौती थियो । टेष्ट ड्रिलिङको काम शुरु भएपछि पानी भए नभएको यकिन नभईकन लगानी भएको भन्दै विरोध पनि शुरु भएको थियो । ‘गुणस्तर र मात्राको परीक्षण रिपोर्ट आउन बाँकी छ, तर धरानकै भुगोलमा पानी भएको तथ्य भने प्रमाणित भएको छ, हाम्रो लगानी खेर गएन’–पोख्रेलले थपे ।


टेष्ट ड्रिलिङको काम गरिरहेको कन्सल्टेष्ट बिडिएका अनुसार ड्रिलिङस्थलमा फेब्रुअरी २८ देखि पम्पिङको काम शुरु गरिएको थियो । जहाँ शनिबार ९० मिटर गहिराईमा पम्म राखिदा पानीको लयेर ८६ मिटर थियो । निरन्तर १० घण्टासम्म पम्पिङ गर्दा पानीको लेयर(तह) घटनुको साटो बढेर ७९ मिटर माथिसम्म पुग्यो । ‘दश घण्टासम्म पम्पिङ गर्दा पानीको तह घट्नुपर्नेमा झन् ७ मिटर माथि पो आयो, यो त हाम्रो लागि झनै खुशीको कुरा हो’–बिडिएका निर्देशक अनिल नेपालले भने–‘पानीको परिमाण पनि राम्रो देखिएको छ ।’ उनका अनुसार आइतबार पुनः १ सय १३ मिटर तलसम्म पम्म राख्दा पानीको लेयर ७५ मिटरमा रहेको छ । त्यहाँ निरन्तर ७२ घण्टा पम्पिङ गरिनेछ ।
पानीको गुणस्तरसँगै प्रतिमिनेट कति पानी निकाल्न सकिन्छ र कति लेयर घट्छ भन्ने जाँचको रिपोर्ट आइसकेपछि अर्को ठाउँमा टेष्ट ड्रिलिङको काम शुरु गरिने निर्देशक नेपालले बताए । ‘परीक्षणको रिपोर्ट आउन ७ दिनमात्रै लाग्छ, त्यसपछि हामी अर्को ठाउँमा टेष्ट ड्रिलिङ थाल्छौं’–उनले भने । धरानको खानेपानी अभावको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न सन् २०१७ सम्म काम सम्पन्न गर्ने लक्ष्य लिएर आयोजना शुरु भएको हो । खानेपानी योजनासहित शुरु भएको एकीकृत शहरी विकास आयोजनाको लागि एडिबिले २२ मिलियन डलर(करिब सवा २ अर्ब रुपैया) अनुदान तथा ऋण सहयोगमा गरेको छ ।

......................

                               छ स्थानमा रिजर्ब ट्यांकी राखिने


धरानको प्रमुख खानेपानी समस्या हल गर्ने उद्देश्यले शुरु भएको आयोजनाले ६ स्थानमा रिजर्ब ट्यांकी राख्ने भएको छ । यसले हाल ३ चरणको पम्पिङ खर्च घटाउने र पानी वितरणमा पनि सहज हुने आयोजनाको दाबी छ ।
हाल खानेपानी संस्थानले वितरण गर्दै आएको पानी उपभोक्ताको घरसम्म तीन चरणको पम्पिङबाट पुग्छ । जसले गर्दा भुमिगत स्रोतको पानी वितरणमा संस्थानले अत्यधिक बढी खर्च व्यहोर्नुपर्छ । आयोजनाले भने एउटै पम्पिङमार्फत उपभोक्ताको घरमा पानी पुर्याउने योजनासहित ६ स्थानमा रिजर्ब ट्यांकी निर्माणको प्रस्ताव गरेको छ । ‘धरानको सबै क्षेत्रमा कभर हुने गरी ६ ठाउँमा रिजर्ब ट्याकं राख्ने प्रस्ताव गरेका छौं, यसले पाइपलाइन र पम्पिङमा भइरहेको ठुलो खर्च घटाउछ’–आयोजना व्यावस्थापक पोख्रेलले भने ।
हाल संस्थानको फुस्रे, धरान १ स्थित रेडक्रस भवन नजिक र संस्थानको कार्यालय परिसरमा मात्रै रिजर्ब टंकी छ । आयोजनाले यी टंकीलाई पुर्ननिर्माण गर्ने र थप तीन स्थान पञ्चकन्या, पिण्डेश्वर विद्यापिठ र सप्तरंगी पार्कमा रिजर्ब ट्यांकी निर्माण गर्ने जनाएको छ । सतहको स्रोत सर्दु र खर्दुलाई पनि पुर्ननिर्माण गरेर बर्खायाममा पम्प चलाउन नपर्ने अवस्था तयार गरिने पनि व्यावस्थापक पोख्रेलले बताए । ‘अहिले हिउद र बर्खा दुवै समयमा पम्प चलाउनु पर्दा खर्च अत्यधिक बढेको छ, सर्दु र खर्दुको स्रोतलाई व्यवस्थित गरेर बर्खामा त्यसैको स्रोतलाई उपयोग गर्ने र हिउँदको ५ महिनामात्रै भुमिगत स्रोत उपभोग गर्न पम्पिङ गर्ने योजना छ’–पोख्रेलले भने ।





Comments

  1. यो त सिङ्गो हामी धरानबासीहरुको लागि खुशीको खबर हो, हामीहरु भाग्यमानी हौ ।

    ReplyDelete
  2. A mile stone towards tourism development in Dharan. :)

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे