पहिला फुस्रो डाँडा, अहिले पर्यटकीय गन्तव्य बन्दै


धरान । अन्नबाली फष्टाउन नसक्ने पागो माटो भएकोले विष्णुपादुका २, स्थित शिवहाङ डाँडालाई स्थानीय गाउँलेले पनि त्यति महत्व दिएनन् । बर्षौंसम्म यो डाँडा उराठ लाग्दो गरि एक्लै ठिंग उभिरह्यो । यो डाँडा आसपासमा घर बनाउन पनि धेरैले रुचाएनन् ।
बर्षौसम्म स्थानीयको आँखाबाटै ओझेलमा परेको शिवहाङ डाँडा अहिले भने विष्णुपादुका गाविसको आर्कषण बनेको छ । पौराणिक महत्वको विष्णुपादुका मन्दिर, अम्लिसो, अदुवा र बेसार खेतीले पहिचान बनाएको यो गाविसमा शिवहाङ डाँडा नयाँ पयर्टकीय गन्तव्यकोरुपमा विकास भइरहेको छ । करिब बर्षदिनअघि स्थानीय गाउँलेकै प्रयासमा कृर्षि सडक खनिन थालेपछि धरानलगायत आसपासबाट पर्यटकहरु यो डाँडामा आकर्षित भएका हुन् । अहिले भने स्थानीय नै शिवहाङ डाँडामा पर्यटकीय पूर्वाधारको विकास कसरी गर्ने भनेर सोच्न थालेका छन् ।
रमिते(चिन्डे) डाँडाको नामले परिचित विष्णुपादुका २ स्थित शिवहाङ डाँडामा नवोदय विद्यामन्दिरका विद्यार्थीहरु ।
‘पहिला उत्पादनको हिसाबले यो डाँडा योग्य मानिएन, अहिले बाहिरबाट पर्यटकहरु आउन थालेकोले यसको विकास कसरी गर्ने भनेर सोच्न थालेका छौं’–स्थानीय युवा अमर राईले भने । उनका अनुसार कृर्षि सडक खनिएपछि मोटरसाइकलमार्फत र पदयात्रा गर्दै डाँडामा आउनेहरुको संख्या ह्वात्तै बढेको छ । जसको कारणले केही संख्यामा होटलहरु खुलेका छन् र, आम्दानी पनि बढेको छ ।
शिवहाङ डाँडाप्रति धरानेहरु बढी आकर्षित भएका छन् । धरानेहरुमाझ रमिते डाँडाँ र चिन्डे डाँडाको नामले यो परिचित छ । यहाँबाट धरानको ९९ प्रतिशत भुभाग दृष्यावलोकन गर्न सकिने भएकोले धरानेहरुको पछिल्लो गन्तव्य यो डाँडा बन्न पुगेको हो । धरानबाट करिब ४ किलोमिटर दुरीमा अवस्थित यो डाँडामा कोही समुह बनाएर पदयात्रा गर्दै पुग्छन् भने कोही मोटरसाइकलमा पुग्छन् । पैदल जान चाहने सामान्य व्यक्तिलाई करिब डेढ घण्टा समय लाग्न सक्छ । हिड्न सक्ने ४५ मिनेटमै पुग्छन् । यहाँबाट प्याराग्लाइडिङको परीक्षण उडान पनि भएकोले यो डाँडामा थुप्रै पर्यटन विकासको सम्भावना रहेको जानकारहरु बताउछन् ।
रमिते(चिन्डे) डाँडाको नामले परिचित विष्णुपादुका २ स्थित शिवहाङ डाँडाबाट धरान नियाल्दै धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा(टोपी लगाएका ) ।
तीन पटक पदयात्रामा गइसकेका धरान १६, जेनिथ बोर्डिङ स्कुलका प्रिन्सिपल समुन जवेगु प्राकृतिक सौन्दर्य नबिगारी पूर्वधारका संरचनाहरु बनाउन सके हङकङको ओसिन पार्क भन्दा सुन्दर पर्यटकीयस्थल बन्नसक्ने बताउछन् । ‘म प्रिन्सिपल साथीहरुसँग तीन पटक पुगिसकेको छुँ, धरान र तराईका अन्य जिल्लाको सुन्दर दृष्य देखिन्छ, व्यवस्थितढंगले पूर्वाधार विकास गर्ने हो भने पर्यटन विकासको राम्रो सम्भावना छ’–जवेगुले भने । साथीहरुसँग डाँडा घुम्न पुगेका नवोदय विद्यामन्दिरका विद्यार्थी नामसाङ लिम्बू पनि त्यहाँबाट देखिने धरानको दृष्य अन्यत्र कहिबाट नदेखिएको बताउछन् । ‘चिन्डे डाँडा भनेर धेरैको मुखबाट सुनियो, कस्तो रहेछ भनेर घुम्न आएका हौं, राम्रो ठाउँ लाग्यो’–उनले भने ।
रमिते(चिन्डे) डाँडाको नामले परिचित विष्णुपादुका २ स्थित शिवहाङ डाँडाबाट देखिएको धरानको भुभाग ।
पर्यटकहरु आउन थालेपछि करिब ७ महिनादेखि होटल सञ्चालन गरेकी झरना राईका अनुसार धरानतिरबाट शुक्रबार र शनिबार धेरै संख्यामा घुम्न आउने गरेका छन् । कुनै बेला शनिबार यति भिड हुन्छ कि डाँडामा बस्ने ठाँउ पनि नपाउने होटल व्यावसायी राईले बताइन् । ‘यतै बस्ने गरी पनि आउछन्, दुःख सुख १० जनासम्म राख्न सक्छौं’–होम स्टेको पनि व्यवस्था रहेको जानकारी दिदै उनले भनिन् । चैत र बैशाख महिनातिर सितल हावा खान र रमिता हेर्न बढी आउने गरेको उनको भनाई छ । त्यसरी आउनेहरुमा बढी युवाहरु नै भएको उनले बताइन् ।
स्थानीय अमर राई शिवहाङ डाँडासँगै विष्णुपादुका मन्दिर, ऐतिहासिक सुलिकोट, सिद्धपोखरीलगायत क्षेत्रको पर्यटन विकासको लागि योजना बन्न सके विष्णुपादुका गाविसको कायापलट हुने बताउछन् । यही क्षेत्रबाट जितेका सभासद भीमप्रसाद आचार्य पर्यटन मन्त्री भएकोले पर्यटन विकासमा केही होला भन्ने गाउँलेको आशा रहेको उनले खुलाए । ‘पर्यटनको विकास भयो भने ठाउँको आर्थिक, सामाजिक विकास हुनेथियो’–उनले भने ।






Comments

  1. bro could you please send me your email id
    lets have a chat if possible
    thank you

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे