गाउले आफैले बनाए कृर्षि सडक
धरान । ‘जनता जुटे असम्भव भन्ने केही छैन रहेछ ।’ सुगम जिल्ला सुनसरीका दुगर्म भेग विष्णुपादुका गाविसबासीहरु अहिले यही महसुस गर्न थालेका छन् । बषौंसम्म राज्यले वास्ता नगरेपछि गाउँमा मोटर बाटो(कृर्षि सडक) बनाउन आफै जुटेका गाउँलेहरु सफल भएका छन् ।
गाउँमा यातायातको सुविधा भित्र्याउन गाउँले मिलेर करिब १२ किलोमिटर लामो ट्याक खोलेका छन् । सर्दु खोलासँगै धरान १३, देवीगाउँ जोड्ने यो मोटरबाटो बनाउन राज्यको एक पैसा पनि लगानी भएको छैन । गाउँलेहरु गाविस, जिविस हुदै केन्द्रसम्म पुगेर पहल गरेपनि बजेट पाउन सकेनन् । तर, कतिपनि निराश नभई पहल समिति बनाएर बर्ष दिनअघि कृर्षि सडक निर्माणमा गाउँले जुटेका थिए । ‘कहीकतैबाट पनि सरकारी बजेट पाएनौं, सबै गाउँले र जग्गाधनीको लगानीले नै सडक बनाउन सक्यौं’–पहल समितिका सदस्य एवं स्थानीय युवा सुजन तामाङले भने–‘हाम्रै लगानी र स्थानीय स्रोत,साधानले बनाउन सक्यौं ।’ जनताले आफैले बनाएको सडकको स्तरोन्नती गर्न सरकारले आगामीमा योजनामा पार्ने आशा भने गाउँलेमा यथावत छ । यो सडक २३ लाख बढी लगानीमा स्थानीले बनाएका हुन् । सरकारी बजेट नपाएपनि उक्त सडकलाई शुक्रबार एक समारोहबीच स्थानीयले जिविस सुनसरीकी अधिकृत माया राईबाट उद्घाटन गराए ।

शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत सबै कुरामा धरानमा निर्भर विष्णुपादुकाबासीहरु यातायातको असुविधाले ज्यादै मर्कामा थिए । कृर्षि सडक बनेपछि हिजोआज ढुवानीका साधन घरआँगनमै पुग्छ । गाउँलेहरु प्रत्येक मंगलबार र शुक्रबार गाउँमा उत्पादन भएको कृर्षिजन्य सामान लोड गरेर बिक्री गर्न धरान झर्छन् । पहिला उनीहरु भारी बाकेर सानो गोरेटोबाट घण्टौंमा हिडेर उत्पादन बिक्री गर्न धरान पुग्नुपथ्र्यो । विरामीलाई डोकोमा वा झोलुङ्गो बनाएर धरान लैजानु पथ्र्यो । अहिले एम्बुलेन्स गाउँमै पुग्छ । पहिला पैसा भएर पनि पक्की घर बनाउन नसक्ने अवस्था थियो । अब इटा, सिमेन्ट,वालुवालगायत सामाग्री ढुवानी गर्न सकिने हुँदा पक्की घर बन्न सक्ने भएको छ । ‘कृर्षि सडकले गर्दा गाउँको उत्पादन छिटो छरितोरुपमा शहर पुग्न थाल्यो, समयको वचत भयो, आम्दानी पनि बढेको छ’–पहल समितिका अध्यक्ष जगत राईले भने –‘उताबाट खाद्यान्न, सामान ल्याउन पनि सजिलो भयो ।’
समितिका अनुसार कृर्षि सडकले विष्णुपादका ७, १ र २ वडाबासीहरुले प्रत्यक्ष लाभ पाएका छन् भने वडा ३ को माथिल्लो भेगका बासिन्दालाई पनि सडकले फाइदा पुर्याएको छ । यस्तै, छिमेकी जिल्ला धनकुटाको महाभारत, सिंकुला, ढुंगे र आहालेका बासिन्दाहरु पनि कृर्षि सडकबाट फाइदा पुगेको पहल समितिले जनाएको छ । यो क्षेत्रमा अदुवा, स्कुस, मुला, साग, बेसा, अम्लिासोलगायत कृर्षिजन्य उत्पादन अत्यधिक हुने गर्छ । ती उत्पादनलाई धरान हुदै पूर्वका विभिन्न जिल्लामा पुर्याउन कृर्षि सडकले सहज भएको स्थानीय एवं समितिका कोषाध्यक्ष कर्णबहादुर तामाङले बताए । कोषाध्यक्ष तामाङका अनुसार सडक निर्माणमा घरधुरी तथा श्रमदान गरी १६ लाख ९३ हजार लगानी भएको छ भने जग्गाधनीबाट ४ लाख ३ हजार, गाविसमा मुहान भएको रधानको विभिन्न खानेपानी उपभोक्ता समितिबाट २ लाख ४९ हजार ४ सय ५५ रुपैया पनि सडकमा लगानी भएको छ ।
Comments
Post a Comment